कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र
Please Like and Share our website Samay Dainik
  • 7
    Shares

प्रिय कोभिड-19 अग्रपङ्क्तिका योद्धाहरू,

सृष्टिका जम्मै प्राणीहरूमा मानव आफ्ना समस्त योग्यता अनि विशेषाधिकारहरूको कारण अत्यन्त भाग्यवान प्राणी हो। मानवले उपभोग गरेसरह विशेष अग्राधिकार यो पृथ्वीमा कुनै पनि प्राणीले उपभोग गर्नसकेको छैन अनि त्यस अर्थमा हामीले सृष्टिको केन्द्रीय अवस्थान हासिल गर्ने सौभाग्य प्राप्त गरेका छौं। यो सत्यलाई स्वीकार्ने प्रत्येक मानव उनै सृष्टिकर्ता ईश्वरप्रति कृतज्ञ छन्।

हामीले यसैकारण जीवनलाई सृष्टिको त्यो मूल्यवान आशिर्वादको रूपमा महत्व दिन्छौं, जुन अरू कसैसित तुलना हुनसक्दैन। वर्तमानमा, यो अमूल्य मानवजीवनले प्राणघातक कोरोना भाइरसको सामना गर्नपरिरहेको छ। मानवजातिले आज लाखौं यसका शिकारहरूको मृत्यु शोक मनाइरहेको छ। यसको गहिरो आतङ्कले सारा संसारलाई ग्रास गरेको छ।

यस आतङ्कले जर्जरित संसारमा तपाईंहरूले घरबाहिर निस्कने अनि हामीलाई यस प्राणघातक कोरोना भाइरसको चपेटबाट बचाउन आफ्नो जीवनलाई जोखिममा हाल्ने आह्वानलाई आत्मसात गर्ने साहस प्रदर्शन गर्नुभएको छ। म तपाईंहरूले देखाउनुभएको योभन्दा ठूलो महानता र सुन्दरताको कल्पनै गर्नसक्दिनँ। जब म तपाईंहरूलाई यस युद्धको अघिल्लो पङ्क्तिमा उभिएको देख्छु, गहिरो कृतज्ञता र उच्च सम्मानभावले मेरो शिर तपाईंहरूसामु निहुरिन्छ। म तपाईंहरूप्रति हार्दिक प्रेम र दयार्द्रताले भरिन्छु। तपाईंहरूले घरमा छोड़ेर आउनुभएका जीवनसङ्गी, नानीहरू, अभिभावक, साइनो-सम्बन्ध तथा नजीकका प्रियजनहरू मेरो मनमा आउँछन्, जससित विदा मागेर निस्कँदा तपाईंहरूलाई थाहा हुन्न कि अघि के हुनसक्छ! तपाईंहरूले रोगीहरूलाई अत्यन्त आवश्यक सेवा-सुश्रुषा दिनुहुन्छ। तपाईंहरू मानव समुदायलाई पहरा दिनुहुन्छ, जनताको सुरक्षा सुनिश्चित गर्नुहुन्छ। हामीलाई भाइरसको आक्रमणबाट सुरक्षित राख्न तपाईंहरू भाइरसको मुखामुखी सामना गर्नुहुन्छ।

यस महामारीसँगको हाम्रो ऐतिहासिक युद्धमा सिक्किमका यी साहसीहृदयहरूसित बस्ने परिवारहरूप्रति आन्तरिक हृदयबाटै म धन्यवाद जनाउनचाहन्छु। तपाईंहरूले पल-प्रतिपल अनुभूति गरिरहेका पीड़ा, दुश्चिन्ता एवं तनाउहरूको थाहा म लिनसक्दिनँ। सिक्किमको सुरक्षा र विजयमा तपाईंहरूका परिवारको योगदानलाई युगौं युगसम्म उच्च प्रशंसासहित सम्मान गरिनेछ भनी म तपाईंहरूलाई बताउनचाहन्छु।

म, हाम्रा गर्विला कोभिड-19 योद्धाहरूको पक्षमा सरकारसमक्ष मेरा निम्न अनुरोधहरू बिसाउनचाहन्छु :-

1. सरकारको मौलिक कर्तव्य हो – आफ्ना जनताको जीवन, स्वतन्त्रता अनि सपनाहरूको सुरक्षा सुनिश्चित गर्नु। सरकारको दायित्वभित्र पर्ने यी जम्मै प्रतिबद्धताहरूलाई पूरा गर्न यी योद्धाहरूले ठूलो जोखिम मोलेका छन्। सरकारमा कर्मचारीको रूपमा उनीहरूले सिक्किमका लागि उभिनुपर्ने आवश्यकताको घड़ीमा कर्तव्यसँग कहिल्यै सम्झौता गरेका छैनन्। अतः म सरकारसमक्ष जम्मै कोभिड-19 योद्धाहरूका लागि प्रतिव्यक्ति रु. 1 करोड़को जीवन बीमा गरिदिने घोषणा गर्न अनुरोध गर्दछु।

2. सरकारले अनिवार्य रूपमा प्रत्येक राजपत्रांकित (ग्याजेटेड) कर्मचारीलाई रु. 10 लाख अनि गैर-राजपत्रांकित (नन्-ग्याजेटेड) कर्मचारीलाई रु. 5 लाखको वित्तीय इनाम घोषणा गर्नुपर्नेछ। कोरोनाकालपछिको समयमा उनीहरूको योगदानको आधारमा विभिन्न श्रेणीमा अवार्ड प्रदान गर्नका लागि एउटा साहसिक अवार्डको घोषणा गर्नुपर्नेछ।

3. कोभिड-19 -को ड्युटीमा अग्रपङ्क्तिका योद्धाको रूपमा सहभागी बनेको दिनदेखि लागु हुनेगरी जम्मै एडहक नोकरीलाई विशेष परिघटनाको रूपमा लिदै रेगुलर गरिनुपर्नेछ।

4. कोभिड-19 योद्धाहरू पहिलेको सामान्य परिस्थितिको तुलनामा अहिले अत्यन्त उच्च जोखिमपूर्ण परिस्थितिमा काम गरिरहेका छन्। उनीहरूको ड्युटीको कालको वेतन दोब्बर गरिनुपर्नेछ।

5. कोभिड-19 योद्धाहरूलाई प्रोत्साहनको रूपमा विशेष रूपले पदोन्नत गरिनुपर्नेछ। पदोन्नतिका लागि कोभिड-19 -को ड्युटीलाई विशेष मेरिट्को रूपमा लिइनुपर्नेछ।

हाम्रा गर्विला सिक्किमेली छोरा-छोरीहरूलाई सम्मान गर्नका लागि सरकारले गर्नसक्ने यी न्युनतम कामहरू हुन्। म विश्वस्त छु, प्रत्येक कोभिड-19 योद्धालाई पीपीई वितरण गरिसकिएको छ।

म यस युद्धमा सिक्किम सरकारलाई पूर्ण समर्थन र सहयोगको हात बढ़ाउँदछु। मानवजीवनको सुरक्षा सर्वोपरी छ अनि मेरो योगदानको रूपमा मबाट अपेक्षा गरिएका जम्मै सहयोगहरू दिन म तयार रहेको छु। म सिक्किमेली जनता अनि सिक्किम सरकारसित पूर्ण हार्दिकतासहित खड़ा छु।

म सर्वशक्तिमान परमेश्वरसित तपाईंहरूको सुरक्षा र साहसको निम्ति प्रार्थना गर्दछु। तपाईंहरू सुरक्षित हुनुहोस् अनि कोरोनाकालपछि तपाईंहरू विजयी बनेर आउनुहोस्।

उच्च सम्मान अनि न्यानो स्नेहसहित।

पवन चामलिङ

कोरोनाविरुद्ध सङ्घर्षरत हाम्रा अग्रिमपंक्तिका योद्धाहरूलाई एउटा पत्र


Please Like and Share our website Samay Dainik
  • 7
    Shares

Related posts

Leave a Comment