घिसिङपछिको दार्जीलिङ

घिसिङपछिको दार्जीलिङ
Please Like and Share our website Samay Dainik
  • 1
    Share

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) –का संस्थापक अध्यक्ष सुवास घिसिङलाई आज उनको जन्मतिथिमा धेरैले याद गरे। `धेरैले’ यसकारण कि उनलाई सम्झना गर्नेहरूमा गोरामुमो अनि उनको परिवार मात्र थिएनन्। सन् 1984 –देखि 2007 –सम्म दार्जीलिङे राजनीतिको केन्द्रमा रहेका अनि सन् 1980 –को दशकमा पहाड़मा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति रक्ताक्त आन्दोलनको नेतृत्व गरेका सुवास घिसिङले केवल सुवासित दार्जीलिङे चियापत्ती, प्रसिद्ध बोर्डिङ स्कूलहरू अनि भूगोलको पृष्ठभूमिमा कुनै सुन्दर चित्रजस्तो विशाल फैलावट लिएको कञ्चनजङ्घाको सुन्दर दृश्य मात्र होइन दार्जीलिङ; दार्जीलिङ त जिउँदा-जाग्दा मानिसहरू, गर्विलो इतिहास, पौरखी हातहरू, राष्ट्रलाई ज्यानै समर्पित गर्ने अतुलनीय मानिसहरूको बस्ती हो, राष्ट्रलाई शरीर र आत्माले नै ग्वाम्म अँगालो हाले पनि सधैं सन्दिग्ध राष्ट्रियता लिएर बाँचिरहेका `हतभागी’ -हरूको गाउँ हो भन्ने यथार्थ अनुभूति दुनियाँलाई दिए। घिसिङलाई उनको जन्मदिनमा नसम्झिनु साँच्चै अन्याय हुन्थ्यो, कृतघ्नता हुन्थ्यो।

घिसिङ उन्नत कला-शिल्प भएका साहित्यकार थिएनन् होला, तर उनको साहित्यमा प्रयोजनपरकता बढ़ी झल्किन्छ। साहित्यबाट राजनीतिक सङ्घर्षमा उनको अवतरणले घिसिङमा साहित्य र कला राजनैतिक चेतनाको एक सक्रिय र उत्प्रेरक साधन थियो भन्ने कुरा स्पष्टसँग झल्कन्छ। तर घिसिङको राजनीतिक चेतनाले विकासक्रमको लामो बाटो तय गर्नसकेन। घिसिङ छिट्टै यथास्थितिवादको घेरामा सीमित भए; भन्न नपर्ला – दार्जीलिङको राजनीतिमा उनको गहिरो प्रभाव, साङ्गठनिक सुदृढ़ताले दार्जीलिङको राजनीतिलाई स्वतन्त्र रूपमा अघि बढ़्न दिएन। एक समय मुक्तिको दिशा र सुदृढ़ नेतृत्व खोजिरहेको दार्जीलिङको राजनीतिलाई घिसिङले नै अघि सरेर दिशा देखाए, नेतृत्व दिए अनि पुरानो जड़तालाई तोड़े। तर दार्जीलिङका जनताको लड़ाईंले जुन तार्किक निष्कर्ष र वास्तविक मुक्ति खोजिरहेको थियो, घिसिङले आन्दोलनलाई त्यो परिणतिमा पुऱ्याउनसकेनन्। यसका लागि हामीले `घिसिङको दोष’ नभनौं, गाड़ी पनि त्यहींसम्म कुद्छ, जति त्यसमा इन्धन भरिएको हुन्छ। अहिले आएर महसुस हुन्छ, घिसिङले आन्दोलन नै चाहिँ गरेका होइनन् रहेछ। एउटा सुषुप्त चेतनालाई विस्फोटित मात्र गरिदिएका रहेछन्। त्यो आक्रोश, कुण्ठा र विद्रोही मनहरूलाई सुसङ्गत ढङ्गमा अनुशासित, विकसित र सङ्गठित गर्नसकेका रहेनछन्। त्यसैले त्यो आगो जति छिटो बल्यो, त्यति नै छिटो निभ्यो पनि। आन्दोलनपछिका घिसिङ त्यही अल्प उपलब्धिलाई च्यापेर बस्ने अनि त्यो गतिरुद्धतालाई तोड़्नखोज्ने कुनै पनि उभारलाई रोक्ने प्रतिउत्पादक नेतृत्व भइदिए।

सन् 1988 –देखि 2007 –सम्म दार्जीलिङको राजनीति घिसिङकै वरीपरी रिङ्गिइरह्यो। एक संवेदनशील साहित्यकार अनि ठूलो आन्दोलनले जन्माएका नेता हुनको नाताले घिसिङलाई थाहा थियो – दार्जीलिङको राजनीतिमा बढ़्दो अन्तर्विरोधलाई हेग, बाबा, ढुङ्गा, बुध ग्रहले रोकेर राख्नसक्दैन। उनको डमरू कहिल्यै बाघ बन्नसकेन, अझ बोन्साई डमरू बन्दैगयो। यसबीच दार्जीलिङको राजनीतिलाई निकास दिन छैटौं अनुसूचीको बाटो रोजे। किनभने गोर्खाल्याण्डतर्फ सोझै पुग्ने पुल उनले आफै भत्काइसकेका थिए। उनी छैटौं अनुसूचीको बाटो भएर गोर्खाल्याण्ड पुग्नचाहन्थे(!) तर यहाँ पनि उनले सन् 86 नै दोहोऱ्याइपठाए – एक्लै अघि बढ़्ने। यो एक्काइस वर्ष (86-07) –मा टिस्टा र रङ्गीतको पुलमुनिबाट धेरै पानी बगिसकेको थियो। सन् 86 –सम्म बेखबर सुतिरहेको केन्द्र र राज्यका एजेन्सीहरू सक्रिय भइसकेका थिए, स्वयं उनको सङ्गठन ऊर्जाविहीन बनिसकेको थियो र दार्जीलिङले घिसिङको राजनीतिको सारहीनतालाई समातिसकेको थियो। तथापि सुवास घिसिङको दक्षता के थियो भने, विरोधीहरूको चरम दबाउबीच पनि उनले छैटौं अनुसूचीलाई संसदको पटलसम्म पुऱ्याउन भ्याए। तर उनले आफ्ना जनतालाई यसबारे विश्वस्त तुल्याउन, विश्वासमा लिनसकेनन्। सन् 2007 –को जनउभारले घिसिङको राजनीतिलाई समाप्त गरिदियो, उनी विस्थापितसम्म भए, तर दार्जीलिङको राजनीति उनीभन्दा अघि बढ़्नसकेन, छताछुल्ल र भताभुङ्ग भएर गयो।

घिसिङको राजनीतिका थुप्रै सफलता-असफलताहरू छन्। उनको डमरू कुपोषणले मर्यो, मानसपुत्र छैटौं अनुसूचीले गर्भमै प्राणत्याग गर्नुपर्यो। उनका उत्तराधिकारीहरूले ‘अतीतको गौरव’ बिउँताउँदै सङ्गठनमा प्राण भर्न कोशिश गरिरहेका छन्, तर त्यो प्राण के हो, गोरामुमोको आत्मा केमा बसेको थियो, सो नबुझेर फगत सानो सत्ताको एक दावेदार र दबाउ समूहमा टाक्सिनुपरेको छ।

घिसिङ केन्द्र र राज्यका लागि दार्जीलिङको प्रतिरोधका एक सग्लो प्रतीक थिए। छैटौं अनुसूची आफ्ना जम्मै कमी-कमजोरीहरू रहँदा-रहँदै पनि एउटा गम्भीर पहल थियो। यो घिसिङकै व्यक्तित्वको सफल पाटो थियो कि उनले दार्जीलिङको गतिरोधलाई भत्काएर एउटा निकास दिनुपर्छ भन्ने कुरामा केन्द्र र राज्यलाई सहमत गराइसकेका थिए। घिसिङपछि दार्जीलिङले आफ्नो प्रतिरोध सदाको लागि गुमाएको छ। दार्जीलिङमाथि केन्द्र र राज्यको वर्चस्वको होड़बीच पनि घिसिङले आफ्नो एजेण्डालाई अघि बढ़ाउन दुवै पक्षलाई एउटै विन्दुमा ल्याउन सफलता पाएका थिए, जुन त्यसपछि कहिल्यै देख्नसकिएको छैन। उनको अवसानसँगै दार्जीलिङले आफ्नो एजेण्डा गुमाएको छ र नाना एजेण्डाहरू विभिन्न रङ्गका झण्डा भएर आज पहाड़भरि फर्फराइरहेका छन्।

घिसिङपछिको दार्जीलिङ


Please Like and Share our website Samay Dainik
  • 1
    Share

Related posts

Leave a Comment