सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुन्छ : एसडीएफ

सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुन्छ : एसडीएफ
Please Like and Share our website Samay Dainik

गान्तोक, 15 जून।
सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)ले सिक्किमको वर्तमान एसकेएम सरकारले राज्यको कानुन र देशको शुरक्षा गर्न नसकेको अनि कोविड-19को समहामारीमा आइपरेको आर्थिक सङ्कटबाट सिक्किमलाई राहत दिन नसकेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्ने संवेदनशील राज्य सिक्किमको अस्तित्व बचाउन अब राज्यपालले संविधानको धारा 371 एफको उपधारा जी अन्तर्गत रहेको विशेष अधिकारको प्रयोग गर्दै राज्यपालले सिक्किममा झट्टभन्दा झट्ट संविधानको धारा 356 लागू गर्नुपर्ने माग गरेको छ।
एसडीएफका प्रमुख प्रवक्ता एमके सुब्बाले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन आयोजन गरेर सिक्किमममा सत्ता सम्हालेपछि एसकेएम सरकारले लगाताररूपमा हिंसालाई प्रोत्साहन दिइरहेको आरोप पनि लगाएका छन्। सुब्बाले गत 12 जूनको दिन एसडीएफ पार्टीका प्रवक्ता जेबी दर्नालमाथि भएको प्राण घातक आक्रमण यसको ज्वलन्त उदाहरण रहेको पनि बताए। यद्यपि, अहिलेसम्म पनि आरोपीहरू खुल्लारूपमा हिँड़िरहेको अनि प्रशासनबाट कुनै कार्वाही नहुनु भनेको राज्यबाट कानुन आदेशको नाम निशान मेटिनु हो भन्ने स्पष्ट गराएका छन्। अब सिक्किम र प्रजातन्त्रको सुरक्षाको निम्ति राष्ट्रपति शासन लागाउनबाहेक अर्को विकल्प नरहेको पनि सुब्बाले ठोकुवा गरेका छन्।

यसैगरी राज्यमा महामारीले ल्याएको आर्थिक महामारीलाई वित्तीय पुनर्जागरण नभएर बाँच्नको निम्ति बित्तीय सहयोग वितरण हुनुपर्ने अनि यस कुरामा सरकार अहिलेसम्म पूर्णरूपमा असफल भएको हुनाले कानुन आदेश सँगसँगै आर्थिक अवस्था पनि खस्किएको बताएका छन्। यसैकारण अब चाँड़ै एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यपालसित भेटेर यसबारे ज्ञापन पत्र चढ़ाउने जानकारी पनि गराए।
एमके सुब्बाले प्रवक्ता जेबी दर्नालमाथि दिउँसै प्राणघाक आक्रमण भएर अहिले अस्पतालमा उपचाराधीन रहेको 72 घण्टा बितिसक्दा पनि आरोपीलाई पक्राउ र कार्वाही गर्न नसक्नुले कानुन आदेशको राज सकिएको भन्ने बुझाउने प्रवक्ता सुब्बाले बताए। सुब्बाले भनेका छन्, आरोपी पक्राउ गर्नको साटो अहिले पुलिसले पार्टीको क्याडरजस्तो अस्पतालमा उपचाराधीन जेबी दर्नाललाई भेट्न आउनेहरूको चियो चर्चा गरिरहेको छ। तर, आगामी 20 जूनसम्म हामीले दर्ता गरेको प्राथमिकीको आधारमा कार्वाही गर्दै आरोपीलाई पक्राउ गरिनुपर्ने बताएका छन्। यसो नभएको खण्डमा जनता सुरक्षा र कानुन आदेशको रक्षाको निम्ति पार्टीले कड़ा कदम उठाउने बताएका छन्।

उनले सिक्किमका सबै प्रजातन्त्रप्रेमी आम जनता विभिन्न राजनीतिक दल सबै अब एकजुट भएर राज्यमा भइरहेको हिंसात्मक गतिविधि र अस्थिरतालाई रोक्न एकबद्ध भएर अघि आउने आह्वान गर्दै एसडीएफ पार्टीले अब चाँड़ै राजनीतिक दलहरूसित कुराकानी गर्ने बताए। उनले राज्यमा असामाजिक तत्वहरू, अपह्रादीहरू स्वतन्त्र घुमिरहेको अनि जेबी दर्नाललाई प्राण घातक आक्रमण गर्नु पहिलो घटना नभएर राष्ट्रिय झण्डामुनी रहेको सत्तारूढ़ दलको मन्त्रीमाथि कुटपीट हुनु, उपचुनाउको समय पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि आक्रमण गरिनु साथै वर्तमान एक मन्त्री सञ्जित खरेल स्वयंले दुई महिनाभित्र पवन चामलिङलाई सक्ने सार्वजनिक घोषणा गर्नु सबै सुनियोजित ढङ्गमा भइरहेको छ भन्दै प्रवक्ता दर्नाललाई आक्रमण गर्नुभन्दा अघि 9 जूनको दिन नै एसकेएमका कार्यकर्ता प्रभास लिम्बूले सामाजिक सञ्जालमा दर्नालमाथि आक्रमण गर्ने घोषणै गरिसकेको कुरा थाहा पाएर पनि पुलिसले कार्वाही नगर्नु पुलिस प्रशासन राज्यमा पूर्णरूपमा फेल भएको ठोकुवा गरे।

यसैगरी महामारीको समय चारसय जनाभन्दा अधिक सरकारी कर्मचारीहरूलाई राजनीतिक दवाबमा स्थानान्तरण गरेर आइसीएमआर र केन्द्र सरकारको आदेशलाई पनि उल्लङ्घन गरिएको आरोप लगाए। उनले सिक्किममा कोविड-19 सङ्क्रमितहरूको सङ्ख्या बढ्नु सरकारको अदूरदर्शीताका कारण हो भन्ने आरोप पनि लगाए। उनले राज्यमा आउने विभिन्न जोनका राज्यवासीलाई जोन छुट्याएर नराख्नु, फर्की आउने पञ्जीकरणमा कोविड-19को स्थितिबारे घोषणा नगराउनु र ट्रूनेट मशिन राखेर आउनेजति सबैलाई मल्ली र रम्फू चेकपोष्टमा जाँच नगरी सबैलाई मिसाएर राख्दा खतरा बढ़ेेको अनि अहिले आएर सरकार यस क्षेत्रमा पनि पूर्णरूपमा असफल भएको बताए। अर्कोतिर सरकारले आर्थिक राहतको निम्ति केन्द्र सरकारले बुझाउनु भनेको 15 मई सम्मको म्यादमा पनि आर्थिक प्याकेजबारे कुनै रिपोर्ट प्रस्तुत नगर्नु राज्य सरकारको कोविड-19 बारे असफलता हो भनी आरोप लगाए। यी सबै कुरालाई ध्यानमा राखेर राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुनेछ भन्दै तुरन्तै राष्ट्रपति शासनको माग गरे।

सिक्किमको कानुन र आदेश अनि आर्थिक अवस्था सकिएकोले अब राष्ट्रपति शासनले मात्र सिक्किमको सुरक्षा हुन्छ : एसडीएफ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment