जिल्लापालद्वारा इण्डेन बोटलिङ प्लान्टको निरीक्षण

जिल्लापालद्वारा इण्डेन बोटलिङ प्लान्टको निरीक्षण

गान्तोक, 29 जून। पूर्व जिल्लाका जिल्लापाल कपिल मिनाले शनिबार रम्फूस्थित इण्डेन बोटलिङ प्लान्ट र रम्फू डिपोको भ्रमण गरेका छन्। डिपोका वरिष्ठ प्रबन्धक आर सनलले जिल्लापाललाई स्वागत गर्दै एकाइको सञ्चालन र सुरक्षा विषय जानकारी दिए। जिल्लापालले एकाइमा उपलब्ध सुविधाहरूको जायजा लिँदै सञ्चालनको समीक्षा गरे। यसपछि, जिल्लापाल मिनाले इण्डेन बोटलिङ प्लान्टको भ्रमण गरे। उनलाई संयन्त्रका प्रबन्धक सुमन तामाङले स्वागत जनाए। प्रबन्धक तामाङले संयन्त्रको सञ्चालन एवं सुरक्षाबारे विस्तारपूर्वक जानकारी दिए। उनले सुरक्षालाई लिएर संयन्त्रमा आयोजना गरिने गतिविधिहरूका साथै उपलब्धिहरूमाथि पनि प्रकाश पारे। उनले संयन्त्रमा एलईडी लाइट जडान गरिएको, सौर ऊर्जा संयन्त्र र वर्षा जल सञ्चयन प्रणाली पनि लागू गरिएको जानकारी दिए। संयन्त्रले आफ्नो सीएसआर पहलअन्तर्गत सिङलेबुङ सरकारी निम्न माध्यमिक स्कूलको शौचालय निर्माण र सरकारी आइटीआइ रम्फूमा कम्प्यूटर प्रदान गरिएको जानकारी दिए। जिल्लापाल मिनाले संयन्त्रको भ्रमण गरेपछि ‘ओ’ रिङ्ग लिक डिटेक्टर मसिन र भेल्ब लिक डिटेक्टर मसिनको उद्घाटन गरे। राज्यपालले संयन्त्र अनि डिपोद्वारा राज्यमा निरन्तर रूपमा एलपीजी आपूर्ति भइरहेको र सही ढंगमा सुरक्षा अभ्यास पालन गरेकोमा सराहना गरे।-हिस/बिशाल

आम बिहारी कल्याण मञ्चका सदस्यवर्गले राज्यपाललाई भेटे

आम बिहारी कल्याण मञ्चका सदस्यवर्गले राज्यपाललाई भेटे

रम्फू, 29 जून। आम बिहारी कल्याण मञ्च, सिक्किमको प्रतिनिधि टोलीले आज राज्यपाल गंगा प्रसादसँग गान्तोकस्थित राजभवनमा भेट गरेको छ। मञ्चका सभापति छोटेलाल प्रसादको साथमा मुख्य सल्लाहकार अनिलकुमार गुप्ता, उपसभापति बबिता प्रसाद, राज्य सचिव चन्दन प्रसाद, एमजी मार्गका सभापति हृदय आनन्द प्रसाद, जिल्ला अध्यक्ष सुरेश प्रसाद, सचिव सन्तोष प्रसाद, सहसचिव प्रभात झा, लालबजार शाखा उपाध्यक्ष कमलेश प्रसाद, सचिव सुबोध ठाकुर, पंकज प्रसाद, अरूण शर्मा, सन्तोष शर्मा, सल्लाहकार रामायण शर्मा, शंकर दयाल प्रसाद, अशोक ठाकुर, अजित प्रसाद र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। राज्यपालसितको भेटमा यस टोलीले मञ्चद्वारा पाँच वर्षदेखि राज्यका विभिन्न क्षेत्रमा चलाइरहेको समाज सेवाका गतिविधिहरूबारे जानकारी गराएको छ। राज्यपाल प्रसादले टोलीलाई सम्बोधन गर्दै मञ्चद्वारा गरिएका कार्यहरूको प्रशंसा गरे।

एनआरसी लागू गरेर गोर्खालाई देशबाट खेद्ने खेल हुँदैछः विनय तामाङ

एनआरसी लागू गरेर गोर्खालाई देशबाट खेद्ने खेल हुँदैछः विनय तामाङ

समय संवाददाता दार्जीलिङ, 29 जून। भारतीय जनता पार्टीले गोर्खा समुदायलाई देशबाटै खेद्ने खेल शुरू गरिसकेको गोजमुमो अध्यक्ष विनय तामाङले आरोप लगाएका छन्। उनले भनेका छन्, भाजपाले बारम्बार गोर्खा जातिलाई चिन्हारी दिन्छौं भन्दै गोर्खाकै छात्तीमा एनआरसीमार्फत विदेशीको लाञ्छना लगाएर देशबाट नै खेद्ने खेल शुरू गरिसकेको छ। आजसम्म भारतीय गोर्खाहरूको त्याग, तपस्या अनि बलिदानलाई केन्द्र सरकारमा रहने कुनै पनि पार्टीले महत्त्व दिएको छैन। हामी गोर्खाको नाम राष्ट्रिय स्तरमा घरिघरि आइरहने गर्छ, कहिले नेपाली अनि कहिले भारत-नेपाल सन्धिलाई आधार बनाएर। गोर्खा जातिलाई अप्रवासीको लाञ्छना लगाउने कुरा कुनै नौलो होइन। तर त्यतिले मात्रले सन्तुष्ट नभएर अहिले एनआरसीको माध्यमबाट गोर्खालाई आधिकारिकरूपमा विदेशी प्रमाणित गर्न भारत सरकार लागिपरेको छ। जसको प्रत्यक्ष उदाहरण असममा लागू भएको एनआरसीमा गोर्खाहरूप्रति भएको भेदभाव हो। घरि स्वतन्त्रता सेनानी छविलाल उपाध्यायको परिवारलाई एनआरसीको नोटिस आउँछ। घरि असमदेखि विदेशी खेद्ने आन्दोलनको पहिलो महिला शहीद बैजन्ती देवीको परिवार एनआरसीको निम्ति अयोग्य ठहरिन्छ। स्मरण रहोस्, अहिले असममा लागू भएको एनआरसी बैजन्ती देवीको बलिदानको प्रतिफल हो। त्यसताक भारत सरकार र आन्दोलनकारीबीच भएको सम्झौताको अंश हो एनआरसी। बैजन्ती देवीको परिवारलाई एनआरसीको चपेटमा पुर्याउने केन्द्र सरकारको नीतिलाई हामी घोर भत्सर्ना जनाउछौं, तामाङले भनेका छन्। उनले भनेका छन्, वर्तमान केन्द्रिय गृहमन्त्री अमित शाहले 17औं लोकसभा चुनाउपछि भाजपाले बंगालमा पनि एनआरसी लागू गर्ने बताएका थिए। भाजपाले आफ्नो राजनैतिक स्वार्थलाई हेरेर… Read More

सुङदुङ छुजाचेनमा पैह्रोले घर पुरियो

सुङदुङ छुजाचेनमा पैह्रोले घर पुरियो

रिनाक, 29 जून। गत 28 जूनमा आएको भीषण पानीको भलले पैह्रो चलाएर छुजाचेन सुङदुङ निवासी तितश राईको घर पुरेको छ। कुनै ज्यानको क्षति नभएपनि पहिरो अनि भलले घर पुरिँदा सम्पूर्ण सामान क्षति बनेको बताइएको छ। यस घरमा स्व. इच्छाबहादुर राईको जेठा छोरा अनि कान्छी छोरी, साइला छोरा सुवास राई र कान्छा छोरा रामकुमार राईका परिवार बस्दै आइरहेका थिए। उसमध्ये तितस राई माइला छोरा हुन्, जुन घर उनकै नाममा थियो। यसरी आज छुजाचेनका हेल्पिङ ह्याण्ड समूहद्वारा घरको पुनःस्थापना गरिन सहयोग गरियो भने समूहद्वारा अन्य संघ-संस्थाहरूलाई सहयोगको अपील गरिएको छ। अर्कोतिर, साई समिति संगठन सुङदुङ, योडेस एनजीओद्वारा पनि पीडित परिवारप्रति आर्थिक सहयोग गरियो भने छुजाचेन ग्राम पञ्चायत एकाइको अन्य स्रोत राजस्वद्वारा सर-सामानको नगद राशी रु. दश हजार प्रदान गरिएको ग्राम विकास सहायक अमर गुरुङले बताएका छन्। यस क्षेत्रमा महकुमा अधिकारी रंगेलीलगायत रिगु बीएसीका बीडीओ, आरएमडीडीका अभियन्ताहरूद्वारा निरीक्षण गरिएको थियो। अहिले सीमा सडक संगठन (बीआरओ) ग्रेफद्वारा सडकको ब्याक कटिङ भएको लिङ्ताम क्षेत्रमा गए राति ठूलो पैह्रो जानले रंगेलीदेखि लिङ्ताम फदामचेन जाने आरएन रोड अवरोध भएको जानकारी रहेको छ। यस रोडलाई खुल्ला गर्न बीआरओ जवानहरू सक्रिय रहेका छन्।

एनडीआरएफले सराहनीय कार्य गरिरहेको छः अमित शाह

एनडीआरएफले सराहनीय कार्य गरिरहेको छः अमित शाह

नयाँ दिल्ली, 29 जून। केन्द्रिय गृहमन्त्री अमित शाहले राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ)-ले देश-विदेशमा आपदा संकटको समय मानिसहरूलाई सहयोग गरिरहेको बताएका छन्। उनले एनडीआरएफसित जुडेका मानिसहरूलाई बधाई दिँदै आपदाहरूको समय जुन प्रकारले एनडीआरएफले काम गरेको छ त्यो सराहनीय रहेको बताएका छन्। शाहले एनडीआरएफद्वारा आज विज्ञान भवनमा आयोजित राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) -को क्षमता निर्माणमाथि दुई दिवसीय वार्षिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘देशका 24 राज्यहरूमा एसडीआरएफको गठन भइसकेको छ। अब नागपुरमा एउटा ठूलो सेन्टर पनि बनाइनेछ। एनडीआरएफलाई अझ अधिक बलियो बनाउनको निम्ति विभागलाई हरसम्भव सहयोग प्रदान गरिनेछ। आपदा प्रबन्धन क्षेत्रका चुनौतीहरूलाई तबमात्र समाधान गर्न सकिन्छ जब सबै टीमहरूसित यससित लड्ने पर्याप्त संसाधन उपलब्ध हुन्छ। यदि यी संसाधन आफ्नो देशमा बनाइए अझ राम्रो हुनेछ। यसको निम्ति एनडीआरएफका अधिकारीहरूले रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ)-सित वार्ता गरेर देशमा जरूरी उपकरणहरूको निर्माण गरून्।’-हिस/भवानी

आर्सिस टेबल टेनिस प्रतियोगितामा एनपीएस-को टीम बन्यो च्याम्पियन

आर्सिस टेबल टेनिस प्रतियोगितामा एनपीएस-को टीम बन्यो च्याम्पियन

नाम्ची, 29 जून। नाम्ची पब्लिक स्कूल (एनपीएस) को पुरुष तथा महिला दुवै वर्गको टीम यस वर्षको आर्सिस टेबल टेनिस प्रतियोगिताको च्याम्पियन बनेको छ। यो प्रतियोगिता एनपीएसले स्कूलको स्टेट अव् दि आर्ट मल्टिपर्पोस् अडिटोरियममा आयोजना गरेको थियो। प्रतियोगिताअन्तर्गत एनपीएसका एरोन पोर्तेल विश्‍वकर्मा र डन बस्को स्कूलकी कूनाम हाङ्मा लिम्बू क्रमश पुरुष तथा महिला वर्गबाट उदीयमान खेलाडी घोषित भए। प्रतियोगितामा डन बस्को स्कूल मालबाँसे पहिलो उपविजेता बन्यो भने सन्त फ्रान्सिस स्कूल, जोरथाङ दोस्रो उपविजेता बन्यो। यो प्रतियोगितामा सन्त जेभियर स्कूल पाकिमले पनि सहभागिता जनाएको थियो। प्रतियोगिताका विजेता तथा उविजेता टीमलाई एनपीएस स्कूलका निर्देशक रेभ, फादार जर्स ए डिसूजाले पुरस्कार प्रदान गरेका थिए।

ट्राफिक नियम र सडक सुरक्षा विषय जागरूक कार्यक्रम

ट्राफिक नियम र सडक सुरक्षा विषय जागरूक कार्यक्रम

मगन, 29 जून। लिटल फ्लावर निम्न माध्यमिक स्कूलका विद्यार्थीहरूलाई ट्राफिक प्रबन्धनको विभिन्न पक्षहरूसितै ट्राफिक नियम र सडक सुरक्षा विषय जागरूक गराइएको छ। 28 जूनको दिन आयोजित यो कार्यक्रममा स्कूलका सातौं र आठौं श्रेणीका विद्यार्थीहरूले भाग लिए। विद्यार्थीहरूले ट्राफिक पुलिससित मिलेर ट्राफिक प्रबन्धनको अभ्यास पनि गरेका थिए। यसरी नै ट्राफिक पुलिसको तर्फबाट पनि विद्यार्थीहरूलाई व्यस्त सडकमा ट्राफिक प्रबन्धन गर्ने विधिबाहेक पार्किङ स्थलमा वाहनहरूको प्रबन्धन विषयमा पनि ज्ञान प्रदान गरियो।

तर्क प्रतियोगिता विषय समन्वय सभा

तर्क प्रतियोगिता विषय समन्वय सभा

पाकिम, 29 जून। पाकिमस्थित समुदायिक हलमा 205औं भानु जयन्ती समारोह समितिले तर्क प्रतियोगिताको सहभागिता विषय समन्वय सभा आयोजना गरेको छ। भानु जयन्ती समारोहका संयोजक एनके सुब्बाको अध्यक्षतमा आयोजित यो सभामा नाम्चेबुङ उच्च माध्यमिक स्कूल र सन्त जेभियर स्कूल पाकिमलाई तर्क प्रतियोगिताको फाइनलका निम्ति चयन गरिएको छ। भानु जयन्तीको दिन वर्तमान शिक्षा प्रणाली सन्तोषजनक छ छैन भन्ने विषयमा तर्क हुनेछ।

बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरियो

बिरुवा रोप्ने कार्यक्रम सम्पन्न गरियो

नाम्ची, 29 जून। दक्षिण सिक्किमको मारनाथा यूनाइटेड चर्चले आज मल्ली रोडदेखि रबिटार माङहिमसम्म बिरूवाहरू रोपे। यस अवसरमा उनीहरूले गत वर्ष रोपेका बिरूवाहरूको गोढमेल पनि गरे। उल्लेखनीय छ, 2013 मा स्थापना भएको यस चर्चले विभिन्न अवसरहरूमा यस प्रकारका सामाजिक कार्यहरू गर्दै आइरहेको छ। स्वच्छ पार्यवरण आदिको सम्बर्द्धन र विकास आदि गर्नको लागि नै यस संस्थाको स्थापना भएको हो। मारनाथा यूनाइटेड चर्चमा बिलिभर इस्टन चर्च (भञ्ज्याङ), गडयुनियन प्रियर टावर एण्ड चर्च (सिवोन भेल्ली), न्यू लाइफ फेलोसिप चर्च (माङहिम रबिटार) र एचईपीजेटईबीवाइए पेन्टीकोस्टल चर्च एण्ड ब्रान्चेस चर्च (घुर्पीसे) संलग्न रहेका छन्।

साक्योङमा बिरूवा रोप्ने कार्यक्रम आयोजित

साक्योङमा बिरूवा रोप्ने कार्यक्रम आयोजित

सिङताम, 29 जून। चिसोपानी निम्न माध्यमिक स्कूल साक्योङमा पर्यावरण संरक्षणअन्तर्गत बिरूवा रोप्ने कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा स्थानीय जनकल्याण संघको पनि सहभागिता रहेको थियो। कार्यक्रममा बिरूवा रोप्नुबाहेक पुराना बोट बिरूवा र फुलहरूको गोडमेल पनि गरिएको छ। संघका सभापति बीबी छेत्रीसित कार्यक्रममा केबी छेत्री, अशोक प्रधान र अन्य सदस्यहरूको पनि उपस्थिति थियो। यसरी नै स्कूल प्रबन्धन समितिका सभापति विकास राई, पीबी तामाङ, सल्लाह बीपी पाण्डे र टीआर बानियासहित स्कूलका शिक्षक शिक्षिकागणको पनि उपस्थिति थियो।