एसडीएफको सफलतालाई ईर्ष्याले जित्नसक्दैन

एसडीएफको सफलतालाई ईर्ष्याले जित्नसक्दैन
Please Like and Share our website Samay Dainik

लब्धप्रतिष्ठ मोटिभेशनल स्पीकर शिव खेड़ाले आफ्नो बहुचर्चित पुस्तक यु क्यान विन्’ –मा एक ठाउँमा भनेका छन् – मानिसहरू कुनै सफल व्यक्तिको जीवनलाई देखेर ईर्ष्या गर्दछन् तर उनीहरू ती व्यक्तिको जीवनको सङ्घर्षशील पाटोलाई देख्दैनन्।हाम्रा अधिकांश मानिसहरू कुनै सफल व्यक्तिलाई देखेर भनिरहेका हुन्छन् – परै कति भाग्यमानी!यो सामाजिक चिन्तनको दोष हो। सफल मानिसहरूलाई देखेर उसको नक्कल गर्ने हुँदा समाज बिग्रिन्छ। मान्छेको सङ्घर्षको पाटोलाई बिर्सेर कुनै सफल व्यक्तिले झैं सफलता प्राप्त गर्ने, त्यसका लागि छोटो बाटो (शर्टकट) खोज्ने प्रवृत्तिले समाजमा अपराध, हिंसा बढ़ेर जान्छ, संस्थाहरू बिग्रेर जान्छ र एउटा श्रमविरोधी संस्कृति हावी भएर जान्छ।

सिक्किमको राजनीतिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अनि पवन चामलिङ एक सफल नाम हो। एसडीएफ अनि पवन चामलिङ सफल मात्र होइन, सफलसँगै असल गुणहरूको सफलताको कथा हो। सबै सफलहरू असल हुन्छन् भन्ने हुँदैन, उसरी नै सबै असलहरूले सफल बन्ने सौभाग्य हासिल गर्दैनन्। सिक्किमको राजनैतिक इतिहासमा सफलता र असलताको यो सुखद संयोगले सिक्किम र सिक्किमे जनताको जीवनमा सकारात्मक अनि क्रान्तिकारी उपलब्धिहरू ल्याइदियो।

सिक्किमको राजनीतिमा 25 वर्ष लगातार सरकार सञ्चालन गर्नु एसडीएफ पार्टीको यो एउटा यस्तो सफलता हो, जुन आजसम्म देशमा कुनै पनि राजनैतिक पार्टीले हासिल गर्नसकेको छैन। यसका साथै एसडीएफ अध्यक्ष पवन चामलिङले लगातार 25 वर्ष मुख्यमन्त्रीत्व गर्नु एउटा असाधारण सफलता हो, जुन आजको दिनसम्म भारतको कुनै राजनेताले हासिल गर्नसकेका छैनन्। तर यो सफलतालाई हेरेर कसैले एसडीएफ र नेता पवन चामलिङलाई भाग्यमानी’ –को बिल्ला लगाइदिन्छ भने उसले एसडीएफ र नेता चामलिङको सङ्घर्ष, त्याग, परिश्रमलाई बिर्सिदिएको छ भन्ने स्पष्ट हुन्छ। एसडीएफ र पवन चामलिङको नेतृत्व केवल भाग्यले ठेलेर यो उँचाइको सफलतासम्म आइपुगेको होइन।

सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको गठन सिक्किमेली राजनीतिको यस्तो कठिन कालमा भएको हो, जतिखेर तत्कालीन सत्ता शक्तिको  शिखरमा थियो। सम्पूर्ण प्रशासन, पुलिस, मन्त्री परिषद् एकजना नेताले उठ् भन्दा उठ्नुपर्ने अनि बस् भन्दा बस्नुपर्ने अवस्थामा थिए। पवन चामलिङले त्यतिखेर सत्तासँग आफ्नो मतभिन्नता प्रकट गर्ने साहस देखाए, जतिखेर पूर्व शासकको अघि जम्मै मन्त्री-विधायकहरू नतमस्तक हुन्थे। एसडीएफ पार्टीको गठन गर्दा पूजापाठ गर्ने बाहुन, लामासम्म सिक्किममा पाउनु मुश्किल थियो, नाम्चीमा पवन चामलिङको घरमा राशन-पानी जान बन्द गरिएको थियो, पवन चामलिङ आफ्नो ज्यान जोगाउन लुकेर, भूमिगत भएर, छद्मवेशमा हिँड्नुपर्थ्यो। पवन चामलिङ अनि उनका सहयोद्धा साथीहरूले जीवनलाई जोखिममा हालेर पार्टीलाई जोगाएर, सिक्किमलाई समूल बदल्ने नीति-कार्यक्रमहरूको तर्जुमा गरे, एउटा अनुशासित पार्टीको निर्माण गरे। अनुशासित हुनु सहज कुरा होइन, यसका लागि त्यागको आवश्यकता पर्छ, समर्पणको आवश्यकता पर्छ, सिद्धान्तलाई नै जीवनको आदर्श बनाएर त्यसलाई आत्मसात गर्नुपर्छ। एसडीएफले लगातार जुन सफलता प्राप्त गर्‍यो, त्यसमा त्यो त्याग, परिश्रम, समर्पण र सङ्घर्ष निहित छ।

एसडीएफ पार्टी र सरकारले कायम गरेको प्रजातान्त्रिक वातावरणमा खुट्टा घुमाएर प्रेस वक्तव्य लेख्दै प्रजातान्त्रको कुरा गर्नु सहज छ; झुट्टा कुराहरू, जातको कुराहरू, हावा मिठाई बाँड्ने कुराहरू गर्नु सजिलो छ। तर त्यो प्रजातान्त्रिक परिवेश बहाल गर्न एसडीएफले जुन सङ्घर्ष गरेको छ, त्यो सबैबाट सम्भव छैन।

सिक्किममा 25 वर्षमा जुन अभूतपूर्व भौतिक विकास भयो, जनताको जीवनमा जुन आमूलचूल परिवर्तन आयो, सिक्किमले हरेक क्षेत्रमा जुन आश्‍चर्यजनक विकासीय फड्को  मारेको छ, त्यो फगत कोठामा बसेर मुखले घोषणा गरेर पाएको होइन। यसका लागि पवन चामलिङ र उनको टीमले रात-दिन काम गरेको छ।

 

मानिसहरूले सफलतालाई सहज रूपमा लिन्छन् र सोच्छन् – यो त भइहाल्ने कुरा हो। गत वर्ष   सम्पन्न भएको चुनाउमा अधिकांश मानिसहरूले एसडीएफको सफलता र असलतालाई सहज रूपमा लिए। त्यतिबेलाको विपक्षी (अहिलेको सत्तारूढ़) पार्टीले जनतालाई यस्तो प्रकारले बर्गलायो, मानौं यी सबै कामहरू चुट्की बजाउँदा भइहाल्ने हो। एसडीएफ सरकारले नाना जुक्ति लगाएर, नाना संसाधनहरूको उपयोग गरेर ल्याएको विकासलाई केन्द्रको पैसाभनेर अपव्याख्या गर्दा जनताले पनि त्यसमा विश्‍वास गरेर त्यस्ता झूटो बोल्नेहरूको कुरामा विश्‍वास गर्ने जोखिम मोले। आज सिक्किममा सरकार परिवर्तन भएको छ तर एसडीएफ सरकारले थालेका कतिवटा योजनाहरू आज पनि जारी छ? केन्द्रबाट कति पैसा आउँदो रहेछ? कतिले रेगुलर नोकरी पाए? कतिको नोकरी रेगुलर भयो, कतिजनाको घर बनियो? जनताले हिसाब गर्नुपर्छ।

 

एसडीएफले ल्याएको विकास, समृद्धि एउटा अथक सङ्घर्षको परिणाम थियो, असल नीति-कार्यक्रम, सिद्धान्तको सफल परिणाम थियो भने त्यो सफलतामा आह्रिस गरेर अनैतिक बाटोबाट अवसरवादीहरू जनतालाई झुक्याएर सत्तामा पुग्न सफल भएका छन्। एक वर्ष नबित्दै यी अवसरवादी, मिथ्यावादी, भ्रष्ट, साम्प्रदायिक र जनविरोधीहरूको कामले सिक्किमको विकास, समृद्धि, शान्ति, सुख र सुनाममाथि ग्रहण लाग्न शुरू भएको छ।

एसडीएफको सफलतालाई ईर्ष्याले जित्नसक्दैन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment