स्थायी राजनैतिक समाधान र चुनाउ

स्थायी राजनैतिक समाधान र चुनाउ
Please Like and Share our website Samay Dainik
  • 14
    Shares

अब फेरि स्थायी राजनैतिक समाधानको आवाज गुञ्जिन शुरू भयो। गत लोकसभा चुनाउ आउनअघि वर्तमान केन्द्रको सत्तारूढ़ दल भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्र अर्थात चुनावी घोषणा पत्रमा दार्जीलिङको लागि स्थायी राजनैतिक समाधान गरिदिने वचन दिएको थियो। जसलाई हेरेर दार्जीलिङ पहाड़का केवल एउटा राजनैतिक पार्टी छोड़ेर सबै पार्टीहरूले भाजपाको उक्त वचनलाई शिरमा राखेर उक्त चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट उम्मेद्वारका रूपमा उठाइएका राजु विष्टलाई जोड़तोड़ले समर्थन जनाएका थिए अनि राजु विष्टलाई ऐतिहासिक मतान्तरले जिताएर संसद पठाउने कार्य गरेका थिए। जसमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, गोर्खालण्याण्ड निर्माण मोर्चा, प्रताप खातीपन्थी अखिल भारतीय गोर्खालीग साथै अन्य साना-ठूला राजनैतिक-अराजनैतिक संघ-संस्थाहरू सामेल थिए। तर विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले आफ्नो पार्टीका वरिष्ठ नेता एवं तत्कालीन दार्जीलिङका विधायक अमरसिंह राईलाई तृणमूल कंग्रेस उम्मेद्वारका रूपमा राजु विष्टको विरूद्ध चुनावी मैदानमा खड़ा गराएर भाजपालाई हराउने प्रयास गरेको थियो। तर त्यस चुनाउमा अमरसिंह राई नराम्रोघतले पराजित भए भने राजु विष्ट ऐतिहासिक मतान्तरले जितेर संसद पुगे।

यति मात्रै होइन, राजु विष्टले आफ्नो चुनावी प्रचारको अन्तिम दिन स्थानीय चौरास्तामा आयोजित एक जनसभालाई सम्बोधन गर्दै स्थायी राजनैतिक समाधानको रूपमा अलग राज्य गोर्खाल्याण्ड नै ल्याउने पनि वचन दिएका थिए। समय बित्दै जाँदैछ। यसै क्रममा राजु विष्टलाई सांसद बनाएर पठाउनमा अहम भूमिका निर्वाह गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले स्थायी राजनैतिक समाधानको लागि केही नभइरहेको देखेर आफैलाई डर लाग्न थालेको पनि बताएका थिए। कतै यो 5 वर्षको कार्यकालमा पनि भाजपाले गोर्खा समुदायको लागि केही नगरे? भन्ने प्रश्न आफैले आफैलाई गरिरहेको गत केही महीनाअघि उनले मीडियाकर्मीहरूअघि नै स्पष्ट पारेका थिए। जसको मूल कारण भाजपाले केन्द्रमा दोस्रो कार्यकाल पूरा गरेको लगभग 1 वर्ष पूरा गरिसक्दा पनि दार्जीलिङ वा गोर्खा जातिको लागि स्थायी राजनैतिक समाधानको लागि केही नहुनु हो। लगभग त्यसै समय उक्त लोकसभा चुनाउमा आफ्नो सम्पूर्ण सिद्धान्त, नीति आदिलाई पर सारेर भाजपालाई साथ दिने लेफ्टिस्ट क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि आफ्नो पार्टीको स्थायी राजनैतिक समाधान भनेको केवल अलग राज्य गोर्खाल्याण्ड मात्रै हो भन्ने मानेको र त्यसै विषय लिएर भाजपासित उक्त चुनाउमा सम्झौता भएको बताएको थियो। तर अझैसम्म पनि यसमाथि ठोस केही नभएको सर्वविदितै छ।

तर अब बंगाल विधानसभाको चुनाउमा यो विषयले गतिलैसित महत्व पाउने छनक देखेपछि गत केही दिनअघि सांसद राजु विष्टले बंगालको विधानसभा चुनाउअघि नै दार्जीलिङको लागि दिइएको स्थायी राजनैतिक समाधानको प्रतिवद्धता पूरा गर्ने बयान दिएका छन्। अब बंगालमा विधानसभा चुनाउ आउन बेसी समय छैन, सम्भवतः अर्को वर्ष 2021-को अप्रेल-मईतिर यो चुनाउ हुनसक्नेछ। यसैले त्यस चुनाउलाई केन्द्र गरेर सबै पार्टीहरूले आ-आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र पारिसकेका छन्। यसैले दार्जीलिङ पहाड़का 3 वटा आसन साथै उत्तर बंगालका अन्य आसनहरूमाथि आफ्नो कब्जा जमाउन कोही पछि पर्न चाहँदैनन्। यसैकारण गत लोकसभा चुनाउमा दार्जीलिङ संसदीय आसनबाट आफूलाई साथ दिने समर्थक पार्टीहरूको साथ नछुटोस् भन्ने भाजपाको पूर्ण तयारी छ। यसैकारण सांसद विष्टले बंगालको आगामी विधानसभा चुनाउअघि नै गोर्खा समुदायलाई दिइएको स्थायी राजनैतिक समाधान पूरा गर्ने वचन दिएका छन्। अब सांसद विष्टको यो वचन कहिले पूरा हुने हो अनि विधानसभा चुनाउमा पहाड़का अन्य राजनैतिक पार्टीहरूले भाजपालाई साथ दिने हुन् वा होइनन्, त्यो सबैभन्दा चाखलाग्दो बन्नेछ।

स्थायी राजनैतिक समाधान र चुनाउ


Please Like and Share our website Samay Dainik
  • 14
    Shares

Related posts

Leave a Comment