विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ

विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ
Please Like and Share our website Samay Dainik
  • 49
    Shares

गान्तोक, 8 अक्टोबर।
सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेज र युनिभर्सिटीमा भर्ना नपाएकोमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले दुख व्यक्त गरेका छन्। धेरै सङ्ख्यामा यस वर्ष सिक्किमका विद्यार्थीहरूले सिक्किमकै कलेजमा भर्ना नपाएको कारण विद्यार्थीहरू अहिले धेरै चिन्तित छन्। यस प्रकारको कार्यले सिक्किमका हजारौं विद्यार्थीहरूको भविष्यमाथि ठूलो प्रश्‍न चिन्ह खड़ा गरेको छ। राज्यका हजारौं सङ्ख्यामा विद्यार्थीले भर्ना नपाएको कुरा अति नै गम्भीर विषय हो भन्दै पूर्व मुख्यमन्त्री पवन चामलिङले भनेका छन्, 70 प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले पनि कलेजमा भर्ना पाएका छैनन्। यी विद्यार्थीहरूको शिक्षा सुनिश्‍चित गर्नु सरकारको जिम्मेवारी र प्राथमिक दायित्व पनि हो। यसरी नै विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नुपर्ने सरकारको प्रमुख दायित्व हो।

यस वर्ष जति पनि विद्यार्थीले 12औं श्रेणी उतीर्ण गरेका छन् उनीहरूले कलेजमा भर्ना पाउनुपर्छ भन्दै पवन चामलिङले अझ भनेका छन् आज सिक्किममा धेरै सङ्ख्यामा कलेज र युनिभर्सिटीहरू छन्। अहिले राज्यमा 28 वटा कलेज र 6 वटा प्राइभेट युनिभर्सिटी अनि एउटा केन्द्रिय विश्‍वविद्यालय र एउटा राज्य विश्‍वविद्यालय पनि छ। दुईवटा छोड़ेर अरूसबै उच्च शैक्षिक संस्थानहरू एसडीएफ सरकारको कार्यकालमा हामीले स्थापित गरेको हो। पवन चामलिङले भनेका छन्, जब मैले 1994 मा सत्ता सम्हालें त्यस समय केवल एउटा कलेज र एउटा रात्री विधि कलेज मात्र थियो। सिक्किमलाई देशकै सबैभन्दा शिक्षित राज्य बनाउने र हाम्रा विद्यार्थीहरूले यी कलेजहरूमा पढ्ने अवसर प्राप्त गरून् भनेर हामीले प्राथमिकताका साथ यी संस्थानहरूको स्थापना गरेको हो। उच्च शिक्षित नागरिकहरूको सिर्जना गरेर उनीहरूले प्रजातान्त्रिक संस्थान र राज्यमा प्रजातान्त्रिक संस्कार बनाउन् भन्ने हाम्रो उद्देश्य थियो। यसरी नै गुणस्तर मानवीय समाजको सिर्जना गर्ने उद्देश्यमा पनि हामीले धेरै सङ्ख्यामा उच्च शैक्षिक संस्थानहरू स्थापना गरेका हौं। राज्यको विकास र प्रगतिमा अर्थपूर्ण योगदान दिनसक्ने नागरिकहरू तयार गर्न नै उच्च शैक्षिक संस्थानहरू स्थापना गर्ने कुरामा हामीले जोड दिएका हौं।

पवन चामलिङले अझ भनेका छन्, आर्थिक कम्जोरीका कारण कुनै पनि विद्यार्थी अध्ययन गर्ने आफ्नो मौलिक अधिकारबाट वञ्चित नहुन् भनेर नै हामीले कलेजस्तरसम्म शिक्षालाई निशूल्क गरेका हौं। यी संस्थाहरूमा विद्यार्थीहरूको रूचीअनुसार पाठ्यक्रम शुरू गरायौं। आफ्नो रूचीअनुसारको विषयमा सिक्किमका विद्यार्थीले सिक्किममै पढ्न पाउन् भनेर यस कुरालाई प्राथमिकता दिएको हो। यदि कसैले पढ्न सक्दैन भने उनीहरूका लागि पनि हामीले शिक्षा सुलभ बनायौं। देशका निम्ति सिक्किममा अति नै शिक्षित, योग्य र क्षमतावान युवाहरूको तयारी गर्नु हाम्रो लक्ष्य हो। एसडीएफ सरकारले बजेटको 20 प्रतिशत भन्दा अधिक भाग शिक्षाका लागि समर्पण गरेको हो। शिक्षा क्षेत्रमा यति धेरै बटेज छुट्याउने सिक्किम देशको एक्लो राज्य हो। विद्यार्थीहरूका लागि यो हाम्रो प्रतिबद्धता हो। हामीले विद्यार्थीहरूलाई गरेको वादा हो।शिक्षा क्षेत्रमा एसडीएफ सरकारको कार्याकालमा लिएका महत्त्वपूर्ण निर्णय र नीतिहरूमाथि बोल्दै पवन चामलिङले भनेका छन्, शिक्षक विद्यार्थीको अनुपात देशमा नै सर्वाधिक हुनु हाम्रो उपलब्धीहरूमाथि एउटा हो। यो शिक्षक विद्यार्थीहरूको अनुपात उत्कृष्ट गर्नुको उद्देश्य विद्यार्थीहरूलाई गुणस्तर शिक्षा दिने कुरालाई सुनिश्‍चित गर्नु हो।

एसडीएफ सरकारले देशमा नै प्रथमपल्ट क्षमता विकास संस्थान स्थापना गरेको अनि दक्षिण सिक्किमको कर्फेकटारमा वर्ष 2003-मा नै क्षमता विकासका लागि आवश्यक पूर्वाधार सम्पन्न बनाएको बताउँदै पवन चामलिङले भनेका छन्, यति धेरै पूर्वाधारहरूको विकास गर्दा पनि आज विद्यार्थीहरूले भर्ना नपाउने कुरा अति नै दुर्भाग्यपूर्ण विषय छ। यसरी नै एसडीएफ सरकारमा विद्यार्थीहरूलाई रोजगारमुखी प्रशिक्षण दिनलाई 41 वटा जीविकोपार्जन स्कूलहरूको स्थापना गरेको उनले बताएका छन्। जुन विद्यार्थीहरू निरन्तर शिक्षाका लागि असफल हुन्छन् उनीहरूको भविष्य सझाउनका लागि यसरी क्षमता विकास संस्थान र जीविकोपार्जन स्कूलहरू सिर्जना गरेको पनि स्मरण गराएका छन्। यसरी नै कुनै पनि सिक्किमका विद्यार्थीले विश्‍वको 20 वटा नामी विश्‍वविद्यालयमा भर्ना पाउँछ भने त्यो विद्यार्थीलाई मुख्यमन्त्री निशुल्क छात्रवृत्ति योजनामार्फत सरकारले पढ़ाईदिने जस्तो कार्यक्रम शुरू गरेको स्मरण गराएका छन्। वर्तमान सरकारले यो योजनालाई नरबहादुर भण्डारी फेलोशिप छात्रवृत्ति योजना नामकरण गरेको कुरालाई स्वागत जनाउँदै पवन चामलिङले यसलाई असल कार्य बताएका छन्। यसरी नै एसडीएफ सरकारले राज्यबाहिर अध्ययन गर्ने विद्यार्थीहरूका लागि व्याजरहित शिक्षा लोनको व्यवस्था मिलाएको पनि उनले स्मरण गराएका छन्। सबैलाई समान अवसर प्राप्त होस् भन्ने उद्देस्यले योजनाहरू कार्यन्वयन गरेको बताउँदै पवन चामलिङले भनेका छन्, जबसम्म समान अवसर प्राप्त हुँदैन तबसम्म सामाजिक समानता सुनिश्‍चित हुनसक्दैन। सामाजिक समानता र समान अधिकार नभए समाजको विकास पनि समान रूपमा हुँदैन। यदि सामाजिक विकास समान ढङ्गमा भएमात्र नागरिकहरूले आफ्नो प्रजातान्त्रिक अधिकार र दायित्वलाई निर्वाह गर्न सक्छन्।

वर्ष 1994-मा सरकार गठन गर्दा सिक्किमको साक्षरता दर 56 प्रतिशत भएको र एसडीएफ सरकारको कार्यकालको अन्त्यसम्ममा 96.72 प्रतिशतसहित देशमा नै उच्च साक्षरता दर दर्ता गर्न सफल भएको कुरा पनि पवन चामलिङले स्मरण गराएका छन्। 20औं शताब्दीको दोस्रो दशकदेखि मात्र सिक्किममा शिक्षा शुलभ बन्दै आएको र 21औं शताब्दीको दोस्रो दशकमा नै साक्षर राज्य बन्न सकेको पनि उनले जनाएका छन्। यति छोटो अवधिमा शिक्षा सुलभ बनाएर शत प्रतिशत साक्षरताको सफलता हासिल गर्ने विश्‍वमा कुनै पनि राज्य नभएको पनि उनले बताएका छन्। विश्‍वकै सबैभन्दा बेस्ट शिक्षा प्रणालि सिर्जना गर्नकालागि एसडीएफ सरकारले जुन दायित्व निर्वाह गरेर त्यसको परिणाम हासिल गरेको छ त्यसले सिक्किमलाई नै गौरवान्वित तुल्याएको बताउँदै पवन चामलङले भनेका छन् यो कुरालाई सिक्किमका विद्यार्थी र शिक्षकहरूले बुझ्न आवश्यक छ। विद्यार्थी र शिक्षकहरूको अथक परिश्रम र त्यागले नै फिनल्याण्ड जस्तै बन्न सकिन्छ। जसरी फिनल्याण्डमा आफ्नो स्कूलको स्वामित्व शिक्षकहरू स्वयंले लिनेगर्छन् अनि अध्ययनको स्वामित्व विद्यार्थीहरूले लिनेगर्छन्। यसरी नै सरकारले पनि एक दक्ष सेवा प्रदाताको भूमिका निर्वाह गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। सरकारको गहण जिम्मेवारी भनेको नीति र कार्यक्रमहरू तयार गरेर विद्यार्थी र शिक्षकहरूका लागि एउटा सही परिवेश सिर्जना गर्नु हुन्छ। यसर्थ गुणस्तर शिक्षाका लागि सरकारसितै शिक्षक र विद्यार्थीहरूको पनि महत्त्वपूर्ण दायित्व हुन्छ र यो गम्भीर विषयलाई सिक्किमका बुद्धिजीविहरूले पनि चिन्तन गर्नुपर्ने कुरामा पवन चामलिङले जोड दिएक छन्।

कुनै पनि विद्यार्थीहरूको भविष्य अन्धकार नहोस् भन्ने कुरालाई राज्य सरकारले सुनिश्‍चित गर्नुपर्ने र उच्च शिक्षा अध्ययन गर्न चाहने सबै विद्यार्थीहरूलाई भर्ना प्राप्त हुनुपर्छ भनेर पवन चामलिङले विद्यार्थीहरूको पक्षमा राज्य सरकारलाई सुझाउ दिएका छन्। विद्यार्थीहरूलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले समयको मुल्य बुझ्ने यो एउटा अवसर हो भनेका छन्। जीवनको अन्तिम क्षणसम्म पनि अध्ययन गर्ने काम कहिल्यै सकिँदैन भन्दै पवन चामलिङले भनेका छन्, एक दक्ष, सफल र असल नागरिक बन्नका लागि विद्यार्थीहरूले स्वयं तयारी गर्नुपर्दछ। आफ्नो जीवन आफैं जिउने लक्ष्य प्राप्तिका लागि स्वयंलाई सशक्त बनाउने र स्वयं निर्णय गर्न सक्षम बन्ने प्रेरणा पनि पवन चामलिङले दिएका छन्। आफ्नै विश्‍व सिर्जना गर्ने र स्वयंलाई यो वर्तमान विश्‍वमा एउटा मूल्यमान पुँजीका रूपमा तयार गर्ने प्रेरणा दिँदै विद्यार्थीहरूलाई अझ भनेका छन्, यो नयाँ विश्‍वको नागरिकका रूपमा विद्यार्थीहरू प्रगतिको इञ्जिन बन्नुपर्छ। यसका लागि नविन सोंच र नविन विचार तर्फ अग्रसर हुने प्रेरणा पनि उनले दिएका छन्।

स्वस्थ पौधाका लागि स्वर्थ माटो आवस्यक हुन्छ यसरी नै स्वस्थ पौधा भए मात्र त्यसबाट राम्रो फलको आशा गर्न सकिन्छ भन्दै पवन चामलिङले भनेका छन्, गुणस्तर र जीवनमुखी शिक्षा भएमात्र असल नागरिक बन्न सकिन्छ। शिक्षा जीवनमुखी र मूल्य आधारित हुनुपर्छ। समाजका लागि उपयोगी हुनुपर्छ भन्दै पवन चामलिङले विद्यार्थीहरूलाई प्रमाण पत्र पाउनका लागि मात्रै शिक्षा आर्जन नगरेर जीवनका लागि स्वयंलाई सशक्त बन्ने शिक्षातर्फ सोच्ने पनि सल्लाह दिएका छन्। यसो गर्नसके मात्र हाम्रा शिक्षा प्रणालीमार्फत सन्तुलित नागरिक र समाजका लागि असल मानव तयार गर्न सकिने पवन चामलिङले बताएका छन्।
विद्यार्थीहरूलाई सफल बन्नका लागि समर्पित हुने, कठिन परिश्रम गर्ने र अनुशासित बन्ने प्रेरणा दिँदै पवन चामलिङले यो नै सफलताको कुञ्जी हो भनेका छन्।

विद्यार्थीहरूको शिक्षाको अधिकारलाई सुनिश्‍चित गर्नु, सरकारको प्रमुख दायित्व हो : पवन चामलिङ


Please Like and Share our website Samay Dainik
  • 49
    Shares

Related posts

Leave a Comment