जिम्बाको बयान मर्यादाको उल्लङ्घन पनि

जिम्बाको बयान मर्यादाको उल्लङ्घन पनि
Please Like and Share our website Samay Dainik

वर्ष 2020 -मा विश्वभरि नै सबैभन्दा बढ्ता प्रयुक्त शब्द ‘कोरोना’ हो। अझ आगामी कति दिन, महीना वा वर्षसम्म यो शब्द विश्‍वव्यापी चर्चाको विषय रहने हो, त्यो यसै भन्नसकिन्न। तर कोरोनाको कहरबीचमा पनि कतिपय मुद्दाहरू सतहमा आए, जुन तीव्र गतिमा बद्लँदो समय र कोरोनाको महामारीको तीव्रतामा मत्थर भएर गइरहेको आभास भए पनि त्यसले समाजलाई पार्ने प्रभाव आउँदा दिनहरूमा देखिनेछ। सिक्किमको सन्दर्भमा, लकडाउन खोलिएपछि कोरोनाको प्रकोपमा आएको तीव्रता, दार्जीलिङका विधायक नीरज जिम्बाको बयान, 1600 नियुक्ति आदि विषयहरू छन्, जसले सिक्किमलाई भित्री रूपमा असर पारिरहेको छ र पारिरहनेछ।

नीरज जिम्बाको बयानको सन्दर्भमा चर्चा गर्दा यो केवल एउटा राज्यका नेताद्वारा अर्को राज्यका जनताप्रतिको कटाक्ष मात्र नभएर अर्को राज्यको राजनीतिमा दलीय पक्षधरताको पनि घटना हो। जिम्बाले आफ्नो पहिलो बयानमा सिक्किममा समग्र रूपमा घर छाउने च्यादर (जस्ता पाता) -को जनवितरण प्रणालीलाई आलोचना गरेका थिए। सिक्किमेली जनता च्यादरको लागि ‘बिक्ने गरेको’ उनको आरोप थियो। बाह्य रूपमा हेर्दा उनले च्यादरको राजनीतिको विरोध गरेजस्तो देखिए पनि सिक्किममा जनतालाई घर छाउनलाई सरकारबाट दिइने च्यादर भण्डारीको पालामा शुरू गरिएको भए पनि चामलिङ सरकारमा यसलाई 25 वर्ष निरन्तरता दिइयो र ‘जनता मेला’ मार्फत जनतालाई बर्सेनि च्यादरलगायत अन्यान्य सहुलियतहरू, जस्तै ग्यास सिलिण्डर, प्रेसर कूकर, खेतीपातीका सरजाम, घर मरम्मती खर्च एसडीएफको सरकारमा प्रचुर मात्रामा वितरण गरियो। जिम्बालाई सिक्किमको विकास योजनासँग किन आक्रोश? भन्ने प्रश्‍न मनमा उठिरहेको बेला सिक्किमका सबै दल, सङ्घ-संस्थाहरूले, स्वयं सत्तारूढ़ पार्टीले पनि जिम्बाको बयानको विरोध गरेपछि जिम्बाले हतपत्त स्पष्टीकरण दिने हत्तारमा सिक्किमको सत्तारूढ़ पार्टीप्रतिको आफ्नो अनुराग र पक्षधरता खोलिपठाए। उनले सिक्किमको राजनीतिमा आफ्नो समर्थन कसलाई हो भन्ने कुरा खुस्काइपठाए र च्यादरको राजनीतिको विरोध वास्तवमा उनको एसडीएफप्रतिको विरोध हो भन्ने रहस्य पनि उजागर गरिपठाए। जिम्बाले सिक्किमका मुख्यमन्त्री गोलेलाई लेखेको पत्रमा “तपाईंले भ्रष्टाचार, तानाशाही र भाइभतिजावादले ग्रसित एसडीएफ सरकारविरुद्ध”, “गाई घोटाला काण्डमा फँसाएर रंगे जेलमा प्रायः एक वर्ष राजनैतिक बन्दी बनाएतापनि” यी दुइवटा उद्धरणको प्रयोगले बताउँछ – जिम्बा दार्जीलिङका जनप्रतिनिधिभन्दा एसकेएमका कार्यकर्ता बढ़ी हुन्। एसकेएमका क्याडरझैं भएर पूर्व एसडीएफ सरकारको निम्न स्तरमा झरेर विरोध गर्नुले जिम्बाले आफ्नो राजनैतिक मर्यादा भुलेको प्रमाणित हुन्छ। जिम्बा दार्जीलिङका जनप्रतिनिधि हुन्। एकजना जनप्रतिनिधिले बोलेको कुरा जनताको आवाज हुन्छ। के दार्जीलिङका जनता जिम्बाले झैं यसरी गिरेर सोच्छन्? यसरी मर्यादा भुलेर सोच्छन्?

माथि उल्लेख गरिएको दोस्रो उद्धरणले जिम्बाको एसकेएमप्रतिको हददर्जाको भक्ति, चाप्लुसी प्रदर्शन गर्नुसँगै उनमा कानूनको रत्ती पनि ज्ञान नभएको प्रष्ट पार्छ (उनी सर्टिफिकेटप्राप्त अधिवक्ता पनि हुन्)। गोलेलाई कसैले फँसाएको होइन, एसडीएफले त झन् हुँदै होइन, गोले राजनैतिक बन्दी पनि हुँदै होइनन् – जिम्बालाई यति सामान्य ज्ञान पनि नहुनु दार्जीलिङका मतदाताहरूको विडम्बना नै मान्नुपर्दछ।

अब चर्चा गरौं – सिक्किमको राजनीतिमा जिम्बाको दलगत पक्षधरताको। भौगोलिक, संस्कृतिक, आर्थिक, सामाजिक एवं नृवंशीय रूपमा सिक्किम र दार्जीलिङ सधैं जोड़िएर रहेको भए पनि सिक्किम र दार्जीलिङको राजनीति बेग्लाबेग्लै धारमा बगिरहेको छ। सिक्किम पूर्णाङ्ग राज्य रहेकोले सिक्किमको राजनीति स्थिर र विकासकेन्द्रित रहनेगरेको छ भने दार्जीलिङ जातीय अस्मिताको रक्षा र चिन्हारीको सङ्घर्षमा आन्दोलित रहेकोले यहाँ राजनीतिक स्थिरता छैन। सिक्किमका राजनीतिक दलहरू र आम जनताले सधैं दार्जीलिङवासीलाई साथ दिएका छन्, कठिनाईमा समर्थन गरेका छन्। तर यो साथ र समर्थन सदैव दलनिरपेक्ष रहनेगरेको छ। सिक्किमका कुनै पनि सरकार, दल, सङ्घ-संस्थाले दार्जीलिङको यो वा त्यो दलको समर्थन-विरोध गरेको इतिहास छैन। यसरी नै, दार्जीलिङका पनि कुनै दल,सङ्घ-संस्थाले सिक्किमको यो वा त्यो दल अथवा सरकारको समर्थन-विरोध गरेको इतिहास छैन। दुवै पक्षका दलहरूले एउटा राजनीतिक मर्यादा पालन गरेका छन्। हुनुपर्ने पनि यही हो। तर दार्जीलिङको इतिहासमा पहिलोपल्ट नीरज जिम्बाले एकजना जनप्रतिनिधि भएर पनि यो राजनीतिक मर्यादालाई भङ्ग गरेका छन्। जिम्बाको बयानले एसडीएफको राजनीतिलाई कुनै असर गर्दैन, किनभने एसडीएफले दार्जीलिङमा गएर भोट माग्नुपर्दैन। जिम्बाको बयानले सिक्किममा दार्जीलिङप्रतिको धारणामा परिवर्तन आउनेछ र यी दुइ भूगोलको परम्परागत सम्बन्धमा सधैंको लागि रासायनिक परिवर्तन आउनेछ, जुन स्वादले तीतो छ।

जिम्बाको बयान मर्यादाको उल्लङ्घन पनि


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment