अलपत्र परेका बिरामी र विद्यार्थीहरूको निम्ति पर्याप्त कदम उठाउनुपर्ने सुझाउ 

अलपत्र परेका बिरामी र विद्यार्थीहरूको निम्ति पर्याप्त कदम उठाउनुपर्ने सुझाउ 
Please Like and Share our website Samay Dainik

गान्तोक, 15 अप्रेल (हिस)। कोरोना भाइरस (कोविड-19) को प्रकोपलाई रोकथाम गर्न संघर्षरत राष्ट्र अनि सिक्किम राज्यमा विगत 21 दिनको राष्ट्रव्यापी लकडाउन सफलतापूर्वक समापन भएपछि आजबाट दोस्रो चरणको लकडाउन शुरू भएको छ। हिजो केन्द्र तथा राज्य सरकारले एक स्वरमा लकडाउनलाई विस्तार गर्ने घोषणा गरेपछि देशवासी पुनः 19 दिनको लकडाउनमा रहेको राज्य भाजपा अध्यक्ष डीबी चौहानले प्रेस विज्ञप्तिमा बताएका छन्।
उनले विगत 21 दिनको राष्ट्रव्यापी लकडाउन भारतको निम्ति केही अपवादहरू छोड़ेर सफल सावित भएको छ भने यता सिक्किम राज्य अहिले देशकै एकमात्र कोरोना संक्रमणमुक्त राज्य रहेको छ, जसको निम्ति केन्द्र तथा राज्य सरकार साथै यसको रोकथामको निम्ति रात-दिन खट्ने अग्रपंक्तिका योद्धाहरू बधाईका पात्र रहेको बताएका छन्। उनले भनेका छन्, ‘लगातार 40 दिनको लकडाउन अवधि देश तथा राज्यले ठूलो आर्थिक नोक्सानी खपेर देशवासीको ज्यान बचाउने कुरालाई प्राथमिकता दिएको छ। यस अवधि गरीब तथा मजदूरवर्गलाई कुनै आपद् आइनपरोस् भनेर केन्द्र तथा राज्य सरकारले राहत प्याकेजहरू घोषणा गरेर लाभार्थीहरूसम्म पुऱ्याउने काम गरेको छ। सिक्किममा पनि राज्य सरकारले युद्धस्तरमा राहत सामग्रीहरू लाभार्थीहरूलाई प्रदान गरिरहेको छ।’
यद्यपि, लकडाउनको अवधि अझ 19 दिन अघि बढ्दा राज्यका स-साना व्यवसायिक प्रतिष्ठानहरूमा कार्यरत अस्थायी कर्मचारीहरू, तल्लो मध्यमवर्ग, निजी कम्पनीहरूमा कार्यरत कर्मचारीहरू आदिलाई पनि लाभार्थीहरूको सूचीमा सामेल गरेर राहत सामग्री प्रदान गर्न आवश्यक देखिएको प्रदेश भाजपाले राज्य सरकारलाई सुझाउ दिएको छ। यसैगरी, राज्यबाहिर अलपत्र परेका सिक्किमवासीहरूलाई सहयोगको निम्ति राज्य सरकारले उठाएका कदमहरू पर्याप्त नदेखिएकोले यसलाई अझ व्यापकता दिनुपर्ने पनि उनले राज्य सरकारलाई सुझाउ दिएका छन्। ‘विशेषगरी विद्यार्थी तथा स्वास्थ्य उपचार गर्न राज्य बाहिर रहेका सिक्किमवासीहरूले राज्य सरकारबाट ठूलो आशा राखेका छन्।
प्रदेश भाजपाले पनि पार्टीको विभिन्न राज्यका नेतृत्वहरूसित समन्वय राखेर उनीहरूको समस्यालाई सम्बोधन गर्ने हरसम्भव प्रयास गरिरहेको छ अनि विभिन्न माध्यमबाट सहयोग पनि पुऱ्याइरहेको छ’- चौहानले भनेका छन्। यसैगरी राज्यमा यस संकटकालीन समयमा सबै कुरामा सरकारमाथि मात्र भर नपरेर स्थानीय स्तरमा विशेष गरेर सरकारी कर्मचारी तथा व्यवसायीहरूले पनि गरीब परिवारहरूको आवश्यकतालाई निगरानी राखेर सहयोगको हात बढ़ाउन अति आवश्यक रहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘यो समय कोही पनि भोको नरहोस् भन्ने अभियानलाई व्यापकता दिनु सबैभन्दा ठूलो धर्म हो।’ उनले सम्पूर्ण सिक्किमवासी समक्ष यस विपदको घड़ीमा एक-अर्काको सहयोग गर्ने अनि सिक्किमलाई कोविड-19 को प्रकोपबाट अक्षुण्ण राख्न केन्द्र तथा राज्य सरकारद्वारा जारी निर्देशनहरूलाई कड़ाईका साथ पालन गर्ने आह्वान गरेका छन्।

अलपत्र परेका बिरामी र विद्यार्थीहरूको निम्ति पर्याप्त कदम उठाउनुपर्ने सुझाउ 


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment