विपक्षको रूपमा एसडीएफको भूमिका

विपक्षको रूपमा एसडीएफको भूमिका
Please Like and Share our website Samay Dainik

सिक्किममा विगत 14 महीनादेखि सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) राज्यमा एकमात्र विपक्षी पार्टीको रूपमा कार्यरत देखिन्छ। विधानसभामा प्रतिनिधित्व गरिरहेको अर्थमा एसडीएफ एक्लो विपक्षी भनिएको हो, अन्यथा राज्यमा थुप्रै राजनैतिक पार्टीहरू आज विपक्षको कित्तामा उभिएका छन्। विपक्षलाई केवल सङ्ख्या बल नमानेर आवाज मान्ने हो भने सिक्किममा सत्तारूढ़ एसकेएम र भाजपाबाहेक सबै राजनैतिक पार्टीहरू विपक्षमा छन्। अहिले हामी केवल विधानसभामा जनप्रतिनिधित्व गर्ने विपक्षी दलको मात्र चर्चा गरौं।
साड़े 24 वर्ष लगातार सत्तामा बसेपछि एसडीएफ गत वर्षदेखि विपक्षको आसनमा छ। लगातार अढ़ाई दशक सत्तामा बसेर अचानक विपक्षमा बस्नपुग्दा कुनै दललाई आफ्नो नवीन भूमिकामा अवतरित हुनु कठिन हुनसक्छ। हामीले प्रायः के देख्नेगरेका छौं भने पार्टीहरू चुनाउमा पराजित भए दोष कि भोटिङ मशीनमाथि दिन्छन् कि चाहिँ पुरै निरूत्साहित बनेर राजनीतिबाटै हराउँछन्। विगत 25 वर्ष सिक्किममा भएका चुनाउहरूमा विपक्षी पार्टीहरूले पहिलो काम नै गरे, अर्थात सत्तारूढ़ पार्टीले भोटमा धाँधली गरेको, मशीन बिगारेको आरोप आदि। केही राजनैतिक दलहरूले त चुनाउ आयोगसम्मै उजुरी पनि नगरेका होइनन् विगतमा। उप-चुनाउमा पराजित हुँदा पनि तर एसडीएफले भोटिङ मशीनमा धाँधलीको आरोप लगाएन, यद्यपि गत उप-चुनाउमा विपक्षी एसडीएफ पार्टीका उम्मेद्वार तथा समर्थकहरूमाथि प्रशासनको निष्क्रियतामा व्यापक ढुङ्गा-मूढ़ा, भौतिक प्रहार भएको हो, दक्षिण सिक्किमको पोकलोक-कामराङ समष्टि एकप्रकारले विपक्षका लागि पुग्न नसकिने दुर्ग बनाइएको पक्का हो। त्यहाँ सत्तारूढ़ पार्टीका उम्मेद्वारले मतगणनाको परिणामपछि (हारेको खण्डमा) मतदाताहरूका लागि परिस्थिति सुखद नहुने होशियारीसम्म प्रकट गरिएको हो।
गत विधानसभा चुनाउपछि एसडीएफका दुइजना विधायकहरू सत्तारूढ़ दलमा पलायन गरे भने अन्य 10 जना विधायकहरू राष्ट्रिय सत्तारूढ़ दलमा प्रवेश गरे। दुइजना विधायकमा सत्तामुखी चरित्र देखियो भने 10 जनामा आत्मरक्षात्मक प्रवृत्ति देखियो। जनताको पक्षमा विपक्षमा बसेर सङ्घर्ष गर्ने स्पिरिट् विधायकहरूमा देखिएन, जुन सिक्किमको पुरानो प्रथा हो। आफ्ना विधायकहरू यता र उता भँगालिए पनि एसडीएफ अध्यक्ष पवन चामलिङ एक्लै विपक्षमा बसे। उनले त्यही काम गरे, जुन जनादेशले भनेको छ। उनले चाहेको भए राष्ट्रिय पार्टीमा एसडीएफलाई विलय गराएर पुनः राज्यको सत्तामा फर्कनसक्थे। सिक्किमको इतिहास साक्षी छ – दुइ दुइपल्ट आञ्चलिक पार्टीलाई राष्ट्रिय पार्टीमा विलय गरेर नेताहरू सत्तामा फर्किएका छन्। र आज पवन चामलिङको ठाउँमा अन्य नेता भएको भए राष्ट्रिय पार्टीमा पसेर सिक्किमको मुख्यमन्त्री बनेर फर्किनेथिए। अहिले सत्तारूढ़ बनेको पार्टी पनि एक समय नेता ‘हराउँदा’ सगोलै राष्ट्रिय पार्टीमा पस्नखोजेको चर्चा बाहिर नआएको होइन। राज्यको सत्तामा स्पष्ट बहुमतको सरकार हुँदाहुँदै पनि उप-चुनाउमा राष्ट्रिय पार्टीसित चुनावी तालमेल गर्ने ‘सिद्धान्तहीनता’ सिक्किमे जनताले देखेकै हुन्। एसडीएफ 25 वर्ष सत्तामा बस्दा राष्ट्रिय पार्टीहरूबाट चुनावी तालमेलको प्रस्ताव नआएको होइन। शुरूमा पञ्चायत चुनाउमा सीपीएमबाट, पछि कङ्ग्रेस र भाजपाबाट पनि तालमेलका प्रस्तावहरू आएका हुन् भनिँदैछ। तर पवन चामलिङले गठबन्धन र पार्टीगत मित्रतालाई एक ठाउँ अनि तालमेलको प्रश्नबलाई अर्को ठाउँ राखेर राजनीति गरे। गत चुनाउमा पनि भाजपाको तर्फबाट तालमेलको आग्रह आएको हो भनिँदैछ, त्यो सत्य होला-नहोला, तर पवन चामलिङले चाहेको भए भाजपालाई दुइवटा सीट दिएर आफ्ना लागि अनुकूल वातावरण बनाइराख्न सक्थे। राजनैतिक पार्टीहरूले आफ्नो जमीन आफै तयार गर्नुपर्छ, आफ्नो जमीनको सुरक्षा आफूले नै गर्नुपर्छ। गठबन्धन आफ्नो अस्तित्वको शर्तमा होइन, बरू विचार र कामको स्तरमा हुनुपर्छ भन्ने सैद्धान्तिक आदर्शलाई चामलिङ र एसडीएफले कायम राखेकैले आज विपक्षमा बसेर विधानसभा र सिक्किमे जनताप्रतिको दायित्वको निर्वाह गरिरहेको देखिन्छ।
आज एक-दुइ पत्र-पत्रिकाले एसडीएफले विपक्षको भूमिका सही ढङ्गमा ननिभाएको, एसडीएफ कमजोर बनेको स्वैर कल्पना लेखिरहेको देखिन्छ। आफूले कहिल्यै रचनात्मक पत्रकारिता नगर्ने, पत्रिकाले विपक्षको आवाजलाई बोक्नुपर्छ भन्ने नाममा तर्कहीन विरोधलाई छाप्नेहरूले वास्तवमा ‘रचनात्मक विपक्ष’ भन्ने मूल भावनालाई नै बुझ्न नसकेको देखिन्छ। तर्कहीन कुराहरूमा राज्यमा अनिश्चिदतकालीन बन्द डाक्ने तत्कालीन विपक्ष (जसले आज सत्तामा आएको 14 महीना बितिसक्दा पनि एउटै काम गरेको छैन) -को राजनीतिलाई नै विपक्षी राजनीति भन्ने सोच राख्ने यस्ता पत्रकारहरूले प्रजातान्त्रिक प्रणाली र राजनीति विज्ञान बुझ्न युगौं लाग्छ।
झूट बोलेर, हावा मिठाई सपनाहरू देखाएर, जनतामा आतङ्क र भ्रम सिर्जना गरेर सत्ताखोरी गर्नु एसडीएफको राजनीति होइन, सत्ता र जनताबीच बढ्दो अन्तर्विरोधलाई सही कारण-निवारणसहित अघि ल्याई जनतालाई सचेत गराउनु एसडीएफको राजनीति हो। षड्यन्त्र होइन, सही विचारको आधारमा जनतालाई सङ्गठित गरेकैले एसडीएफले 25 वर्ष सुस्थिर शासन प्रदान गरेको हो भने सही दिशा र कार्यक्रमकै आधारमा सिक्किमेली राजनीतिमा प्रजातान्त्रिक धारालाई जिउँदो राख्ने एसडीएफको उद्देश्य रहेको देखिन्छ। त्यसैले केही विधायकहरू, केही कार्यकर्ता र समर्थकहरू बाहिरिँदा एसडीएफ कमजोर हुने भन्ने प्रश्न होइन। मूल कुरा हो – प्रजातान्त्रिक खाँचो। यही प्रजातान्त्रिक खाँचोले एक समय एसडीएफ पार्टीलाई जन्मायो, सत्तामा ल्यायो; यही खाँचोले एसडीएफलाई पुनः सिक्किमेली राजनीतिको कार्यकारी केन्द्रमा ल्याउनेछ।

विपक्षको रूपमा एसडीएफको भूमिका


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment