एसकेएम सरकार गठनको एक वर्ष पूरा भए पनि आफ्नो वाचाहरू पूरा गर्न सकेन ः जेबी दर्नाल

एसकेएम सरकार गठनको एक वर्ष पूरा भए पनि आफ्नो वाचाहरू पूरा गर्न सकेन ः जेबी दर्नाल
Please Like and Share our website Samay Dainik

गान्तोक, 4 जून।
सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका प्रवक्ता जेबी दर्नालले सिक्किम क्रान्तिकारी मोर्चाले सरकार गठन गरेको एक वर्षको बधाई दिँदै सरकारले गरेका चित्त नबुझ्ने कामहरूमाथि सरकारलाई घेरेका छन्। उनले एसडीएफ पार्टी मुख्यालयबाट एउटा भीडीयो प्रसारण गर्दै भनेका छन्, एसकेएम पार्टीको सरकारको पक्षबाट धेरै कुराहरू आएका छन् त्यसमा छोड़िएका कुराहरूलाई समेटेर सिक्किम र सिक्किमे जनता अघि ल्याउने छु। उनले भने, सिक्किमको राजनीतिक इतिहासमा सिक्किममा मनोनित मुख्यमन्त्री बनेका छन्।

उनले एसकेएम सरकारको एकवर्षे उपलब्धीहरूबारे बोल्दै भनेका छन्, सिक्किमको इतिहासमा गएको 27 मईको 2019-को दिन मनोनित मुख्यमन्त्रीको रूपमा शपथ लिँदा उनको निम्ति राम्रो भएपनि सिक्किमको भविष्यको निम्ति भने खतरा भएको छ। यसकृत्यले सिक्किमको रक्षा कवच धारा 371 (एफ) प्रावधानको हत्या गरिएको छ भने यो सिक्किमको इतिहासको निम्ति कालो दिन सावित भएको छ। यसले भविष्यमा सिक्किममा सबैलाई मनोनित मुख्यमन्त्री हुने बाटो खोलिदिएको छ। यसरी नै सिक्किमको पुरानो कानुन रूल फोर-फोरलाई मिचेर महेन्द्र पी लामालाई मुख्य आर्थिक सल्लाहकार, सुनिल सरौगीलाई मुख्यमन्त्रीको ओएसडी केविनेटको रूपमा नियुक्त गरियो। आर्थिक अपराधमा एक वर्षको कारावास बसेका मुख्यमन्त्री पीएस गोलेले आफ्नो बहुमतको सरकार हुँदाहुँदै पनि उपचुनाउमा दुईवटा बीएल सीट भाजपालाई दिएर आफूमा लागेको 6 वर्षको प्रतिबन्ध हटाई 1 वर्ष 1 महिनाको बनाउन सफल भए।

यसरी नै उनले भने, 371 (एफ)-ले बचाएर ल्याएको सिक्किमेको अधिकार र खाँटी सिक्किमे वाहन चालकहरूको मुखमा मोसो दल्दै केन्द्रिय मोटरवेकल एक्ट लागू गरी उक्त धारालाई तरलीकरण गर्ने काम गरेका छन्। वर्ष 2019-को एसकेएम पार्टीको चुनावी घोषणा पत्रको 15 नम्बर बुँदामा उल्लेखित तथा वर्तमान सरकारले विरोध गरेको नागरिकता संशोधन कानुन नाटकीय ढङ्गमा राज्यमा लागु गर्न सफल बनेको छ। एसकेएम पार्टीको सरकार सिक्किमको राजनीतिक इतिहासमा बाबू मुख्यमन्त्री अनि छोरो विधायक भएर परिवारवादको स्थापना गर्न सफल बनेको छ। यस सरकारले गएको वर्षमा आफन्तहरूलाई मुख्य अतिथि बनाएर विभिन्न कार्यक्रमहरूमा पठाउने एउटा किर्तिमान रचेको।

यसरी नै प्रवक्ता दर्नालले सिक्किम सरकारको हेल्चेक्राइँको कारण सिक्किम उच्च न्यायालयमा सीओआई विषयमा लगाइएको मुद्दामा सरकार हार्नुले सिक्किमको भविष्यमा घातक परिणाम आउने बताएका छन्। उनले अघि भनेका छन्, यो सरकार सिक्किमका बुद्धिजीविहरूलाई अनदेखा गरी आफ्ना विधायक तथा मन्त्रीहरूको सपथग्रहण दिल्लीमा लगेर गराउन सफल बनेको छ। वर्तमान सरकार एक परिवार एक नोकरी, एमआर, एडहक, वकचार्जमा काम गरिरहेका सिक्किमेहरूलाई वेतन दिन अल्याङ टल्याङ गर्ने तर डा. थोमस चाण्डीलाई दुई लाख रुपियाँको वेतनमा सिक्किम पलुसन कण्ट्रोल बोर्डको अध्यक्ष बनाउन सफल बनेको छ।
उनले कोरोना भाइरसको महामारीमा पनि पूर्व सिक्किमको जलुक निवासीहरूलाई 15 दिनभित्रमा घर छोड्नुपर्ने गरीबमारा नोटिश निकालेर गरीब तर्साउन सफल बनेको, नेपाली भाषाका शिक्षकहरूले नियुक्ति पाएपनि उनीहरूलाई नियुक्ति पत्र दिन नचाहेको र शिक्षकहरूले धरनासम्म गर्नुपरेको, पुलिस विभागको नियम अनुसार पदोन्नती भएका अधिकारीहरूलाई उच्च अधिकारीहरूले फिता अनि फुली लगाइदिनुपर्नेमा मुख्यमन्त्रीकी पत्नी कृष्ण राईले प्रहरी विभागकी अधिकारी अञ्जना सिलवाललाई पदोन्नतीको फुली लगाइदिएर इतिहास कायम गरेको, महामारीको समयमा लकडाउन छोडेर एसकेएम सरकारले राष्ट्रिय अनि अन्तरर्ष्ट्रिय पर्वहरूमा सराकरी विदा दिनेमा पनि कीर्तिमान बनाएको छ। एसकेएम सरकारले सरकारी कर्मचारीहरूलाई केयर-कियरको रूपमा दिएको छुट्टी पनि पछि फिर्ता लिएर इतिहास रचेको छ।
एसकेएम सरकारले पूर्व सरकारले श्रमिक अनि कर्मचारीहरूको हक र अधिकार मिच्यो भनेर फर्मा कम्पनीका श्रमिकहरूलाई विरोध गर्न लगाएको थियो, तर एसकेएमले आफ्नो सरकार गठन गर्ने बित्तिकै एनआईटी राभाङ्ला, स्मार्ट सिटी, विधानसभा आदिका कर्मचारी अनि फर्मा कम्पनीका श्रमिकहरूलाई निस्कासन गर्नु सफल बनेको छ। परदर्शी, समान न्याय र प्रजातन्त्रको कुरा गरेर नथाक्ने एसकेएम पार्टी सरकारमा आएपछि सरकारले यस्तै उपलब्धीहरू गर्दै आएको उनले आरोप लगाएका छन्।

एसकेएम सरकारले कोरोना भाइरसको कारण महामारीमा आएको आर्थिक नोक्सानीलाई क्षतिपूर्ति गर्न इकनमिक रिवाइवल कमिटी गठन गरेर बीजेपीलाई बेच्न सफल भएको बताए। उनले एसकेएम सरकारमा सक्षम नेता नभएको प्रमाणित भएको पनि बताएका छन्। सरकारले महामारीको बहाना बनाएर राज्यका निर्वाचित ग्राम पञ्चायतहरूको हक, अधिकार र दायित्व खोस्न संविधान विरोधी र जन विरोधी अधिसूचना निकालेर गरीबमारा काम गरेको छ। पूर्व सरकारको कार्यकालमा निर्माण गरिएका पूर्वाधारहरूमा आफ्नो नाम लगाउन सफल बनेको छ। कोरोनाको महामारी समयमा काम गर्ने कर्मचारीहरूलाई तीन सय रुपियाँको अतिरिक्त दिने अधिसूचनालाई निरस्त गरी श्रमिकहरूलाई घात पुर्‍याउने काम गरेको छ। यसरी नै जनताको हितमा आवाज उठाउने सोशल मीडिया कर्मीहरूलाई पोष्टको आधारमा पक्राउ गर्ने काम गर्न सफल भएको छ।

जेबी दर्नालले अझ भनेका छन्, सरकार अधिसूचना निकाल्ने र निर्णय बद्ली गरेर अर्को अधिसूचना निकाल्नमा राष्ट्रलाई नै घात गर्ने काम गरेको छ। उनीहरूले अधिसूचना देखाएर गरीबलाई मास्ने काम गरेको जारी छ। जनतालाई सरकारी अधिकारीहरूलाई एक्सटेन्सन दिन्न भन्दा भन्दै अहिले गरिरहेको छ। अहिलेसम्म सिक्किमको राजनीतिक इतिहासमा क्याविनेट मन्त्रीले बाटैमा कुटाइ खाएको थिएन। सिक्किमकी स्वास्थ्य कर्मी महिलामाथि अभद्र व्यवहार गर्ने सिक्किम बीजेपीका कोषाध्यक्ष कैलाश अग्रवाललाई सदर थानामा नालिस हाल्दा पनि उनी स्वतन्त्र घुमिरहेका छन्। यी सबै वर्तमान सरकारका एक वर्षे उपलब्धीहरू हुन।

यसरी नै एसकेएम सरकाले वर्ष 2019-को चुनावी घोषणा पत्रमा लेखेका कुराहरू कुनै पूरा नगरेको आरोप लगाएका छन्। उनले सिक्किमका सम्पूर्ण बेरोजगारीहरूलाई सरकारमा आएको 100 दिनभित्रमा स्थायी नोकरी दिने, बेरोजगारी युवाहरूलाई दश हजार रुपियाँ प्रतिमहिना भत्ता दिने, एसकेएम सरकारले 100 दिनभित्रमा ओएफओजे-का सबैलाई कानुनीरूपमा स्थायी गर्ने, 100 दिनमा शिक्षकहरूको नियुक्त गर्ने आदि वाचाहरू पूरा गरेको छैन भन्दै यस्तै धेरै कामहरू बाँकी रहेको बताएका छन्।

एसकेएम सरकार गठनको एक वर्ष पूरा भए पनि आफ्नो वाचाहरू पूरा गर्न सकेन ः जेबी दर्नाल


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment