1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग

1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग
Please Like and Share our website Samay Dainik

होटल, होमस्टे, पर्यटन स्थलहरू पूर्ण खुल्ला

दार्जीलिङ, 24 जून।
जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-ले आगामी 1 जुलाईदेखि जीटीए क्षेत्रको पर्यटन उद्योगलाई सशर्त पूर्णरूपले खोल्ने घोषणा गर्‍यो। जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासन, होटल मालिकवर्ग, गाड़ी मालिक वा चालकका साथै होटल कर्मचारीहरूमाझ भएको एक बैठकमा नै यस्तो निर्णय भएको जीटीएको पर्यटन विभागका सहनिर्देशक सुरज शर्माले जानकारी गराए। उनले यस बैठकमा गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डका साथै अन्य पनि उपस्थित रहेको जनाए। उनले भने, केन्द्र सरकारको दिशानिर्देशलाई पूर्णरूपले पालन गर्दै जीटीएले आगामी 1 जुलाईदेखि आफ्नो अधीनमा रहेका पर्यटन स्थलहरू जस्तै गंगामाया पार्क, रकगार्डन, जामुने, बतासे पनि खोलिनेछ। यसका साथै दार्जीलिङ पहाड़का होटल, होमस्टे आदि पनि 1 जुलाईदेखि नै खुल्ला रहनेछन्। किनभने, केन्द्र सरकारको निर्देशमा देशमा अनलक शुरू भइसकेको छ। यसै अनलकमाझ गत 8 जूनदेखि होटल तथा पर्यटन उद्योगलाई पनि खुल्ला गर्ने केन्द्र सरकारको घोषणा थियो। तरै पनि जीटीएले लगभग 1 महीनापछि मात्रै दार्जीलिङ पहाड़का होटल, होमस्टे साथै पर्यटन स्थलहरू खोल्ने निर्णय लिएको हो।
तर दार्जीलिङ पहाड़ पस्दा पर्यटकहरूको थर्मल स्क्रिनिङ हुनेछ, जसको लागि सिमलबारी, रङ्पो र कालिझोड़ामा सबै पर्यटकहरूको थर्मल स्क्रिनिङ गरिनेछ। यसका साथै दार्जीलिङ पहाड़ आउने पर्यटकहरूले फीटनेश सर्टिफिकेट पनि ल्याएको हुनपर्छ। यति मात्रै होइन, पहाड़का प्रत्येक होटलले पनि आफ्नो होटलमा आउनेहरूका लागि पनि थर्मल गन राख्नुपर्छ अनि पर्यटकहरूले होटलको रूम छोड़ेपछि त्यस रूमलाई 24 घण्टासम्म सेनिटाइज गरेर रित्तो राख्नपर्छ। यसरी नै दार्जीलिङ आउने पर्यटकहरूले आउँदा अनि जाँदा आफ्नै गाड़ी प्रयोगमा ल्याएको अझै असल हुनेछ। ताकि दार्जीलिङ आउने पर्यटकहरू आफैले पनि सुरक्षित रहेको अनुभव गर्न सकुन्।
एक प्रश्नको उत्तरमा शर्माले भने, आगामी 1 जुलाईदेखि यहाँका पर्यटन स्थलहरू खोलिन थालेपछि पर्यटकहरू त्यहाँ जानेछन्। पर्यटकहरूको भ्रमणपछि प्रत्येक समय नै ती पर्यटन स्थलहरूमा सेनिटाइजको कार्यक्रम पनि चल्नेछ। यदि होमस्टेहरूमा पर्यटकहरू आउँदा त्यहाँका बासिन्दाहरूले विरोध जनाए? भन्ने प्रश्न गर्दा उनले यसको लागि प्रथमतः जनतालाई सचेत गराउने कार्यक्रमहरू गर्ने योजना बनाइएको पनि बताए। किनभने, दार्जीलिङ पहाड़ पर्यटनकै लागि प्रसिद्ध छ र यहाँका 60-70 प्रतिशत जनता पर्यटनसित नै सम्बन्धित छन्। यसैले कोरोनाको साटो धेरै मानिसहरू बेरोजगारीको कारण भोकले नै मर्ने अवस्थामा पुग्नेछन्। यसैकारण अब जनताले कोरोनासित लड्दै जिउन सिक्नुपर्छ। जसको लागि आफ्नो जीवन शैलीमा केही परिवर्तन ल्याउनैपर्छ, शर्माले भने।

1 जुलाईदेखि सशर्त खोलिनेछ पहाड़को पर्यटन उद्योग


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment