हिंसाले सिक्किमलाई कहाँ पुर्‍याउला ?

हिंसाले सिक्किमलाई कहाँ पुर्‍याउला ?
Please Like and Share our website Samay Dainik

12 जूनको दिन तादोङ इन्दिरा बाइपास क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -का प्रवक्ता जे.बी. दर्नालमाथि अपरान्ह करीब 3 बजी केही असामाजिक तत्त्वहरूद्वारा थुप्रै मानिसहरूको चहलपहल भइरहेको समय प्राणघातक आक्रमण भयो। श्री दर्नाल प्रमुख विपक्षी पार्टीका केन्द्रीय प्रवक्ता हुनुको नाताले यो आक्रमण सोझै राजनैतिक उद्देश्यले प्रेरित रहेको स्पष्ट हुन्छ, फलतः यो सिक्किममा राजनैतिक हिंसाको ज्वलन्त रूप हो। आज कतिपय सत्तापक्षीय मानिसहरूले भनेजस्तो यो राजनैतिक हिंसा होइन भने पनि यो गम्भीर कानुनी एवं व्यवस्थागत असफलता अनि अन्ततः सत्तारूढ़ सरकारको चरम असफलताको कुरा हो, जुन अन्ततः राजनैतिक कुव्यवस्था नै हो।

जहाँ तर्क समाप्त हुन्छ, त्यहींबाट गालीगलौज र हिंसा शुरू हुन्छ। सिक्किममा एउटा पक्षका मानिसहरूसित तर्क समाप्त भएको देखिन्छ। एसडीएफले कतै जुलूस-धरना गरेको छैन, राजमार्ग अवरूद्ध गरेको छैन, जनजीवन अवरूद्ध पारेको छैन, कतै धक्का-मुक्की गरेको छैन। विगत 1 वर्षमा विपक्षी राजनीतिको रूपमा एसडीएफले केवल प्रेस विज्ञप्ति जारी गरेको छ, प्रेस कन्फरेन्स गरेको छ। कोभिड-19 -को कारण प्रेस कन्फरेन्स पनि सामाजिक सञ्जालमार्फत अनलाइन गरेको छ, जुन सोशल डिस्टेन्सिङ सम्बन्धी सरकारी आदेशको अनुपालन हो। यति स्पेस राखेर कुनै दलले राजनीति गरिरहँदा पनि उसको कार्यकर्तामाथि दिनदहाड़ै भौतिक आक्रमण हुन्छ भने सिक्किममा डेमोक्रेसी कति नाजुक अवस्थामा पुगिसकेको रहेछ, स्पष्ट हुन्छ।

श्री दर्नालमाथि भएको आक्रमण सामान्य कुटपीट होइन। दार्जीलिङमा प्रखर नेता मदन तामाङको घिच्रो छिनाएजस्तो दर्नालको जीवन नै सिध्याउने उद्देश्यले कञ्चटमा प्रहार गरिएको छ। प्रहारको तीव्रता र गहिराइ (इण्टेन्सिटी) -ले प्रजातन्त्र कति चोटिलो प्रहारको निशानामा छ अनि सिक्किममा अराजकता कति उद्दण्ड बनिसकेको छ भन्ने बुझाउँदछ। गत उप-चुनाउमा पूर्व मुख्यमन्त्रीको वाहनमा जुन आक्रमण भयो, त्यसले नै सिक्किमको सामाजिक र राजनीतिक व्यवस्था कतातिर जाँदैछ भन्ने स्पष्ट भइसकेको थियो, दर्नालमाथिको आक्रमणले सिक्किममा अराजकता, उद्दण्डता संस्थागत बनिसकेको स्पष्ट हुन्छ। हुन त ‘असहमति’ – माथि कुटपीट, धाकधम्की हिजोआज सिक्किमको दैनन्दिनी व्यवहार भएको छ र आश्‍चर्यजनक कुरा के भने एकैजना अपराधी पक्रा परेका छैनन्, सत्तारूढ़ दलको तर्फबाट भर्त्सना पनि विचित्र प्रकारले जनाइएको छ। सत्तारूढ़ दलका प्रवक्ता र समर्थकहरू सोशल मीडियामा उक्त घटना स्वयं एसडीएफले नै गराएको भनेर कानून र न्यायबाट माथि उक्लने कोशिश गरिरहेका छन्। अपराधी नै नपक्रिकन उनीहरू कसरी यो एसडीएफकै काम हो भन्दैछन्?

राजनीतिमा हिंसा रक्तबीजसरह हो। रक्तबीजले अर्को हिंसाको जन्म गरिराखेर जान्छ र समाज लगातार एकपछि अर्को हिंसाको शिकार हुँदैजान्छ। उदाहरणका लागि हामी साह्रै टाढ़ा जानुपर्दैन। छेवैमा उदाहरण छ, जहाँ विगत 3 दशकभन्दा बढ़ी समयदेखि हिंसा-बद्लाको राजनीति बिसाउन पाएको छैन, जसले गर्दा त्यो समाज भित्रभित्रै जर्जर बनिसकेको छ। यो जर्जरताले त्यस क्षेत्रका जनताको सामुहिक मूल प्रतिरोध र सङ्घर्ष समाप्त भएर पुरै समाज नै पराधीनजत्तिकै बनिसकेको छ।

सिक्किममा केही वर्षदेखि शुरू भएको अराजकता, उद्दण्डता, हिंसा, अप्रजातान्त्रिक क्रियाकलापले कसैलाई सत्तामा आउने बाटो त खोलिदियो होला, तर दलगत शत्रुताले सिक्किमको सामुहिक प्रतिरोध, चाहना र सङ्घर्षलाई समाप्त गरिदिएको छ। समाज र राजनीतिको अपराधीकरणले समाजको मूल स्वर दबिएर जान्छ अनि गुटीय लड़ाईंहरूले आतङ्कवाद, माफियातन्त्रलाई समाजको नेतृत्व सम्हाल्ने बाटो खोलिदिन्छ, जुन आज आगोसित खेल्नेहरूको स्वास्थ्यका लागि पनि राम्रो हुँदैन अनि सिक्किमको ऐतिह्य (गर्विलो ऐतिहासिक परम्परा) -माथि गर्व गर्ने सिक्किमे जनताको लागि पनि राम्रो हुँदैन। राजनीतिक हिंसाले सामाजिक अपराधलाई पनि बढ़ाएर लान्छ। सिक्किममा हिंसा-प्रतिहिंसाको संस्कृति हुर्कन दिनुहुन्न।

आज सिक्किममा जुन हिंसा, अराजकता, उद्दण्डता र अप्रजातान्त्रिक क्रियाकलापको तीव्रता देखिँदैछ, त्यो गुण्डागर्दीले आत्मशक्ति र आड़-भरोसा कहाँबाट पाउँदैछ? तपाईंहरूले सहज रूपमा यसको जुन जवाफ सोच्नुहुँदैछ, त्यो पूर्ण सत्य होइन। दुइ-चार रुपियाँ, जाँड़-रक्सी अनि अलिकति मोज-मज्जाका लागि हिंसामा उत्रिनेहरू त आतङ्कका श्रमिक हुन्, केही भाड़ामा पनि ल्याइएका होलान्। तर सिक्किमको यो अव्यवस्था, हिंसा, हिंस्रक शत्रुता, कानून-व्यवस्थाको खस्दो स्थितिले कसलाई फाइदा पुग्छ र आखिरमा कसको ओंठमा कुटिल मुस्कान खेल्छ, सत्य त्यहाँ निहित छ।
सिक्किमे जनताले अति गम्भीरतापूर्वक सोच्न थाल्नुपर्नेछ, किनभने समाज सिक्किमे जनतालाई नै चाहिन्छ, यहाँ सिक्किमे जनतालाई नै बस्नुछ।

हिंसाले सिक्किमलाई कहाँ पुर्‍याउला ?


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment