अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म
Please Like and Share our website Samay Dainik
  • 12
    Shares

जातिको इतिहासलाई सदासर्वदा ननिभ्ने बनाउनका खातिर सायद वैकुण्ठपुर पत्रिकाका सम्पादक भानु प्रकाश मार्मिक यसो भन्छन्-‘भारतीय नेपाली जन-जीवनका युगधरोहर एक तीर्थ-पारसतीर्थ।’ यति भनेकै कारण यो पत्रिकाको सार्थकता झल्किन्छ भन्ने कुरमा म विश्वस्त छु। केवल सम्पादकको लेखन-सम्पादनले मात्र धेरै कुरा सम्भव हुनसक्दैन। यसको निम्ति व्यवस्थापकवर्ग लगायत सम्पूर्ण टीमले कार्य निष्पादन गर्नुपर्ने हुन्छ। यो सामूहिक प्रयास हो। त्यसैकारण यहाँ यसका व्यवस्थापक प्रकाश छेत्रीलाई पनि सायद भुल्न नसकिएला।

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म-अर्जुन पीयूष

 

खोलाचन्द फाप्रि आफू सानो छदाँ अथवा भानौँ स्कूल पढ्दाताका बरालिन जाने ठाउँ। अहिले त्यहाँको वातावरण पहिलेको जस्तो मिल्दैन। मिल्नु हुँदैन पनि। मिल्न गयो भने त्यो वातावरणले विकासको मुहार देख्न पाउँदैन। समय परिवर्तनशील भए जस्तै खोलाचन्द फाप्रिले पनि शनै शनै आफ्नो मुहार फेर्दै ल्यायो। घना जङ्गले राज गरेको स्थानमा खोलाचन्द फाप्रि स्कूल, पारसमणि प्रधानको सालिग, शहीद दुर्गा मल्लको सालिग स्थापना भयो। यसलगायत विविध कुराहरूको स्थापना आदिले बुझाउँछ कि नेपाली जाति संसारको कुनै पनि कुनामा पुगोस् त्यहाँ उसले आफ्नो लायकको ठाउँ बनाएरै छाड्छ। नेपाली जातिलाई एक समयमा मानव वस्ती बसाउन नसकिने स्थानलाई सम्याएर मान्छे बस्नयोग्य ठाउँ बनाएपछि यो जाति स्वतः पलायन बन्छ भन्ने भनाइहरू दन्त्य कथा होइनन्। यी वाक्यहरू वास्तविक थिए, यथार्थिक थिए तर त्यसमा पनि अब ब्रेक लाग्नुपर्छ र त्यो त्यो ब्रेक लगाउने कार्य खोलाचन्द फाप्रिले पनि गरेको देखिन्छ। यही ठाउँबाट समसामयिक पत्रिका वैकुण्ठपुर प्रकाशन हुनेगर्छ। पहिले-पहिले वैकुण्ठपुर भन्दा कि त स्वर्गको कल्पना हुनेगर्थ्यो कि त सालुगढा बजारदेखि भित्रपट्टिको अटब्बे जङ्गलको सम्झना हुन्थ्यो। तर अब ज्ञानको ज्योति बाँड्ने पत्रिकाको सम्झना हुन्छ। कुनै पनि ठाउँलाई वा मान्छेको झुण्डलाई कुनै न कुनै नेतृत्वको आवश्यकता पर्न जाँदोरहेछ। आन्दोलन पनि नेतृत्वबिना सफल बन्न सक्दैन भने कुनै स्थानले पनि नेतृत्व पाएन भने त्यसले विकासको अनुहार देख्न पाउँदो रहेनछ भन्ने लाग्छ।
त्यही वैकुण्ठपुर हो, जहाँबाट काठको तस्करी हुनेगर्थ्यो, त्यही वैकुण्ठपुर हो जहाँ जङ्गलका पशु प्राणीको राज हुनगर्थ्यो अनि आज त्यही वैकुण्ठपुर हो जहाँ साहित्य-संस्कृतिको बगैँचा मगमगाएको छ, साहित्यकारहरूको वस्ती बसेको छ अनि अन्य बाटो बिराएकाहरूलाई, घर बिर्सिएकाहरूलाई समेत यथास्थानमा ल्याउने कार्य त्यहाँको समाजले गरिरहेको अनुबोध हुन्छ। यस्तो कार्य गर्ने त्यहाँ धेरै नामहरू होलान् तर एउटा नाम हामी बिर्सिन सक्दैनौँ अनि त्यो नाम हो-भानु प्रकाशि मार्मिक। उनी मूलतः सिक्किममा सरकारी विभागमा कार्यरत व्यक्ति। जब उनले सरकारी नोकरीबाट अवकाश ग्रहण गरे तब सिलगढीको यही वैकुण्ठपुरलाई आफ्नो वास स्थान बनाए। उनी साहित्य विधासँग संलग्न छँदैथिए अझ अन्य साहित्यिक सङ्गीहरू बनाए। बिस्तारै त्यो ठाउँ यस्तो ठाउँ बन्नगयो। सिक्किमका-दार्जीलिङका धेरै नेपाली साहित्यकारहरूको ठेगाना बन्न थाल्यो। मलाई यस्तो लाग्छ ठाउँ कसरी असल बनाउने भन्ने कुरा खेतमा असल बीउ छरे जस्तै असल विचार रोप्न सकियो भने त्यहाँ बीउ र विचार खेर जाँदोरहनेछ। केवल नयाँ सोचको आवश्यकता मात्र पर्दोरहेछ। विचारहरूलाई तोड्ने होइन कसरी जोड्ने जस्ता सोच उमार्न सकियो भने त्यहाँ खेतीबाली राम्रै हुनेछ भन्ने भावको सिर्जना गराए भानु प्रकाश मार्मिकज्यूले।
अब फेरि फर्कौँ हामी वैकुण्ठपुर पत्रिकातिर। यस पत्रिकाले आफ्नो पाँच वर्षीय यात्रा पूरा गर्दै विशेष गरेर धरोहरीय व्यक्तित्वहरूको कर्मलाई दस्तावेजीकरण गर्ने प्रयास जारी राखेको छ। खोलाचन्द फाप्रि साहित्य एवं सांस्कृतिक समितिको मातहतमा घोर सङ्कटकाल (कोविड-19) -मा यदि पुस्तक-पत्रिकादिहरू प्रकाशित हुन्छन् भने त्योभन्दा ठूलो साहसिलो आँट अर्को हुन्छ जस्तो लाग्दैन। महामारीकालमा मान्छे आफ्नै जीवनको सुरक्षापट्टि एकोहोरो हिसाबमा लागिपरेको हुन्छ। तर वैकुण्ठपुरले यस्तो आततायी समयमा पनि पारसमणि प्रधानका अप्रकाशित रचनाहरूको खोजी गर्नु अनि त्यसको तहसम्म पुग्नु, लेखक-लेखिकाहरूसित सम्पर्कमा रहेर पत्रिकाको प्रारूप तयार पार्नुजस्ता कार्यहरू साधारण मानिसहरूबाट सम्भव छैन। खोलाचन्द फाप्रिलाई माया गर्ने, हाम्रो आउँदो भविष्यको चिन्ता गर्ने ठूलो तप्का त्यहाँ छ, त्यसैकारण यस्तो कालमा पनि अकल्पनीय कार्यहरू हुनेगर्छन्। यो पाँच वर्षको अवधिमा पारसमणि प्रधानका सम्बन्धमा दुइ-दुइवटा सङ्ग्रहनीय अङ्क (जनवरी, 1918 तथा मार्च, 2020) प्रकाशन गरेर यस पत्रिकासँग संलग्न व्यक्तिहरू विशेष गरेर खोलाचन्द फाप्रि स्कूलका शिक्षक कैलाश सुब्बा, सम्पादक भानुप्रकाश मार्मिक, मैते थापा, कार्यकारी सम्पादक अभय खालिङ, यस पत्रिकाका व्यवस्थापक प्रकाश छेत्रीलगायत पत्रिकासँग संलग्न सम्पूर्ण सदस्यगण आदर गर्नैपर्ने पात्रहरू रहेका छन्, जोहरू आदरणीय छन्। यिनीहरूकै प्रयासस्वरूप पत्रिकाले अन्य स्थानहरूबाट न्यानो अभिवादन पाएको अनुभव हुन्छ।
वैकुण्ठपुरका सन्दर्भमा अझै एउटा नाम लिनैपर्ने हुन्छ त्यो नाम हो-मिलन रूचाल। मेरा आँखाअघि एउटा धमिलो छवि छ-वसुन्धरा। साल महिना त्यति स्मरण हुनसकेन तर त्यो समयमा बी. बी. लकान्द्री साहब सिलगढी महकुमाका सायद दोस्रो एसडीओ रहेका थिए। त्यही समय हुनुपर्छ-वरिष्ठ साहित्यकार, अन्वेषक महानन्द पौड्यालको सम्पादनमा तथा सिलगढीस्थित उनकै प्रेसबाट ‘वसुन्धरा’ प्रकाशित हुनेगर्थ्यो। त्यही समयमा मिलन रूचालज्यूको सहयोगकै फलस्वरूप त्यो पत्रिका जनमानससमक्ष पुग्न सफल बनेको थियो। आज वैकुण्ठपुरमा उनै मिलन रूचालज्यू प्रमुख संरक्षक रहेका छन्। केवल आर्थिक सहयोगको कारणले मात्र कुनै पनि पत्रिका वा पुस्तकले अघि बढ्ने मौका पाउँछ भन्नु गलत हो भन्छु म। यसका निम्ति विचारको सहयोग पनि त्यति नै आवश्यक हुन्छ। वैचारिक स्तरमा कुनै व्यक्ति यदि प्रबल दह्रिलो छ भने कस्तै परिस्थितिमा पनि पत्रिकादिले विकास गर्दै लैजान्छन्। हामीले देख्दै आएका छौँ सिलगढीस्थित देवकोटा संघको पहिले-आजको स्थितिमा परिवर्तनीय दृश्य। यो नवसोचकै कारण सम्भव भएको हो भन्ने लाग्छ। समग्रमा भन्नु पर्दा वैकुण्ठपुरको कार्यले समग्र सिलगढी, दार्जीलिङ, सिक्किम, कालेबुङ, डुवर्सलगायत असमका विभिन्न भागहरूलाई समेत जोड्न सफल बनेको पत्रिका हो।
यहाँ पत्रिकाको गुणगान गाउनु छैन, उसले गरेका कामहरूको सूची तेर्साएर गल्फत्ती गर्नु छैन। उसका पनि कतिपय कमी कमजोरीहरू हुन्छन् नै। तर एउटा कुरालाई जोर दिएर के भन्न सकिन्छ भने सामयिक वैकुण्ठपुरले पारसमणि प्रधानद्वारा गरिएका कामहरूलाई स्थापित गराउने कार्य गरेको छ। मेरो सम्झनामा रहेअनुसार हिमालचुली दैनिक पत्र प्रकाशित हुँदा त्यति राम्ररी नचिनेका तर मेरा निम्ति हौसलाका शिखर रहेछन् भन्ने कुरा आज आएर बुझिँदैछ। नेपाली साहित्यको अवस्थानमा उनको योगदान आदरणीय छ। उनी खरा थिए होलान्, धेरैसँग नमिल्ने प्रवृत्तिका पनि थिए होलान् तर नेपाली जाति भाषा विकासका सन्दर्भमा उनको नाम नलिई यो अध्याय पूरा होला के भन्ने लाग्दछ। त्यसकारण वैकुण्ठपुरले भाषा सङ्ग्रामी, भाषा विवेकी, नेपाली भाषालाई मेरो भाषा भन्न आँट गर्ने व्यक्ति (साहित्यकार राज के. श्रेष्ठको भाषामा) अर्को पाउन गाह्रो छ। मेरो र हाम्रोमा निकै भिन्नता हुन्छ। हाम्रो भन्ने बित्तिकै समूहको हुनजान्छ। त्यसमा त्यति ध्यान नदिइएला तर मेरो भन्ने कुरामा हक जमेको हुन्छ र त्यसलाई जतिसक्दो पारखिलो बनाउने चेष्टा गरिन्छ। त्यसकारण पारसमणि प्रधानले नेवार भाषालाई मेरो भाषा भनेनन्। नेपाली भाषालाई मेरो भन्ने शक्ति उनमा थियो त्यसैकारण आज नेपाली भाषा विश्व शिखरमा विराजमान छ। त्यसकारण मलाई लाग्छ वैकुण्ठपुरले जनवरी, 2018 तथा मार्च, 2020-को अङ्कलाई पारसमणि प्रधान विशेषको रूपमा प्रकाशित गरेर अति सराहनीय कदम चालेको छ। एक हिसाबमा भन्नु पर्दा वीरहरूको पूजा गर्ने संस्कारलाई वैकुण्ठपुर पत्रिकाका सम्पूर्ण सम्पादकगण, व्यवस्थापकवर्ग तथा सम्पूर्ण टीमप्रति नेपाली समाजले आभार प्रकट गर्नुपर्ने हुन्छ। पारसमणि प्रधान जस्ता हजारौँ व्यक्तिहरूका कारण नेपाली जाति र नेपाली भाषा विश्वमा परिचित छ। भारतकै सन्दर्भमा भन्नु पर्दा पश्चिम बङ्गालले 1961-मा नेपाली भाषालाई सरकारी भाषाको रूपमा मान्यता दिनु, साहित्य अकादमीले यो भाषालाई 1972-मा मान्यता दिएर नेपाली साहित्यकारहरूलाई अकादमी साहित्य पुरस्कारद्वारा सम्मान गर्नु वा 1992-मा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचिमा गाभेर नेपाली जातिको शिरलाइ उच्चता दिनु जस्ता कार्यहरू यदि सम्भव भएका छन् भने त्यसको घडेरीमा कहीँ न कहीँ पारसमणि प्रधानको आत्मा बसेकै हुनुपर्छ।
जातिको इतिहासलाई सदासर्वदा ननिभ्ने बनाउनका खातिर सायद वैकुण्ठपुर पत्रिकाका सम्पादक भानु प्रकाश मार्मिक यसो भन्छन्-‘भारतीय नेपाली जन-जीवनका युगधरोहर एक तीर्थ-पारसतीर्थ।’ यति भनेकै कारण यो पत्रिकाको सार्थकता झल्किन्छ भन्ने कुरमा म विश्वस्त छु। केवल सम्पादकको लेखन-सम्पादनले मात्र धेरै कुरा सम्भव हुनसक्दैन। यसको निम्ति व्यवस्थापकवर्ग लगायत सम्पूर्ण टीमले कार्य निष्पादन गर्नुपर्ने हुन्छ। यो सामूहिक प्रयास हो। त्यसैकारण यहाँ यसका व्यवस्थापक प्रकाश छेत्रीलाई पनि सायद भुल्न नसकिएला।
अन्त्यमा वैकुण्ठपुरले शताब्दीको पाइला टेकोस् भन्ने शुभकामनाका साथ आगामी अङ्क वरिष्ठ साहित्यकार, सम्पादक एवं गुणवत्ताले भरिपूर्ण शिक्षक एम. बी. राईमाथि फोकस हुने कुरा सुनिएको छ, त्यसको निम्ति अग्रिम शुभेच्छाका साथ आफ्नो भनाइलाई यहीँ विश्रान्ति दिन चाहन्छु।

रचनाकाल ः 26 अगस्त, 2020

अटब्बे जङ्गलदेखि ‘वैकुण्ठपुर’-सम्म


Please Like and Share our website Samay Dainik
  • 12
    Shares

Related posts

Leave a Comment