हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान
Please Like and Share our website Samay Dainik

 

 

                                                              – कमल रिजाल

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

वैदिक दर्शनप्रति पश्चिमी दृष्टिकोण बुझाउने विशिष्टतम पुस्तकको नाम हो ‘विश्वविख्यात विद्वान्हरूका दृष्टिमा पूर्वीय सभ्यता’ । प्रा.डा. गोविन्दराज भट्टराईद्वारा नेपालीमा अनुदित यस पुस्तकका मूल शोधकर्ता  शिलाङ (पूर्वोत्तर भारत) निवासी सलील ज्ञवाली हुन्, जहाँ सत्रौं शताब्दीका फ्रान्सेली दार्शनिक फ्राँस्वा भोल्तेयरदेखि उन्नाइसौं शताब्दीका महान् वैज्ञानिक आइन्सटाइन तथा एक्साइसौं शताब्दीका राजनीतिज्ञ बाराक ओबामासम्मका दर्जनौं दार्शनिक लेखक तथा राजनीतिज्ञका अभिमत सङ्कलित छन् । यस पुस्तकमा सत्रौं शताब्दीका फ्राँस्वा भोल्तेयरले वैदिक दर्शनको प्रशंसा गर्दै भनेका छन्– ‘वेद र उपनिषद्लाई पूर्वको त्यस्तो सर्वाधिक मूल्यवान् उपहार हो, जसका निमित्त पाश्चात्य जगत सदैव ऋणी रहदै आएको छ ।’ त्यस्तै अठारौं शताब्दीका फ्रान्सेली खगोलविद् जाँ सिल्भाइन बेलीले हिन्दूहरूको ग्रहगति गणना पद्धतिको प्रशंसा गर्दै भन्छन्– ‘२५ सय वर्षपूर्व हिन्दूले गणना गरेर निकालेका तारागणको गति आजसम्म कासिनी र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एकपल पनि फरक छैन ।’ अठारौं शताब्दीकै फ्रान्सेली अर्का विद्वान् पियरे साइमन डी ल्यापलेसका दृष्टिमा सम्पूर्ण सङ्ख्यालाई दसको सङ्केतले गणना गर्न सकिने विलक्षण पद्धतिको दिग्दर्शन गराउने काम भारतवर्षले गरेको छ तर अठारौं शताब्दीकै जर्मनेली दार्शनिक आर्थर शोपेन्हावरका विचारमा भने समस्त विश्वमा उपनिषद् बराबरको कल्याणकारी र उत्थापक ज्ञान कहीं कतै भेटिएको छैन । त्यस्तै अठारौं शताब्दीकै बेलायती विद्वान् सर विलियम जोन्सका विचारमा मानिस जब पूर्वीय साहित्यको नजिक पुग्छ तब अनन्तताको भावना स्वतः खुल्न पुग्छ भने जर्मनेली विद्वान् अगस्ट विलहेल्म भोन स्लेगल (सन् १७६७–१८४५) का दृष्टिमा युरोपेलीहरूको उच्चतम दर्शन पनि वेदान्तका तुलनामा एउटा निस्तेज फिलिङ्गो जस्तो देखिन्छ ।

उन्नाइसौं शताब्दीका अमेरिकी दार्शनिक हेनरी ड्याभिड थोरो यसबाट कतिसम्म प्रभावित भएका भने उनका दृष्टिमा वेदको एउटै ऋचा पनि म्यास्याचूसेट्स राज्यभन्दा अनेकौं गुणा ठूलो छ । पक्कै उनले यहाँ भूगोलको कुरा गरेका होइनन् । उनको मापन त्यो आदर्श शास्त्र र सिद्धान्तसँग हो, जहाँ मानतवाताका आलोक फैलिको छ । उन्नाइसौं शताब्दीकै जर्मनेली लेखक तथा दार्शनिक म्याक्समुलरका अनुसार वेदान्त अर्थात् उपनिषद्बाट निस्पादन गरिएको ब्रह्माण्डीय ज्ञान वास्तवमै आश्चर्य चकित गराउने खालको मात्र छैन उपनिषद्हरू आफै मानव मस्तिष्कका आश्चर्यजनक उपहार हुन् । वीसौं शताब्दीका जर्मनेली अर्का विद्वान् पौल डुसनले भनेका छन् ‘वैज्ञानिक मस्तिष्कको आविस्कार जेसुकै भए पनि उपनिषद्ले प्रतिपादन गरेको अनन्त सत्यमाथि कसैले विवाद गर्न सक्दैनन् ।’ त्यस्तै वीसौं शताब्दीका वेलायती राजनीतिज्ञ लर्ड कर्जनका दृष्टिमा भारतवर्षले मानव जातिको इतिहास, दर्शन र  धर्ममाथि यस ब्रह्माण्डको कुनै पनि पार्थिव एकाइले भन्दा गहिरो चिह्न छाडेको देखिन्छ भने बृटिस दार्शनिक तथा उपन्यासकार एल्डौस हक्सलेका दृष्टिमा सनातन धर्मको सार समस्त धर्मको मुटुमा छिपेको देखिएको छ तर महान् आइरिस साहित्यकार विलियम बटलर यिट्स (सन् १८६५–१९३९) लाई भने पूर्वीय दर्शनसितको प्रथम भेटले नै उनीभित्र रहेका अस्पष्ट अनुमानलाई यति बढी प्रमाणित गरिदियो कि एकैचोटि उनलाई ती तार्किक र असीम लाग्न थाले । यी उदाहरणका लागि प्रस्तुत गरिएका केही प्रसङ्ग हुन् । वास्तवमा यहाँ जति नाम उल्लेख भएका छन् सबैका विचार उत्तिकै विशिष्ट छन्, सबैले वेद, उपनिषद, वैदिक सनातन धर्म–संस्कृति तथा साहित्यको मुक्तकण्ठले प्रशंसा गरेका छन् । हालसम्म विश्वका १३ भाषामा अनुवाद भइसकेको यस कृतिको जर्मनी अनुवाद र त्यसपछिका अनुवादहरूमा नासा वैज्ञानिकले भूमिका लेखेका छन् । कलेवरको हिसावले पुस्तक खासै ठूलो छैन । भूमिका र पाठक टिप्पणीखण्ड समेत गरी कुल १६३ पेजको छ । तथापि पुस्तक त्यस्तो आँखीझ्याल हुन पुगेको छ, जहाँबाट विश्वब्रह्माण्ड चिहाउन सकिन्छ । हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

यसो भनिरहँदा पूर्वीय दर्शनको ज्ञान र विज्ञानको आलोकमा रचिएको सुकर्म नामक त्यो उपन्यासको सम्झना हुन पुगेको छ, जहाँ विगत पाँचहजार वर्षदेखिको भूगोल तथा मानववस्ती र मानवीय गतिविधिदेखि आगत पाँचसय वर्षसम्मको अन्तरिक्ष विज्ञानको क्षेत्रमा हुन सक्ने गतिविधिलाई केलाउने प्रयास भएको छ । वेदविभागकर्ता महर्षि व्यास तथा वैदिक सनातन धर्मका आदर्श पुरुष हनुमान, प्रशुराम, अश्वत्थामा आदि चिरञ्जीवीहरूदेखि नयाँ धर्मका संस्थापक ईशामसिह र मुहमदलाई समेत समेटेर अन्तरिक्षतर्पm हान्निएका उपन्यासका पात्र ध्रुवलोकसम्म पुगेर फर्केका मात्र छैनन् ग्रहादिका गति तथा स्थिति प्रस्तुत गर्र्दै पृथिवीवासीलाई ध्रुवलोकसम्म जान सकिने बाटो बताउने कामसमेत गरेका छन् ।

वेद र उपनिषद्का ऋचा वा मन्त्र भनेका ऋषिमुनिहरूले गाएका त्यस्ता गीत हुन्, जसले सिन्धुभित्र विन्दू पनि देखेका छन्, विन्दूभित्र सिन्धु पनि भेटेका छन् । संसार ब्यूझिएको छ तिनैका गीत सुनेर, विश्व उठेको छ उनीहरूकै वैचारिक धरातल टेकेर । प्राणीमात्रलाई एउटै परामात्माको सन्तान ठानेर हमेशा समानताको पाठ सिकाउँदै आएको हिन्दूदर्शनले समग्र पृथिवीलाई एउटै परिवार मानेको मात्र छैन पृथिवीदेखि अन्तरिक्षसम्म शान्तिको र सद्भाव वृद्धिको कामनासमेत गरेको छ । संसारलाई सर्वप्रथम सभ्यताको पाठ सिकाउने पनि यही दर्शन हो, मानव संस्कृति र संस्कार सिकाउने पनि यही दर्शन हो । अग्नि, वायु, सूर्य लगायत द्यावाभूमिका यावत वस्तुलाई देवता मानेर सम्मान गर्न लगाउने पनि यही दर्शन हो, सदैव सन्मार्गमा ताते गर्न सिकाउने पनि यही दर्शन हो । अरुको जस्तो बोली, वचन र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो बोली, वचन र व्यवहार अरुलाई पनि गर्नु हुँदैन भन्ने सन्देश दिने पनि यही दर्शन हो, सकेसम्म आफूभित्र अरुलाई देख्न सक्नुपर्छ नसके अरुभित्र आफूलाई हेर्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिने पनि यही दर्शन हो ।
परोपकारभन्दा ठूलो धर्म अर्को छैन भन्ने यस दर्शनको सिद्धान्त हो भने परहित र समुन्नति विशेषता । यसले सकेसम्म सबैको भलो गर्नु नसके पनि कुभलो चाहिं कसैको पनि नगर्नु भनेको मात्र छैन परहितका लागि ज्यानै दिन परे पनि पछि पर्नुहुन्न भन्ने सन्देश समेत दिंदै आएको छ । समग्रमा भन्नुपर्दा पूर्वीय दर्शन ज्ञान र विज्ञानको त्यस्तो भण्डार हो, जसको अन्त्य अहिलेसम्म कसैले पनि पाउन सकेका छैनन् । प्राचीन ऋषिमुनिहरूले ब्रह्माण्डको रहश्य खोल्ने साँचो त्यतिबेलै पत्ता लगाएका थिए जतिबेला आधुनिक विज्ञानको भ्रुण प्रकृतिको कुन गर्भमा थियो भन्नेसम्म थाहा थिएन । हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

आज पश्चिमी समाज पूर्वको एक स्वरले वन्दना गरिरहेको छ । वेदप्रति चासो बढेको छ, उपनिषद्प्रति चासो बढेको छ, संस्कृतप्रति चासो छ । वर्तमान नासा प्रमुखले संस्कृत भाषाको कक्षा लिन थालेका समाचार केही समय अघि आएको थियो । नेदरल्याण्ड सरकारले गीतालाई अनिवार्य शिक्षाको पाठ्यक्रममा राखेको प्रसङ्गले पनि राम्रै चर्चामा पाएको थियो । हाल युटुब तथा टेलिभिजन च्यानलहरूमा पूर्वीय संस्कृतिको वन्दना गर्ने पश्चिमी नरनारीहरूका सङ्ख्या जुन रूपमा बढ्दै गएको देखिन्छ सोही अनुसार गौराङ्ग बालबालिकाहरूले वेदको स्वरपाठ र घनपाठमा रुचि देखाउन थालेका पाइएको छ । कसैसँग भेट हुँदा नमस्कार गरी सम्मान गर्नुपर्ने र खाना खानुपूर्व राम्रोसँग हातगोडा धुनुपर्ने पूर्वको संस्कृति हो, जुन हाल सारा संसारको साझा संस्कृति हुन पुगेको छ ।    हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान

तथापि फिलिपिनी विदुषी मेरिया क्रिस्टिना बेजारले भनेजस्तै पूर्वीय ज्ञानलाई टाडाकाले जति नै सम्मान गरेका भए पनि यो आफ्नै घरमा भने प्रतिदिन अपमानित हुँदै गइरहेको छ । जुन पिंढीमा बसेर पुर्खाले विश्व भाइचाराको उद्घोष गर्दै मानव सभ्यताको घुम्टो उघार्न लगाएका थिए सोही स्थानमै उनीहरूको विचार र सिद्धान्तमा खिया लाग्नु भनेको यो भन्दा बेइमानी अर्को हुनैसक्दैन । यस्तो अवस्थामा पूर्वप्रति विद्यमान पाश्चात्य दृष्टिकोण प्रस्तुत गरी सलीलजीले पुनर्जागरणको जुन प्रयास गरेका छन् त्यो अनुकरणीय मात्र होइन वन्दनीय समेत हुन पुगेको छ । आज पाश्चात्य विद्वान् पूर्वीय ज्ञानप्रति नतमस्तक भई जसरी आफूलाई ऋणी ठानिरहेका छन् त्यसैगरी सलील ज्ञवालीले पनि आफ्नो वैभव भुल्दै गएका आधुनिक पुस्तालाई आफ्नै गौरवमय अतीततर्फ फर्काउने प्रयास गरेर सिङ्गो युगलाई नै ऋणी बनाएका छन् भन्दा बढी होला जस्तो लाग्दैन । पुस्तक रूपमा सानै भए पनि सारमा गागरमा सागर हुन पुगेको छ । यसले एकपटक राम्रै झस्का दिएको छ । आशा गरौ यस्ता झस्काको पुनरावृत्ति हुँदै जाओस्, ताकि यस सम्बन्धी निद्रा सदाका लागि अन्त्य गर्न सकियोस् ।rijal.darshan@gmail.com

हामीले लत्याएको, विश्वले पछ्याएको हाम्रो प्राचिन पूर्वीय ज्ञान


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment