रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले
Please Like and Share our website Samay Dainik
  • 28
    Shares

– हीरा छेत्री  एन्टप हिल, मुम्बई

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

केही न केही गरेरै देखाउने इच्छाशक्ति पालेकी सिङ्ग्रौलीकी ठिटी दिव्याले आफ्नो सपनाको उड़ानमा नयाँ पखेटा थपेर उच्च गगनतिर लम्किने मौका पाएकी हुन् सन् 2018 -मा। पञ्जाबको जालन्धरमा महिला दिवसको उपलक्ष्यमा आयोजित कन्टिनेन्टल रेसलिङ इन्टरटेन्टमेन्टको प्रो-रेसलिङ च्याम्पियनसिपमा पहिलोपल्टै नै बेल्ट जित्ने दिव्यालाई स्थानीय मिडियाले त्यही दिनदेखि नै नयाँ नाम दिएको थियो – लेडी खली। सो खेलमा दिव्याले महिला रेसलिङमा पताका गाढ्ने पूर्व च्याम्पियन राजस्थानकी सन्नी जाटलाई मात दिएर उक्त खिताब हत्याएकी थिइन् जबकी उनले त्यतिखेर प्रोफेसनल रेसलिङको तालिम सुरू गरेको केवल 8 महिना मात्रै हुँदैथ्यो। यो उपाधि जित्ने राज्यको पहिलो महिला बनेर उनले मध्य प्रदेशको सिर ठाड़ो पारिदिएकी थिइन्। सम्पूर्ण राज्यमा एकमात्र महिला रेसलर भनेर अहिले पनि उनलाई नै चिनिन्छ। प्रोफेसनल रेसलिङको यो टेकनिकल खेल-मैदानमा गोर्खे नारीशक्तिस्वरूपा दिव्या उत्रेर जब आफ्नो 66 किलोको शरीर थाम्ने खुट्टा थर्काउँदै चिच्याउँछिन् तब मै हुँ भन्नेहरूको सातो पुत्लो उड़्ने गर्दछ।

सानैदेखि टिभी हेर्ने बानी, तर हेर्थिन् त केवल कुस्तीको च्यानल। त्यो च्यानल हेरेर अरू नानीहरूजस्तै पलङमा उफ्रिने, आमाबाबु-दिदीबैनीसित जुझ्ने स्वभाव उनमा पनि बस्यो। बिस्तारीबिस्तारी उनलाई यसको मातै लाग्नथाल्यो। सबै काम छोड़ेर केवल टिभीमा रेसलिङ मात्रै हेर्ने भइन्। हेर्ने त भइन् भइन् आफु पनि ठुली भएर यस्तै खेल्ने हुन्छु भनी हिँड़्नथालिन्। आमाबाबुले पनि केटाकेटीको मनको लड्डु त हो भन्ने सोचेर रेसलिङ भनेको माटामा लड़िबड़ी गर्ने खेल पो होला भनेर ध्यान दिएनन् तर उनी त स्कुल भर्ती भएर शिक्षा-दीक्षा सुरू भइसकेपछि प्रोफेसनल रेसलिङ सिक्ने लिँढ़ेढिप्पी गर्नथालिन्। अलिक ठुली भएपछि बिर्सिन्छे होली भनेर फेरि पिता र माताले केही भनेनन् तर केटीले त टेरिनन्। सिक्ने नै भइन् रेसलिङ अनि अन्त्यमा माइली छोरीको जिद्दको अघि घुँड़ा टेकेर तालिम दिने निर्णय गरे। तर भारतमा प्रोफेसनल रेसलिङको तालिम केन्द्र नहुँदा उनले अमेरिका अनि क्यानाडाका विदेशी प्रशिक्षकहरूबाट सिक्नथालिन्। यसैबिच ग्रेट खलीले भारतमै रेसलिङको सीडब्ल्यूई अकादमी सुरू गरे। यो सुनेर दिव्यालाई ठुलो आँट आयो। यतिन्जेल यो खेल केटीहरूका लागि हुँदै होइन भन्ने पिताजीको सोचमा केही परिवर्तन पनि आउनथालेको थियो। उनले दिव्यालाई खलीको स्कुल सी.डब्ल्यू. ई.- -मा 14 जून, 2017-मा भर्ती गरिदिए। यहाँ भर्ती भएको आठ महिना मात्रै भएको थियो दिव्याको सामु एउटा च्याम्पियनसिपमा भाग लिनुपर्ने चुनौती देखा पऱ्यो पहिलो म्याच खेल्ने।

‘भारतमा यो खेल महिलाहरूको लागि होइन भनेर दूरदूर गरिन्छ। तर सारा भारतका महिलाहरूलाई आव्हान् गर्न चाहन्छु यस खेलमा जत्ति पुरुषको रुची छ महिलाहरूको पनि हुनाले उनीहरूले पनि भाग लिनुपर्छ। यसलाई विदेशी खेल भन्नेहरूलाई के सन्देश छ भने यो भारतबाट सुरू भएको खेल हो अनि यसमा महिलाहरूले भाग लिने गरेको पाइन्छ।’ यसरी आफ्नो उद्गार पोख्छिन् गोर्खे छोरी दिव्या जसले सारा भारतमै यो खेलमा महिलाहरूले भाग लिनसक्ने सम्भावनाको पहिलो पुल्ठो बाल्ने काम गरेकी छिन्।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

मातृभाषा नेपालीमा पत्रपत्रिका पनि निस्कन्छ भन्ने कुरा थाहा नभएकी ठिटी हुन् उनी। आजसम्म कुनै पनि नेपाली पत्रपत्रिकाले उनीबारे दुइ शब्द लेखेको छैन, न त सामाजिक सञ्जालमै उनको परिचय पढ़ेर कसैले उनलाई भनेजस्तो प्रोत्साहन नै दिएका छन्। अन्य भाषाका समाचारपत्रतिर आफुलाई हौसला प्रदान गर्ने खालका प्रेरणामूलक रचनाहरू पढ़्न पाएर रेसलिङको खेलमा आफ्नो भाग्य जोखिरहेकी दिव्या आले नेपाली बोल्न सक्दिनन्। धेरै दिनदेखि नेपालीभाषी समाजदेखि दूर रहेको परिवार हुनाले उनको घरमा हिन्दीमै बातचित चले तापनि अरूजस्तै नेपाली सिक्ने अनि लट्टे पड्केजस्तो बोल्नसक्ने हुने उनको उत्कट लालसा छ किनभने उनलाई आफ्नो जाति, परम्परा, संस्कृति, भाषा अनि इष्टमित्रहरूप्रति धेरै माया-मोह छ। गोर्खाहरूको हेडक्वार्टर्स दार्जीलिङको नाम मात्रै सुनेकी दिव्यालाई आफ्नो पुर्ख्यौली पहाड़ घुम्ने खुब रहर छ। उनलाई थाहा छ उनीजस्तै अरू पनि गोर्खा चेलीहरू भारतको खेलकुदमा अघि आइरहेका छन्। नेपाली गीतहरू धेरै सुन्ने गरे तापनि चलचित्रहरू भने ऐलेसम्म एउटा मात्र हेरेकी दिव्याले कुनै पनि साहित्यिक पत्रपत्रिका र पुस्तक भने पढ़ेकी छैनन्।

तर उनलाई थाहा छ जातीय चाड़बाड़हरूमा सबैभन्दा ठुलो दसैँ हो अनि यो कसरी मनाइन्छ भन्ने कुरो। उनी भन्छिन्, यो हाम्रो जातिको सबैभन्दा ठुलो चाड़ हो। हामी दसैँको लागि जमरा राख्छौँ अनि विजय दशमीका दिन परिवारका सबैभन्दा वरिष्ठ व्यक्तिको हातबाट हामी सानाहरूले निधारमा चामलको टिका अनि कपाल वा कानमा जमरा खिलेर आशिर्बाद थाप्छौँ। यो दिन हामीलाई ठुलाहरूले नयाँ लुगाफाटा र पैसा पनि दिन्छन्। धेरैअघि जब मेरा बाजे बित्नुभएको थिएन त्यतिखेर दसैँमा खसी काटेर कूलदेवी पुज्ने गर्थे अनि हामी आफन्तहरूकहाँ कोसेलीको रुपमा मासु, लुगाफाटा, साल अनि जाँड़ लिएर जान्थ्यौँ।
नर्दर्न कोलफिल्ड लिमिटेड, झिङ्गुरदर परियोजनामा सिनियर फोरमेनका रुपमा सेवारत पिता – अशोक कुमार अनि माता कृष्णा गुरुङका तीन छोरीछोरीहरूमा माइलीकी रुपमा दिव्याको जन्म 6 अप्रेल, 1993 -मा सिङ्ग्रौली, मध्य प्रदेशमा भएको हो। उनीबारे प्राप्त छोटकरीमा अन्य जानकारी यस्तो छ – राष्ट्रियता – भारतीय। जाति – गोर्खा। भाषा – नेपाली। धर्म – हिन्दू। उचाइँ – 5 फिट 7 इन्च। वजन – 66 किलो। राशि – कन्या। रुची – नाच्नु, गाउनु, चित्र बनाउनु, पौड़ी खेल्नु, घुम्नु अनि सौदापात गर्नु। प्रिय गायकहरू – सान, गुरू रन्धवा, एनरिक, रिहाना, कार्डी बी। ठेगाना – T1/1, NCL Colony, Jhingurda, Singrauli – District, Madhya Pradesh – 486889.

प्राइमेरीदेखि बाह्रौँ श्रेणीसम्म उनले क्राइस्ट ज्योति स्कुल, मोरवा अध्ययन गरेपछि बी.कम. -को शिक्षा माता गजुरीदेवी महाविद्यालय, जबलपुरबाट पुरा गरेकी हुन्। त्यसपछि उनले एडभांस डिप्लोमा इन इन्टेरियर डिजाइनिङको कोर्स पनि पुरा गरिन्। तर हामीलाई अचम्म लाग्छ जब थाहा पाउँछौँ शारीरिक हृष्टपुष्टता र हिंसात्मक देखिइने तकनिक र मुढ़ेबलको पौँठोजोरी खेल रेसलिङमा यति धेरै अभिरुची राख्ने दिव्या अर्कोतिर कोमल हृदयकी धनी पनि हुन् भन्ने कुरा। रेसलिङजस्तो खेल खेल्ने कठोर हृदयी दिव्या तर अर्कोतिर कोमल मनकी कलाकार पनि हुन्। उनी भारतीय शास्त्रीय नाचकी नामुद कलाकार हुन्। कलेज सिध्याएपछि मुम्बई आएर भारतनाट्यममा स्नातकीय अध्ययन सुरू गरेकी दिव्या एक सुदक्ष भारतनाट्यम र कत्थक नृत्याङ्गना पनि हुन्। यति मात्रै होइन दिव्याले बेली, कन्टेम्पोरेरी अनि सालसाको पनि सैद्धान्तिक तालिम लिएर आफ्नो नृत्यप्रतिभा प्रदर्शनी ब्रिटेनमा पनि गरेकी छिन्।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले

बहुप्रतिभाकी धनी दिव्या आलेको व्यवसाय प्रो-रेसलर हो। पूर्व डब्ल्यूडब्ल्यूई विश्व च्याम्पियन ग्रेट खली वा दलिप सिँहको अगुवाईमा जून 2017 -देखि प्रोफेसनल रेसलिङमा तालिम ग्रहण गरेकी दिव्या दुइपल्ट दिवास च्याम्पियन बनेकी छिन्। पहिलो च्याम्पियनसिप जितेको घटना माथि नै उल्लेख भइसकेको छ जुन खेलम उनलाई आफ्ना गुरु ग्रेट खलीले खुबै मिहिनेत गरेर विशेष तालिम प्रदान गरेका थिए। त्यसपछि उनले यो खेलामा दोस्रोपल्ट भाग लिँदा त अझ हुनसम्म भएको थियो। उनकी प्रतिद्वन्द्वीलाई दिव्याले 18 सेकेन्डमै मैदानबाट बाहिर गरिदिएर एउटा अनौठो रेकर्डको स्थापना गरेकी थिइन्ले। त्यसपछि दिव्यालाई 2019 -मा भारतबाट डब्ल्यूडब्ल्यूई -को लागि अभ्यासमा मनोनीत गरिएको थियो। यद्यपि उनले यसमा भाग लिने मौका भने पाइनन्।
यो खेल कति कठिन छ भन्ने प्रश्न गर्दा दिव्या भन्छिन्, ‘साँच्चि नै धेरै सारो छ अनि जोखिमपूर्ण पनि। कुनै पनि समय चोट लाग्नसक्छ। सानु गलत दाउले पनि आफ्नो सम्पूर्ण करियर बर्बाद हुनसक्छ। यो खेलको अवधिमा हात, खुट्टा, पिठ्युँ, घाँटी आदितिर चोट लाग्ने सम्भावना बेसी हुन्छ। रेसलिङको रिङभित्र प्रवेश पाउनलाई धेरै मिहिनेत गर्नुपर्छ जो सानु गलत दाउको कारण समाप्त भएर जानसक्छ। यसैले होसियारीसित खेल्नुपर्ने कठिन खेल हो यो।’
दिनमा 6 -पल्ट खाना खाने दिव्या भन्छिन्, ‘मेरो आहारमा अन्डा, पनिर वा कुख्राको मासु एकसाथ हुनुपर्छ। यो खेलमा खानपिन नै सबैभन्दा महत्त्वपूर्ण कुरो हो।’ व्यवसायको सिलसिलामा अहिलेसम्म विदेशको भ्रमण नगरे तापनि दिव्याले तर भविष्यमा आफ्नो देश भारतलाई प्रतिनिधित्व गर्दै महिला रेसलिङमा जितेर आउने सपना देखेकी छिन्। यद्यपि उनले विदेशी महिला रेसलरहरूसित कुस्ती भने धेरैपल्ट लड़ेकी छिन्। यति मात्रै होइन उनी इन्टरजेन्डर कुस्ती पनि लड़्छिन् अथवा उनी पुरुषहरूसित पनि बराबरी कुस्ती लड़्ने योद्धा हुन्। उनले अहिलेसम्म 16 -वटा अन्तरलिङ्गीय खेल प्रतिस्पर्द्धामा भाग लिएर 13 -वटामा विजय प्राप्त गरी रेकर्ड कायम गरेकी छिन् भने उनलाई अन्तरलिङ्गीय रेसलिङको एक प्रसिद्ध खेलाड़ीको रुपमा चिनिन्छ।
गोर्खा समाजबाट महिलाहरू यस क्षेत्रमा नरहेको बताउँदै नेपालमा भने हालमा केही युवतीहरू अघि सरेर आएको बताउँछिन् दिव्या। तर नेपालमा उचित मार्गदर्शनको कमी रहेको कारण त्यहाँका युवतीहरूले यो क्षेत्रमा उन्नति गर्न नसकिरहेको पनि उनी जनाउँछिन्।
दिव्या आले आफ्ना युवा महिलाहरूलाई भन्छिन् – ‘म चाहन्छु हाम्रा युवाहरू यो खेलमा अग्रसर भएर आऊन्। प्रतिभाशाली युवाहरूको हाम्रो समाजमा कमी छैन। उनीहरूले यो खेललाई आफ्नो जीविकाको साधन पनि बनाउन सक्छन्। उनीहरूले आफ्नो नाउँ, ख्याति, ऐश्वर्य, सम्मान अनि गौरव कायम गर्नसक्छन्। खेलमा आएर अनि हामीमा देशलाई प्रतिनिधित्व गर्नसक्ने सक्षमता हुनाले यसमा चारैतिरबाट हामीले सहयोग पाउनसक्नेछौँ।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले
‘निकट भविष्यमा म मेरो देश भारतलाई प्रो-रेसलिङको क्षेत्रमा विश्व स्तरमा प्रतिनिधित्व गर्न चाहन्छु मात्रै होइन त्यसमा जितेर आउन चाहन्छु। अनि एउटा प्रो-रेसलिङ अकादमी सुरू गरेर यो खेलमा नयाँनयाँ प्रतिभाहरूलाई अघि ल्याउन चाहन्छु।’
भारतमा महिलाहरूमाथि हुने हिंसा अनि अत्याचारका घटनाहरूले आफुलाई विक्षिप्त बनाउने बताउँदै दिव्या भन्छिन्, जुन देशमा माता दुर्गाको पुजा गरिन्छ, जुन देशमा भारत माता की जय को नारा लगाइन्छ अथवा देशलाई माताको रुपमामा हेरिन्छ त्यही देशमा नारीहरूमाथि यस्तो बर्बरतापूर्ण कुकृत्य हुने गर्दा सारै दुक्ख लागेर आउँछ। यसमा पीड़ितको कुनै गल्ती छैन तर म भन्छु भारतका हरेक नारीले स्वसुरक्षाका लागि आत्मरक्षाको तालिम लिन जरुरी छ। यस्ता प्रशिक्षणहरूबाट हामीलाई आँट, साहल, बल आउने गर्दछ। त्यसैको आढ़मा हामी यस्ता दुष्कृतिहरूसित जुझ्न अनि यिनीहरूलाई समाजदेखि निमिट्यान्नै पार्न सक्षम बन्नेछौँ।
मलाई मेरा स्वर्गीय बाजेले भन्नुहुन्थ्यो गोर्खा एउटा ईश्वरीय देन प्राप्त जाति हो। खेलकुद, प्रतिभा अनि परिश्रम हाम्रो परिचय हो। मूल समस्या के हो भने हामीले सही मञ्च र मार्गदर्शन पाएका छैनौँ। हामी धेरै मात्रामा सेनामा छौँ। हाम्रो परिचय नै सैनिक जाति भन्ने बसिसकेको छ। देशको सुरक्षाको खातिर यो खुबै ठुलो उपलब्धि हो हाम्रो तरै पनि हामीले अन्य क्षेत्रमा पनि आफ्नो परिचय दिने काम गर्नुपर्छ जो अब सुरू हुन थालेको छ। हामी देशको हरेक क्षेत्रमा अघि आउन थालेका छौँ।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले
अहिले घरबन्दीको समय सरकारी अनुदेशअनुरुप सामाजिक दूरी पालन गर्दै अकादमीका जुनियर महिलाहरूलाई अतिरिक्त तालिम दिने, योगा सिकाउने काम गरिरहेकी छिन् दिव्या। कोबिड-19 लाई देस्रो विश्वयुद्धको रुपमा हेर्ने दिव्यालाई यो महामारी पूर्वनियोजित हो भन्ने लाग्छ। आर्थिक स्तर घटेर गइरहेछ, सबैजना मरिरहेका छन्, गरिब त झन् भोकले मर्दैछ। सायद धेरैवटा कोरोनाका मामिलाहरू अझै पनि लुकेर रहेका छन्। तर यसलाई हामीले जित्न सक्छौँ। हामीले यतिखेर जात, धर्म, जाति, देश सबै भुलेर मानवतालाई प्राथमिकता दिनुपर्नेछ। हामीले एक भएर लड़्यौँ भने यो महामारीको हार हुनेछ। कोरोनापछि पनि हामीले तर सामाजिक दूरीलाई भने कायम राखेरै काम गर्नुपर्नेछ। हामीले साथमा मास्क र सेनिटाइजर लिएरै हिँड़्नुपर्नेछ अनि आर्थिक हालतलाई पुनः फर्काएर ल्याउने चुनौतीमा सबै लाग्नुपर्नेछ। हामीले हात मिलाउनको साटो नमस्ते गर्ने परम्परालाई पुनः बिरासत बनाउनुपर्नेछ। हामी अवश्यै जित्नेछौँ। उसै पनि प्रत्येक अँधेरोलाई पछ्याउँदै उजेलो आउँछ नै।।

रेसलिङको मैदानमा गोर्खे बघिनी दिव्या आले


Please Like and Share our website Samay Dainik
  • 28
    Shares

Related posts

Leave a Comment