अनलाइन मिडियाको विश्वसनीयता

अनलाइन मिडियाको विश्वसनीयता
Please Like and Share our website Samay Dainik

अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्तरूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यवहारमा व्यापक फेरबदल ल्याएको छ । ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो । अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दह्रो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।

अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ । हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन-समाज नराम्ररी कुसूचित हुन पुगेका धेरै अध्ययनले औँल्याएका छन् ।

अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् । पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युजरुम प्रसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकारले पाएको कुनै पनि सूचना वा जानकारीको सहीपन पाठक–श्रोतामा पुग्नुअघि नै परीक्षण गर्नुपर्छ । त्यसो नगरी जानकारी प्रकाशन–प्रसारण गर्न मिल्दैन । अर्थात् पत्रकारितामा खास चरणहरू पार गरेरमात्रै सूचना प्रवाह गर्ने अवस्थामा पुग्छ ।

अन्य प्रकृतिको सञ्चार जोकोहीले पनि गर्न सक्छ, जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । अभिव्यक्ति (सूचना प्रवाहको) स्वतन्त्रता र सूचनाको सहीपनलाई एउटै अर्थमा बुझिनुहुन्न । सोसल मिडियाको तीव्रतर उपस्थितिले सूचनाको हक उपभोगमा सहजता थपिएको छ । व्यक्तिलाई आपूले पाएको सूचना प्रवाह गर्नुअघि कुनै सञ्चारमाध्यमको पत्रकारले जस्तो परीक्षण गर्नुपर्ने बाध्यता पनि हुँदैन, सत्यता जाँच्ने कुरा सम्बन्धित व्यक्तिको नैतिकतामा निर्भर रहन्छ । कुनै कारणवश व्यक्तिबाट गलत जानकारी फुत्किएमा त्यो एकैचोटि जनसागरमा पुग्छ । यस किसिमको सञ्चार प्रणालीमा व्यक्तिले उपयोगी, अनुपयोगी, हानिकारक सबै प्रकृतिका जानकारी सम्प्रेषण गर्न सक्छन् । त्यस्तो कार्य जानेर, नजानेर वा गलत आशयका साथ पनि हुनसक्छ ।

कतिपय अवस्थामा बदनियत नभए पनि सम्प्रेषणकर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत साबित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । कसैले दिएको अहितकर जानकारीलाई उपयोगी ठानेर सेयर गर्नु पनि ‘मिस्इन्फरमेसन’ नै हो । अहिले सोसल मिडियामा ‘मिस्इन्फरमेसन’ एउटा रोगकै रूपमा देखापरेको छ । कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थसिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्धसत्य वा पूरापूर असत्य वा नितान्त भ्रामक हुन सक्छन् । कसैको फेसबुक स्ट्याटस, तस्बिर, ट्वीट आदि जे पनि यसमा पर्न सक्छन् । आकर्षक स्वरूपमा देखापर्ने यस्ता सामग्रीको भ्रमजालमा जो कोही पर्छन् ।

सोसल मिडियामा यो प्रकृतिका जानकारी बग्रेल्ती भेटिन्छन् । ‘डिस्इन्फरमेसन’ का अनेक उद्देश्य हुनसक्छन् । आफ्नो वस्तु तथा सेवाको बढाइ-चढाइँ प्रचार गर्न, आफ्नो साइट वा च्यानलको भिजिटर बढाउन, आफ्ना विरोधीलाई अरूको नजरमा गिराउने वा घृणा पैलाउनेजस्ता अनेक कुत्सित नियत पूरा गर्न ‘डिस्इन्फरमेसन’ को सहारा लिइएको पाइन्छ । हाम्रो सन्दर्भमा मूलतः युट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति कमाएका छन् । राजनीतिक, कूटनीतिक तथा राष्ट्र–राष्ट्रका सन्दर्भमा पनि ‘डिस्इन्फरमेसन’ लाई अस्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । महाभारतलगायत आध्यात्मिक प्रसङ्गमा समेत ‘डिस्इन्फरमेसन’ को प्रयोग भएको छ । कुनै सामाजिक उत्तरदायित्वबिना नै अर्थोपार्जन गर्ने एकमात्र अभीष्टमा खुलेका कतिपय युट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता अनेकन् कुकृत्य रचेका बगे्रल्ती दृष्टान्त छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) द्वारा जारी पत्रकार आचारसंहिताको दफा ५ मा छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने प्रावधान छ तर कतिपय जिम्मेवार अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । आचारसंहितालाई आत्मसात् नगर्ने सोसल मिडियाका कतिपय प्रयोगकर्ताले त सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियाप्रति अनुदार नियम ल्याउने बाटो खोलिदिएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर क्षति पु¥याउने सम्भावना छ । सूचना प्रवाहमा देखापरेको यसप्रकारको आशङ्का र अनिष्टको बादल हटाउन आवश्यक छ । यसका लागि हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्मीलाई कसैले नियमन गर्नुभन्दा पनि आफैँ जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ ।

अनलाइन मिडियाको विश्वसनीयता


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment