समय दैनिक

समय दैनिक सिक्किमको राजधानी गान्तोकबाट प्रकाशित हुने नेपाली दैनिक समाचार पत्र वर्ष 2004 को 1 जनवरीदेखि नियमित रूपमा पाठक माझ पुग्दै आएको छ। दैनिक हजारौं पाठक माझ पुग्ने समय दैनिक सिक्किमलगायत पश्‍चिम बङ्गालका नेपाली भाषी क्षेत्रहरूको लोकप्रिय दैनिक समाचार पत्र हो। आफ्नो स्थापना कालदेखि नै यस समाचार पत्रले विकास पत्रकारिता र ग्रामिण पत्रकारितालाई उच्च प्राथमिकता दिँदै पत्रकारिताको नविन स्वाद र प्रयोग पाठकमाझ पस्कँदै आएको छ। सिक्किमको ढुकढुकी बनिसकेको समय दैनिक वर्ष 2008 देखि रङ्गिन कलेवरमा प्रकाशित हुँदै आएको आठ पृष्ठको समाचार पत्र हो। यसमा सिक्किम लगायत पश्‍चिम बङ्गालको दार्जीलिङ जिल्ला र डुवर्स क्षेत्रका विभिन्न समाचारहरूलाई उच्च प्राथमिकता दिँदै आएको यस समाचार पत्रमा पूर्वोत्तर भारत लगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय समाचारहरू प्रकाशन हुँदै आएका छन्।पाठकको विश्‍वसनीयतामा सधैं खरो उत्रिएको यस समाचार पत्रले जनताको आवाजलाई सशक्तरूपमा उठाउँदै आएको छ। यसका साथै खेलकूद तथा मनोरञ्जन लगायत अन्य विभिन्न ज्ञानवर्द्धक सामग्री पाठकलाई दिँदै आएको समय दैनिकले अनेकौं विचार प्रधान लेख रचनाहरू नियमित रूपमा प्रकाशन गर्दै आएको छ। पाठकलाई विभिन्न प्रकारका सामग्री उपलब्ध गराउने समय दैनिकले वर्ष 2005 र 2010 मा समय कथा प्रतियोगिताको पनि आयोजन गरी नेपाली भाषा साहित्यको सेवा गर्दै आएको छ। अब समय  दैनिकलाई विश्वको  कुनै पनि स्थानमा बसेर पढन सकियोस भनेर यसको ई-पेपर सहित वेभ पेज पनि पाठकहरूको सुविधाका  निम्ति  तयार भएको छ।यस अतिरिक्त भारत देशको एक मात्र पहिलो पूर्ण जैविक राज्य सिक्किम  भएको कारण वेभ पेजमा जैविक खेतीलाई छुट्टै स्तम्भका रूपमा शुरू गरेर विश्वलाई अहिंशक खेती तर्फ ज्ञान साझा गर्ने प्रायस गरिएको छ। यसरी नै स्वच्छता,  शान्ति, नवान्वेषी विकास कार्यक्रम, पर्यावरण संरक्षण,दिगो विकास नीति,पर्यटन आदि विषयमा सिक्किम राज्यको सन्देश साझा गर्ने प्रयास जारी छ। यसका साथै स्थानीय लेखक तथा सिर्जनधर्मीहरूलाई उच्च प्राथमिकताका साथ स्थान दिने समय दैनिकले यस भेगमा अनेकौं कलमकारहरूलाई स्थापित गरिसकेको तथ्य कसैबाट लुकेको छैन। यस समाचार पत्रका प्रकाशक एसके प्रधान हुन् भने प्रधान सम्पादक रोबिन राई अनि सम्पादक डिल्लीराम दुलाल रहेका छन्।

समय दैनिक