मूल्यको राजनीति अनि एसडीएफ

मूल्यको राजनीति अनि एसडीएफ
Please Like and Share our website Samay Dainik

पवन चामलिङ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) -का संस्थापक अध्यक्ष हुन् अनि अद्यावधिक उनी एसडीएफ पार्टीका अध्यक्ष नै हुन्। एसडीएफ पार्टीको आधारभूत दर्शन, सिद्धान्त, नीति, कार्यक्रम पवन चामलिङले नै तर्जुमा गरेका हुन्। जतिखेर उनी राजनीतिमा आए, उनीसित आफूले देखेको सपनाअनुरूप भावी सिक्किमको स्पष्ट नक्शा थियो। उनी सङ्ग्राम परिषद् पार्टी र सरकारमा हुँदा पनि उनले त्यो मञ्चलाई सिक्किमको नवनिर्माण गर्ने आफ्नो सपनाअनुरूप नै साधनको सपना प्रयोग गरे। सन् 1985 सालमा दक्षिण सिक्किमको दामथाङ विधानसभा समष्टिबाट विधायक चुनिएपछि उनले आफ्नो समष्टि तथा जनताको विकासको निम्ति जुन कार्यशैली लिएर समर्पणसहित काम गरे, त्यसले नै उनी राजनीतिमा कस्तो एजेण्डा लिएर आएका थिए, सो स्पष्ट हुन्छ। आफ्नो पहिलो कार्यकालमा चामलिङले दामथाङ क्षेत्रमा गरेका कामहरूको वृतान्त उनको पुस्तक ‘दामथाङ : हिजो र आज’ -मा पाउनसकिन्छ, जसबाट सिक्किमको राजनीतिमा मूल्य, विचार, प्रतिबद्धताको प्रवेश भएको देख्नसकिन्छ।

ढाँटेर, छलेर, जनतालाई उड़न्ते सपना देखाएर, अपवित्र गठबन्धनहरू गरेर, राज्य र जनताको हितसित सम्झौता गरेर; संविधान, कानून र प्रजातान्त्रिक मर्यादा मिचेर जसरी भए पनि सत्तामा पुग्ने राजनीतिको बोलबाला भएको समयमा पवन चामलिङले जनतासामु स्पष्ट एजेण्डा राखेर, सङ्गठित र अनुशासित पार्टीको शक्ति बढ़ाएर अनि पूर्ण रूपमा प्रजातान्त्रिक र संवैधानिक मर्यादाको पालन गरेर सन् 1994 -मा एसडीएफलाई चुनाउमा जिताएर सरकारमा पुर्‍याएका हुन्। सन् 1992 -मा सङ्ग्राम परिषद् पार्टी र सरकारबाट निकालिएपछि अनि सन् 1993 -मा एसडीएफ पार्टी गठन गरेपछिदेखि सन् 1994 -को 16 नोभेम्बरमा चुनाउ हुनुअघिसम्म पवन चामलिङलाई नरबहादुर भण्डारी अनि सञ्चमान लिम्बू समूहबाट दुइपल्ट मुख्यमन्त्री बन्ने अफर आएको हो। तर पवन चामलिङले तोड़फोड़, जोड़-जड़ानको राजनीतिमा विश्‍वास नगर्ने हुनाले अनि आफ्नो विशुद्ध नीति-सिद्धान्तभन्दा तल झरेर राजनीति नगर्ने मूल्यआधारिश्त राजनीतिको कारणले यी दुवै प्रस्तावहरू अस्वीकार गरे।

मूल्यको राजनीतिकै कुरा गर्ने हो भने पवन चामलिङले 28 वर्षको एसडीएफ जीवन र 25 वर्षको शासनकालमा मूल्य, नीति, सिद्धान्त र आदर्शका यतिधेरै प्रतिमानहरू गढ़ेका छन् कि त्यो राजनीतिशास्त्रको ‘टेक्स्ट बुक’ बन्नेछ। राजनीतिको हरेक क्षेत्रमा, हरेक मुद्दामा र हरेक परिस्थितिमा पवन चामलिङले जुन अड़ान लिएका छन्, जुन बाटो पहिल्याएका छन् – त्यो सिक्किमे राजनीतिको सबैभन्दा सन्तुलित, विवेकपूर्ण र आदर्श नीति भएको छ।

पार्टी गठन गरेर तत्कालीन अप्रजातान्त्रिक शासन व्यवस्थाको विरोधमा सङ्घर्ष गर्दा होस्, सरकार गठन गरेर 25 वर्ष त्यसलाई कुशलतापूर्वक सञ्चालन गर्दा होस् वा सरकारबाट बाहिरिएपछि विगत 14 महीनादेखि प्रतिपक्षी नेताको रूपमा भूमिका निर्वाह गर्दा होस् – पवन चामलिङले राजनीतिको वर्तमान अनि भविष्यका जम्मै पुस्ताहरूका लागि एउटा आदर्श रेखा कोरेका छन्। उनले राजनीतिमा जुन मापदण्ड बनाएका छन्, त्यसलाई अस्वीकार गरेर कोही साँचो अर्थमा सफव बन्नैसक्दैन। कोही सरकारमा पनि पुगिहाल्ला, कोही विपक्षी रहेर पनि मीडियाको प्यारो होला, कसैले केही मानिस पनि आफू वरिपरि भेला पारिहाल्ला – तर पवन चामलिङको बाटोलाई परित्याग गरेर कोही उनीजस्तो असल किसिमले सफल बन्नसक्दैन।

पवन चामलिङ केवल सिक्किमेली राजनीति होइन, राष्ट्रिय अनि वैश्‍विक राजनीतिमा पनि उदाहरणीय र आदर्श राजनीतिज्ञ हुन्। उनी आज भारतका वरिष्ठतम् राजनीतिज्ञ हुन्। विश्‍व स्तरमा पनि उनले आफ्नो अभिनव प्रयोग र सफलताको बलमा आफ्नो अनि सिक्किमे जनताको लागि सम्मान आर्जन गरेका छन्। 25 वर्षको आफ्नो शासनमा पवन चामलिङले कुनै कलङ्क बेहोर्नुपरेन, सिक्किम र सिक्किमे जनताको मान-सम्मानमा अलिकति पनि आँच आउन दिएनन्। बहुजातिक अनि बहुभाषी सिक्किममा सामुदायिक सद्भावना, भाइचारा र एकता-प्रेम पवन चामलिङको शासनको सर्वोपरी विशेषता हो। सत्ताका लोभीहरूले हरेक जात-जातिलाई भड्काएर सत्तामा पुग्ने खेल खेले, तर आज एक वर्ष नपुग्दै ती सत्तालोभीहरूको घृणित खेल जनताको अघि उदाङ्गो भएको छ। साम्प्रदायिक दुष्प्रचारमा आँखा तिर्मिराएका जनताको आँखा सङ्लिएपछि आज जनताले बुझेका छन् – पवन चामलिङको शासनमा हरेक जात, जाति र व्यक्तिले मानवको रूपमा सर्वोच्च सम्मान पाएका रहेछन्। मान्छेलाई मान्छेको सम्मान दिनु अनि राज्यलाई उसको सेवामा खटाउनु पवन चामलिङजस्ता राजनेताबाट मात्र सम्भव छ।

गत विधानसभा चुनाउमा एसडीएफ पार्टीले सर्वाधिक भोट पाए पनि बहुमत विधायकहरू नपाउँदा सरकार गठन गर्नसकेन। पवन चामलिङले विनम्रतापूर्वक जनादेशलाई स्वीकार्दै आफ्नो कार्यकाल पूरा भएकै दिन मिन्तोगाङ छोड़िदिए। तर अनैतिक जीत हासिल गर्नेहरूले आफ्नो जीतलाई पचाउन सकेनन्। यो जीत किन ‘अनैतिक’ हो, त्यो उनीहरूको 14 महीनाको कामले स्पष्ट गरिसकेको छ। किनभने उनीहरू आफ्नो वचनमा खरो उत्रन सकेनन्, नीतिहीनता र सिद्धान्तहीनता उनीहरूको चरित्र बनिसकेको छ, सिक्किम र सिक्किमेली जनताको सर्वोपरी हितमाथि सम्झौता गरेका छन्, र जनताको चेतनामा साम्प्रदायिक विद्वेषको विष रोपेर उनीहरूले यो तात्कालिक सफलता हासिल गरेका छन्।

पवन चामलिङ आफ्नो अविचल नीति, सिद्धान्त, आदर्श, वचनबद्धता र प्रजातान्त्रिक आत्मानुशासनका कारण सिक्किमलाई आफ्नो आभामण्डलले आलोकित गर्न प्रकृतिद्वारै निर्देशित छन्।

मूल्यको राजनीति अनि एसडीएफ


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment