चुप तेरो बाउले सुन्छ !

चुप तेरो बाउले सुन्छ !
Please Like and Share our website Samay Dainik

-नीलम गुरुङ

हाम्रो स्वतन्त्रताको अस्तित्व
सिपाहीका रगतले लतपत छन् अझै पनि……
गर्व छ हामीलाई हाम्रो देशको इतिहासको रङ्ग रातो छ।
मायाको प्रस्ताव दिने गुलाबदेखि
सिउँदोमा त्यै मायाको हस्ताक्षर गर्ने सिन्दुर र
बेहुलीको चुराको रङ्ग सबै एउटै……… रातो।

तर… खुशीयाली ल्याउने यो रातो रङ्गको
कालो पक्ष भने ऊ पर तिम्री आमा, श्रीमती
र छोरीको तल्लो भुँड़ीमा छ।
हरेक महिना त्यहाँ
अन्धविश्वासको तर्कहीन भेल बहन्छ
र बन्द हुन्छ पूजा कोठाको ढोका
र ब्राह्मणी पनि अछुत बन्छे।

 

छोरीको भाग्य चुलामा लेखिएको हुन्छ
भन्नेहरूले नै यतिबेला बर्खास्त
गरिदिन्छ त्यहाँबाट उसलाई
र उसले छोएको पानी
उसको आफ्नै बाउले पनि पिउँदैनन्।

आमाले बोतलको अच्चार जोगाउँछिन्,
बारीको फूल नछुने निर्देश दिन्छिन्
स्कूल जान त परको कुरा,
खेलको मैदान पनि नटेक्ने आदेश सुनाउँछिन्।

महिनावारी भएको बेलाको कुरा हो यो
हरेक महिना बहने र सबै स्त्रीले सहने
रातो रगतको कालो सत्य हो यो।

सेतो लुगामा लागेको त्यसका धब्बाहरू छोप्न
र आफूलाई अघि बढ्नबाट रोक्न
समाजले दिएको नाजायज बहाना हो यो।

रगतसँगै बगेको मासुका गाँठोले
भरिएको थाङ्ना फ्याँक्न,
घरदेखि पर त्यो खोल्सामा
मान्छेको मानसिकता सँगै कट्टाएको
कालो प्लास्टिकभित्रको रहस्य हो यो।

महिनावारी भएको बेलाको कुरा हो यो।
छोरीलाई अपवित्र ठहऱ्याउने,
पढ़ेका तर कहिले अघि नबढ़ेका
बाङ्गो समाजको नाङ्गो स्वाङ हो यो।

बरु हामीभन्दा पशु परै ज्ञानी
रगतको यथार्थ एकाबिहानै
छरपस्ट आँगनमा ल्याइदिन्छ
र हेर्न बाध्य बन्छन् हिज टीभीमा विज्ञापन आउँदा
टाउको घुमाउने दाजु-भाइ पनि।

हजारौं प्रश्नको घेरामा अघिबाटै
डेरा हालेर बसेकी आमालाई,
छोरीले गरेकी प्रश्न ‘किन?’ -हरूको
उत्तर ‘चुप! तेरो बाउले सुन्छ’ नै हुन्छ।
र फेरि रगतले भरिएको अर्को
थाङ्ना कालो प्लास्टिकभित्र
खोल्सामा घुइँक्याइन्छ।

चुप तेरो बाउले सुन्छ !


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment