ब्लकस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

ब्लकस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
Please Like and Share our website Samay Dainik

राज्य सरकारले स्नातकसम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छः के.टी. ग्याल्छेन

गान्तोक, 11 फरवरी।
नाण्डोक खण्ड विकास केन्द्रको तत्वावधानमा स्वच्छ भारत अभियान विषयमा आधारित एक दिने ब्लकस्तरीय हाजिरी जवाफ प्रतियोगिता नाण्डोक खण्ड विकास केन्द्रको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्रीका कानुनी सल्लाहकार के.टी. ग्याल्छेन मुख्य अतिथि थिए भने सिक्किम सरकारको ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिव सीएस राव विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि के.टी. ग्याल्छेनले नाण्डोक बीएससी-को पहल अनि प्रतियोगितामा भाग लिने विद्यार्थीहरूको प्रतिभाप्रति आफू खुशी रहेको बताए।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले पढ्नु केवल पास हुनको निम्ति मात्र नभएर बुझ्नको निम्ति हो भन्दै विद्यार्थीहरूले पढेर बुझे अवश्य पनि सफलता पाउनसक्ने अनि सफलता भाग्यमा मात्र नभएर मेहनत र परिश्रमममा लुकेको पनि बताए। राज्य सरकारले सामाजिक अनि आर्थिक रूपमा कम्जोरवर्गका नानीहरूले पनि राम्रो स्कूलहरूमा पढ्न पाउन भन्ने सरकारको कार्यक्रम रहेेको बताउँदै उनले राज्य सरकारले स्नातकसम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको अवगत गराए। उनले प्रत्येक सरकारी स्कूलहरूमा पढ्ने विद्यार्थीहरू पनि पब्लिक स्कूलमा पढ्नेहरूसँग प्रतियोगितामा बस्नसक्ने हुनुपर्छ भन्दै उनले विद्यार्थीहरूलाई अघि बढ्न संघर्ष गर्ने सल्लाह दिए। उनले स्वच्छता मानिसहरूको स्वास्थ्य अनि प्रकृतिसँग जोडिएको विषय हो भन्दै स्वच्छतालाई हल्का नलिएर यसमाथि गहन मनन चिन्तन हुन आवश्यक रहेको पनि बताए। सिक्किमले खुल्ला शौचमुक्त राज्य अथवा निर्मल राज्यको पुरस्कार 2008-मै पाएको हो, यस्तो सफलताको पछि कुनै विचारधारा, नीति, सिद्धान्त र नेताको दिग्दर्शन लुकेको हुन्छ अनि यो सबै राम्रो राजनीतिज्ञ र राजनीति भएमात्र सम्भव छ भन्दै सिक्किममा असल नेतृत्व भएको कारण नै राम्रो काम भइरहेको पनि बताए। उनले राम्रो नेतृत्व भए सिक्किमले एक परिवार एक नोकरी जस्तो योजना, प्रत्येक घरमा सहुलियत पुर्याउने, घर बनाउने जस्ता योजनाहरू आउने जानकारी दिँदै यस्तो विचारहरूको कहिल्यै अन्त्य नहुने पनि बताए। सिक्किमले इकोफ्रेण्ली दिगो विकास, प्लास्टिक फ्री, सार्वजनिक क्षेत्रहरूमा धुम्रपान निषेधजस्ता नीतिहरूको कारण सिक्किम अघि रहेको उल्लेख गर्दै उनले सिक्किममा भौतिक स्वच्छता रहे तापनि मानिसले आफ्नो मानसिकतामा स्वच्छता ल्याउन आवश्यक रहेको पनि बताए।
यसरी नै आफ्नो सम्बोधनमा विशिष्ठ अतिथि तथा ग्रामीण प्रबन्धन एवं विकास विभागका सचिव सीएस रावले विद्यार्थीहरूले शिक्षार्जनको निम्ति धेरै संघर्ष गर्नुपर्ने बताए। उनले अहिले यूपीएससी-को परीक्षामा पनि स्वच्छता विषयका धेरै प्रश्‍नहरू सोधिने गरेको पनि जानकारी गराए। सचिव रावले सिक्किमका विद्यार्थीहरूले कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको निम्ति एकै पल्टमा गिभ-अप गर्ने गरेकाछन् र यो सरासर गलत हो, विद्यार्थीहरूले आफू सफल नहुँञ्जेलसम्म संघर्ष गरिरहनुपर्ने पनि बताए। उनले विद्यार्थीहरूले आफ्नोसँगै आफ्ना अभिभावकहरूको सपनालाई पनि माथि पुर्याउनुपर्छ भन्दै आमा बाबाको सपना पूरा गर्नु नै विद्यार्थीहरूको ड्यूटी हो भने। उनले सिक्किम प्रत्येक क्षेत्रमा स्वच्छ रहेको जानकारी दिँदै सिक्किम सरकारले यहाँको वातावरणलाई शुद्ध राख्न बाहिरबाट आउने कम्पनीहरूसँगको एमओयू-मा पनि यहाँको पर्यावरण विषयमा धेरै कुराहरू उल्लेख गरिएको पनि बताए। उनले सिक्किममा भएका दबाई कारखानाहरूदेखि अन्य सबै कारखानाहरूको निम्ति एमओयू-मा सिक्किमको झोडा, खोला, खोल्साहरूमा कम्पनीको भित्रको कुनै पनि निकास जान दिनु नहुने उल्लेख अनि यसमा सम्झौता गरिएको पनि जानकारी दिए। उनले आज हाजिरीजवाफ प्रतियोगितामा भाग लिने विद्यार्थीहरूलाई नजिकैको कुनै दबाई कारखानामा अध्ययन भ्रमणको निम्ति लाने नाण्डोक खण्डविकास केन्द्रलाई निर्देश दिएका छन्।
आजको प्रतियोगिताअन्तर्गत बुर्तुक निम्न माध्यमिक स्कूल, सौरेनी निम्न माध्यमिक स्कूल, नामोङ्ग निम्न माध्यमिक स्कूल, नान्दोक निम्न माध्यमिक स्कूल फाइनलमा प्रवेर गरेका थिए भने निम्न माध्यमिक स्कूलको प्रतियोगिता लोवर नाण्डोक निम्न माध्यमिक स्कूलले जित्न सफल बन्यो। यसरीनै उच्चतर माध्यमिक स्तरको प्रतियोगितामा लोवर स्यारी, आसामलिङ्जे उच्चतर माध्यमिक स्कूल, नान्दोक माध्यमिक स्कूल र तादोङ उच्चतर माध्यमिक स्कूलले भाग लिएका थिए। यस प्रतियोगितामा नाण्डोक स्कूलले प्रथम स्थान प्राप्त गर्न सफल बनेको थियो। कार्यक्रममा समाजसेवी छुङ्छुङ् छेत्रीलाई अभिनन्दन जनाइयो भने सन्स वुमन स्वयं सहायता समूहलाई प्रसशांपत्र प्रदान गरियो। यस अवसरमा नाण्डोक खण्डविकास अधिकारी साप्तिका राईले स्वागत भाषण राखेकी थिइन्। कार्यक्रममा विभिन्न स्कूलका विद्यार्थीहरू, शिक्षकगण, खण्ड विकास केन्द्रका अधिकारी साथै कर्मचारीहरूलगायत अन्यको उपस्थिति रहेको थियो। हाजिरी जवाफ प्रतियोगिताको कार्यक्रमको सञ्चालन दिवाकर बस्नेतले गरेका थिए।

ब्लकस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


Please Like and Share our website Samay Dainik

Related posts

One Thought to “ब्लकस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न”

Leave a Comment