पीपीएस भनेको गोर्खाल्याण्ड होइन

पीपीएस भनेको गोर्खाल्याण्ड होइन
Please Like and Share our website Samay Dainik

पीपीएस (स्थायी राजनैतिक समाधान) भनेको गोर्खाल्याण्ड होइन। दार्जीलिङका सांसद राजु विष्टले यसो नभने पनि उनकै पार्टीकी एक वरिष्ठ सदस्या एवं सांसद लकेट च्याटर्जीले यो कुरा सिलगढ़ीमा नै आएर सबैले बुझ्ने गरी स्पष्ट शब्दमा भनेकी छन्। लकेट च्याटर्जीले भनेकी छन्-दार्जीलिङ पहाड़ बंगालको मुकुट हो, यो कहिले पनि बंगालबाट अलग हुन सक्तैन। यसैले स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड पटक्कै होइन। यसरी नै भारतीय जनता पार्टीका राज्य कमिटी महासचिव सयान्तन बसुले पनि लकेट च्याटर्जीकै कुरामा बल दिंदै आफ्नो पार्टीले दार्जीलिङ पहाड़को लागि 2019-को चुनावी घोषणा पत्रको आधारमा गम्भीरतासित काम गरिरहेको बताए पनि गोर्खाल्याण्ड गठनको कुरामा उनले पनि सोझै नहुने नै बताए। उनले पनि भने-बंगाल कदापि विभाजन हुनेछैन। यसपछि अब स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड नै हो भन्ने दार्जीलिङ पहाड़का भाजपाका घटक दलहरू क्रमैले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा आदिले के भने आफ्ना गोर्खाल्याण्डप्रेमी समर्थकहरूलाई सम्झाउने? गत लोकसभा चुनाउमा दार्जीलिङ पहाड़का जनताले गोर्खाल्याण्डकै लागि भारी मत दिएर राजु विष्टलाई सांसद बनाएर पठाएका हुन्, यो कसैले पनि नकार्न सक्तैन।

यसैले गोर्खाल्याण्डको सम्बन्धमा कुनै प्रश्न अघि आउँदा दार्जीलिङका सांसद विष्ट पन्सिहाल्छन्। गोर्खाल्याण्डको विरोधमा पार्टीको टेक के छ, त्यो उनले अहिलेसम्म पनि जनताअघि स्पष्ट पार्ने प्रयास गरेका छैनन्। गोर्खाल्याण्डबारे पार्टीको के अड़ान छ, त्यो स्पष्ट बताए, जनता विरोधमा जानसक्ने डरले नै हुनसक्छ, उनले अहिलेसम्म पनि यसबारे कुनै कुरा स्पष्ट बताउन चाहेका छैनन्। तर उनी सिलगढ़ी आएकै समय सिलगढ़ीमा नै आएर आफ्नै पार्टीका शीर्ष पदाधिकारी बसु साथै सांसद लकेट च्याटर्जीले गोर्खाल्याण्ड हुँदैन भनिदिएपछि उनको काम पनि सजिलो भएको ठान्छन् पहाड़का धेरै राजनैतिक विष्लेशकहरू। किनभने, सांसद विष्टले पहाड़का गोर्खाल्याण्डप्रेमी जनताअघि भन्नुपर्ने सत्य कुरा अब उनकै मुखले भनिरहन पर्नेछैन। तर अब विधानसभा चुनाउको ठीकअघि भाजपा सांसदले स्पष्ट शब्दमा स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड होइन भनेपछि दार्जीलिङ पहाड़का भाजपाका घटक दलहरूलाई चुनाउ प्रचारको समय निकै चर्को पर्ने स्थिति देखा पर्न थालेको छ। अब चुनाउ प्रचारको समय गोरामुमो, विमल गुरूङपन्थी गोजमुमो, क्रामाकपा आदि पार्टीले जनताअघि कुन मुख लिएर प्रचार गर्ने? अहिलेसम्म त जनतालाई स्थायी राजनैतिक समाधान भनेको गोर्खाल्याण्ड नै हो भनिरहेका थिए यी पार्टीहरूले। तर राज्यका शीर्ष भाजपा नेता साथै सांसदले गोर्खाल्याण्ड हुँदैन भन्ने बयान दिएपछि सांसद राजु विष्टले पनि चुप लागेर बस्नु नै उचित सम्झिरहेका छन्। यसको ठीक अर्कोतिर विपक्षी पार्टीहरूले भाजपा नेताहरूको यसप्रकारको बयानबाजी विरूद्ध कटाक्ष प्रहार गर्ने गतिलो मौका पाएका छन्।

तरै पनि भाजपा नेतृत्वहरूले शीघ्रै लकेट च्याटर्जी र सयान्तन बसुको बयानलाई ढाकछोप गर्न अन्य कुनै विकल्प अप्नाउन सक्ने पनि प्रबल सम्भावना छ। किनभने, भाजपाले आगामी विधानसभा चुनाउमा समतलका 291 वटा विधानसभा आसनसँगै पहाड़का तीनवटा आसनलाई पनि धेरै महत्व दिने स्पष्ट छ। यद्यपि, पहाड़का तीनवटा आसनमा भाजपाले पहाड़कै आफ्ना साथी पार्टीहरूलाई सहयोग गर्ने सम्भावना रहे पनि पार्टी बिस्तारको क्रमले अर्कै संकेत पनि पाइँदैछ। कतै भाजपाले आगामी विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का तीनवटा आसनमा पनि आफ्नै उम्मेद्वार त खड़ा गर्दैन? भन्ने प्रश्न पनि दह्रिलोसित खड़ा भइरहेको छ। तरै पनि भाजपालाई दार्जीलिङ पहाड़मा क्षेत्रीय पार्टीहरूको सहयोगबिना एउटै पनि आसन जित्न महामुश्किल छ भन्ने पनि राम्रोसित थाह छ। तर पहाड़का विभिन्न राजनैतिक पार्टीहरूलाई छिन्न-भिन्न बनाएर लाभ उठाउन पनि भाजपा खप्पिस छ। यसैले राजनीतिमा कुनै पनि कुरा असम्भव छैन भन्ने कुरा आगामी केही दिनपछि नै स्पष्ट हुनेछ।

पीपीएस भनेको गोर्खाल्याण्ड होइन


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment