गठबन्धनको गलपासो

गठबन्धनको गलपासो
Please Like and Share our website Samay Dainik

विगत 3 वर्षदेखि गुप्तवास बस्नुपुगेका गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का नेताहरू विमल गुरूङ र रोशन गिरीले भारतीय जनता पार्टी (भाजपा) -सितको गठबन्धन चलिरहेकै बेला भाजपाले घोषणा-पत्रमा उल्लेख गरेका वचनहरू पूरा गर्नेतर्फ नभई केवल आफ्नो साङ्गठनिक विस्तारमा मात्रै ध्यान दिएकोमा असन्तुष्टि पोख्दै घोषणा-पत्रका प्रतिबद्धताहरूलाई पनि पूरा गर्न ध्यान दिने आह्वान गरेपछि पहाड़मा एउटा तरङ्ग उत्पन्न भएको छ। गठबन्धनको एउटा घटक गोजमुमो बङ्गाल पुलिसको मुद्दाका कारण मुख्य नेतृत्व नै भूमिगत हुनुपर्ने अवस्थामा छ भने त्यही गठबन्धनको घटकको जोड़दार समर्थनको बलमा सन् 2009 -देखि लगातार चुनाउहबरू जित्दै आएको अर्को घटक अर्थात् भाजपा दार्जीलिङ जिल्लामा लगातार आफ्नो जनाधार बढ़ाउने कार्यमा संलग्न रहनु तर सन् 2009 -देखि नै दिँदै आएको वचनलाई पूरा गर्नेतर्फ भने रत्तीभर इच्छुक नदेखिनुले पहिलो घटक दलको नेतृत्वमा जुन निराशा, हताशा (फ्रस्ट्रेशन) जन्मिन्छ, रोशन गिरीको विज्ञप्ति त्यसैको अभिव्यक्ति हो।

पश्‍चिम बङ्गालमा चुनाउ मुखैमा छ। गत लोकसभा चुनाउमा निक्कै राम्रो प्रदर्शन गरेर उत्साहित बनेको भाजपा आउँदो विधानसभा चुनाउमा राज्यको सत्तामा आउन चाहिरहेको छ। त्यसका लागि दार्जीलिङ पहाड़का तीनवटालगायत छुट्टै राज्यपन्थी गोजमुमोको प्रभाव रहेको तराई-डुवर्सका थुप्रै समष्टिहरूमा जित्ने आशा राख्नु भाजपाको लागि स्वाभाविक हो। यही उद्देश्यले भाजपा लगातार साङ्गठनिक विस्तारको काममा लागिपरेको छ। भाजपाको यस्तो गतिविधिबाट स्पष्टतया के बुझ्नसकिन्छ भने उसको ध्याउन्न केवल, अनि केवल चुनाउ जित्नु रहेको छ। अतीतमा कसलाई के-कस्तो वचन दिएको थियो, त्यतातिर फर्किएर हेर्ने न त उसलाई फुर्सत छ न इच्छा नै। भाजपाको मन्त्र ‘चुनाउदेखि चुनाउसम्म’ मात्रै हो भन्ने कुरामा कुनै सन्देह देखिन्न। भाजपाको सर्वग्रासी भोकमा गोजमुमो निरीह सहायक मात्र बन्नुपर्ने? भन्ने आत्मपीड़ाको अभिव्यक्ति बनेको छ रोशन गिरीको विज्ञप्ति। विमल, रोश नर उनका साथीहरूको अवस्था आज गोठमा बाँधिएर राखिएको गाईसरह भएको छ, जसको काम घाँस खानु र दूध दिनु भएको छ। यिनीहरूमाथि जुन व्यवहार हुँदैछ, त्यो हेर्दा भोलि थारो भएको दिन कसाईको हातमा बेचिनेछैनन् पनि भन्नसकिन्न।

दार्जीलिङ पहाड़को राजनीतिमा यहाँका स्थानीय सशक्त दलहरूले विभिन्न समय एवं चुनाउहरूमा राष्ट्रिय पार्टीहरूसित गठबन्धन गरेको लामो परम्परा छ। गोजमुमोले पनि त्यस्तै परम्परालाई अनुसरण गर्दै सन् 2009 -देखि भाजपालाई समर्थन गर्दै आएको हो। भाजपालाई समर्थन गर्नुको पछाडि एउटा सोच के पनि थियो भने भाजपा देशमा असङ्ख्य ससाना राज्यहरूको गठनको पक्षमा छ भनेर यसका प्रचारकहरू भन्ने गर्थे। सन् 2009 -को लोकसभा चुनाउमा पश्‍चिम बङ्गालमा भाजपाको भविष्य, केन्द्रमा बहुमतले सरकारमा आएपछि पहाड़को आकांक्षामाथि सकारात्मक रूपमा काम गर्ने ‘मौखिक आश्‍वासन’ (त्यो पनि केवल नेताहरूलाई) बाँड़ेर भाजपाले दार्जीलिङ समष्टि जितेको थियो। 2014 -मा झनै महत्त्वाकांक्षी बनेको भाजपाले चुनाउ घोषणा पत्रमा ‘परिशिष्ट’ थपेर दोस्रोचोटि पनि चुनाउ जित्यो, 2019 -मा ‘स्थायी राजनैतिक समाधान’ र ‘राज्यसभामा बहुमत’ -को कार्ड फ्याँकेर चुनाउ जित्यो। अर्थात हरेकचोटि भाजपा कुनै न कुनै बहाना र भावनात्मक दोहन गरेर भोट जित्नमा सफल बनेको देखिन्छ। सन् 2017 -मा तर दार्जीलिङ पहाड़ चरम रूपले आन्दोलित हुँदा पहाड़वासीको अपार समर्थनले जितेका भाजपा सांसदले एकै शब्द उच्चारण गरेनन्, भाजपा अध्यक्ष अमित शाहले राज्य भाजपाका शीर्ष नेताहरूलाई दिल्ली बोलाएर पहाड़को मुद्दामा एउटा शब्द उच्चारण नगर्न निर्देशित गरे। अर्थात् दार्जीलिङ पहाड़का जनताको यति ठूलो सङ्घर्ष के भाजपाको लागि केवल राजनीतिक रणनीतिकै विषय मात्र थियो त? एउटा सरकार हुनको नातामा दार्जीलिङका जनताको आवाज, सङ्घर्ष भाजपाको लागि सम्बोधन गरिनुपर्ने मुद्दा थियो (त्यही मुद्दाकै आधारमा भाजपाले चुनाउ जितेको पनि थियो), तर भाजपाले यसलाई राज्यको तृणमूल सरकासित लुकाचोरीको खेलमा लिइदियो।

दार्जीलिङ पहाड़को शताब्दीलामो राजनैतिक चाहना राष्ट्रिय राजनैतिक दलहरूका लागि ‘पण्य’ (commodity) वस्तु हुनेगरेको छ भने राज्यका राजनैतिक दलहरूका लागि ‘प्रतिष्ठा’ र ‘अहं’ -को विषय हुनेगरेको छ। राष्ट्रिय दलहरू दार्जीलिङमा चुनाउ जितेर राज्यमा जीतको सम्भावना खोज्दछन् भने राज्यका शासक दलहरू दार्जीलिङलाई सङ्घर्षमा हराएर राज्यवासीसमक्ष प्रतिष्ठाको विजेता देखिनचाहन्छन्।
हरेक लोकसभा चुनाउपछि बङ्गालमा विधानसभा चुनाउ आउँछ अनि विधानसभापछि लोकसभा चुनाउ आउँछ। राष्ट्रिय राजनैतिक दलहरूलाई राज्यसभामा बहुमतको खाँचो त सधैं रहिरहेकै हूुन्छ। तर त्यो बहुमत क्षेत्रीय आकांक्षाहरू पूरा गरिदिनलाई होइन, कर्पोरेट हित साध्नलाई हुन्छ। राजनीतिक दलहरू चुनाउदेखि चुनाउसम्मको दौड़मा कुदिरहेका हुन्छन् अनि पहाड़वासी चुनाउदेखि चुनाउसम्म आशावरीको धुनमा झुलिरहेका हुन्छन्।

के यो विमल गुरूङ र रोशन गिरीहरूको मात्र समस्या हो? राजनैतिक सपनाका सौदागरहरूको झाँसामा आउनु पहाड़का अहिलेसम्मका जम्मै पुस्ताका नेताहरूको साझा नियति भएको छ।
(क्रमशः)

गठबन्धनको गलपासो


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment