कोरोना : रूमानियत र तीतो यथार्थ

कोरोना : रूमानियत र तीतो यथार्थ
Please Like and Share our website Samay Dainik

हरेक महान विपत्ति, सङ्कटहरूले मानव जीवनमा महान अवसर र समृद्धिका सूत्रहरू लिएर आउँँछन् भन्ने एउटा खुबै आदर्श वाक्य अचेल खुब चलिरहेको पाइन्छ। यसो सुन्दा साह्रै आशावादी लाग्ने यस वाक्यले विपत्तिमा परेका मानिसहरूमा आशाको सञ्चार गर्दछ, उनीहरूलाई अवसादग्रस्त हुनबाट बचाउँदछ। तर यो सत्य उति सरल छैन, उति सहजै फलीभूत हुने विषय पक्कै होइन। यो सत्यलाई फलीभूत हुन दशकौं लाग्नसक्छ। आज विपत्ति सकियो अनि भोलिदेखि समृद्धिको युग शुरू हुन्छ भन्ने हुँदैन। यस्ता विपत्तिहरूले एउटा जीवित पीढ़ीलाई सम्पूर्णतः बर्बाद बनाइदिनसक्छ, एउटा अर्थव्यवस्थालाई तहसनहस पारिदिननसक्छ। विपत्तिपछि समृद्धि आउने भन्ने कुरा त विपत्तिले पार्ने सार्विक बर्बादीपछि समस्त अनुभवलाई संश्‍लेषण गरेर नयाँ पुस्ताले त्यसबाट शिक्षा लिएर बर्बादीपछि जनजीवनमा त्यो संश्‍लेषित अनुभवलाई लामो समयसम्म प्रयोग गरेर प्राप्त गरिने उपलब्धि हो।

अहिलेघरी हामी विश्‍वव्यापी कोरोना महामारीबीच फँसेका छौं। यसका कारण संसारभरि लाखौं मानिसहरू कालको गालमा परिसकेका छन्। दिनहुँ रोगबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दैछ, मानिसहरू मरिरहेका छन्। हामी कोरोनाकालको अन्त्यतिर छैनौं, किनभने हामीसित अझै पनि यस रोगलाई प्रतिरोध गर्ने औषधि, टीका आइसकेको छैन। वैज्ञानिकहरू निश्‍चय नै यस रोगको औषधि र टीका खोज्न रात-दिन लागिपरेका छन्, तर औषधि विकसित हुन समय लाग्छ। औषधि विकसित नभइञ्जेल मानिसहरूको पीड़ा, कष्ट र त्रासदी कम हुनसक्दैन। यसैले हामी आज कोरोनाकालको अँध्यारो गल्लीमा फालिएका छौं। हामी उन्मुक्तिको, आरोग्यको र भयहीनताको उज्यालोको खोजीमा भौंतारिरहेका छौं।

तर कोरोनाले मानिसहरूको जीवन र स्वास्थ्यमा जति चुनौती उत्पन्न गर्‍यो, त्यसभन्दा हजारौं गुणा बढ़ी असर उसको अर्थनीतिमा गर्‍यो। कोरोना सङ्क्रमणसँग जुझ्न सरकारहरूले सजिलो बाटो चुने – सम्पूर्ण लकडाउन। हामीलाई थाहा छ, लकडाउन शुरू भएपछि देशका ठूला ठूला शहरहरूबाट लाखौं-करोड़ौं मानिसहरूको पलायन त भयो तर आफ्नो घर पुग्नलाई उनीहरूसित कुनै साधन र अर्थ भएन। अधिकांश मालिकहरूले आफ्ना कर्मचारी-श्रमिकहरूलाई कामबाट निकालिदिए। मालिकवर्गको यो संवेदनहीनता र चरित्रको कुरुप पक्ष कोरोनाले उजागर गरिदियो। असङ्ख्य मानिसहरू पलायन गर्ने क्रममा मारिए।

कोरोनाले उजागर गरेको अर्को घृणित पाटो हो – सरकारहरूको किंकर्तव्यविमूढ़ता, उदासीनता, संवेदनहीनता। देशका अधिकांश सरकारहरू लकडाउनमा जनतालाई जाकेर ढुक्क भए। तर लकडाउनले उनीहरूको जीवन कति कठिनाइमा पर्‍यो, त्यसको हेक्का राखेनन्। मानिसहरू सञ्चित धन, सुन-चाँदी, जायजेथा बेचेर सास धान्न विवश भए। लकडाउनमा जमाखोर व्यापारी, निजी अस्पतालका मालिकहरू, व्यापारीहरूको लूटको राज मच्चिरहेकै छ तर सरकार आफ्नो छाला जोगाउन मस्त छ। धनी र हुनखाने वर्ग सैकड़ौं वर्षमा एकपल्ट हुने वैश्‍विक महामारीको साक्षी आफू हुनपरेकोमा पुलकित छ, रूमानी भावमा विचरण गरिरहेको छ तर सदियौंमा एकपटक आउने महामारीलाई आफ्नो पुर्परोमा बोकेर सरीसृपझैं घस्रिने मानिसहरूप्रति उनीहरूमा कुनै समवेदना छैन। एक त रोगको त्रास, अर्कोतिर आर्थिक त्रासदीले मानिसलाई कतिसम्म विवश, लाचार अनि निरूपाय बनाएको छ। महामारीको एक-एक पल आम मानिसको जीवनमा युग-युग भएर गुज्रिरहेको छ। भन्नसकिन्न, महामारी सकिसक्दा यी मानिसहरू बाँचिरहलान् के! आज गरीब, मेहनती मानिसहरूसित यो त्रासदीमा कोही उभिएको छैन। सरकारहरू मानिसको जीवनलाई गतिरूद्ध पारेर, मानिसको सास थुनेर, मानिसलाई सबैतिरबाट निःशस्त्र बनाएर कोरोनासित युद्ध लड्नचाहन्छ। लकडाउन गरेर सङ्क्रमणको दर घटाउनसकेकोमा आँकड़ाको बाजीगरी गर्दै आफ्नै कुममा धाप मारिरहेको छ सरकारहरू। तर त्यो लकडाउनका कारण कति ठूलो जीवन मूल्य र आर्थिक मूल्य मानिसहरूले चुकाइरहेका छन्, त्यसको कुनै गणना छैन।

जुन देशको जुन शहरमा कोरोनाको जन्म भयो, उनीहरू एक हप्ताको लकडाउनमा बसेर जीवनमा फर्किए, अर्थनीतिमा फर्किए तर अन्य देशका नालायक शासकहरू जनतालाई जोखिमपूर्ण जीवन अवस्थामा छोड़ेर आफ्नो राजनीति चम्काउने, सरकार बनाउने-बिगार्ने खेलमा मस्त हुने, राजनीतिक तुष्टीकरणका लागि आफ्ना र सहयोगी पार्टीका पचासौं कार्यकर्ताहरूलाई लाखौंको वेतन र सुविधासहितको क्रीम बाँड्ने खेलमा मस्त हुने काम गरिरहेका छन्। सम्पन्न र शक्तिशालीहरू सत्तासँग साँठगाँठ गरेर राजसी जीवन बिताइरहेका छन् भने मेहनती र सङ्घर्षशील मानिसहरू कोरोनाको त्रास, आर्थिक बर्बादी, पुलिस-प्रशासनको त्रास बोकेर बाँचिरहेका छन्। आज ‘सानालाई ऐन अनि ठूलालाई चैन’ -को अवस्था छ।

विपत्ति, महामारी र त्रासदीहरूले कमजोरवर्गलाई बर्बादीको रसातलमा पुर्‍याएर निश्‍चिन्ह मात्र बनाउँदैन, कहिलेकाहीं त यो विस्फोटित बनेर तमाम तथाकथित सभ्यताहरूलाई विध्वस्त पनि तुल्याउँछ। जीवन र स्वास्थ्यमाथिको विपत्ति त क्षणिक हो, प्रकृतिको प्रहारले सर्वप्रथम राजनीतिक व्यवस्थालाई प्रहार गर्छ। व्यवस्था असमर्थ भए मानवले नयाँ व्यवस्थाको निर्माण गर्छ।

कोरोना : रूमानियत र तीतो यथार्थ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment