पानीघट्टा चियाबगानः झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्ने अवस्था

पानीघट्टा चियाबगानः झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्ने अवस्था
Please Like and Share our website Samay Dainik

समय संवाददाता
दार्जीलिङ, 13 जनवरी।
चियाबगानमा बढ़िसकेको झार-जङ्गल अनि झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्छ। नत्र, कुनै पनि समय हात्ती वा अन्य जङ्गली जानवर आएर मानिसहरूमाथि आक्रमण गर्नसक्छ। आज पानीघट्टा चियाबगानको अवस्था यस्तै भएको छ र यस चियाबगानलाई सफा गर्नअघि पटेका पड्काएर जङ्गली जानवर भगाउनुपर्ने स्थिति छ। मिरिकदेखि केही टाड़ामा अवस्थित पानीघट्टा चियाबगान बन्द भएको लगभग 5 वर्ष भइसक्यो, तर अहिलेसम्म पनि यो चियाबगान खोलिने कुनै सम्भावना नै देखा परेको छैन। तरै पनि यस चियाबगानका केही श्रमिक अनि बासिन्दाहरूले यो चियाबगान खोलिने आशा मारेका छैनन्।
यसैकारण यो चियाबगानलाई सफा गरे, यसमा कोही न कोही चियाबगान सञ्चालन गर्नसक्ने मानिसहरू आकर्षित हुनसक्छन् अनि एक दिन यो चियाबगान पुनः खोलिनेछ, उनीहरूको आशा छ। स्थानीय मानिस वा चियाश्रमिकहरूको यस आशालाई विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा तराईका नेता नवराज छेत्रीका साथै अन्यले अझै बुलन्द पारिदिएका छन्। यसैले जङ्गली हात्ती तथा अन्य जानवरहरूको डर मनमा राखेर पनि झिनो आशाको साथ यो चियाबगानलाई साफ-सफाई गर्न अहिले यहाँका धेरै श्रमिकहरू दैनिकरूपमा बगानमा गइरहेका छन्। तर चियाबगान जानअघि उनीहरू पटेका पड्काएर जङ्गली जानवरहरू भगाउन बाध्य बनिरहेका छन्। छेत्रीले भने-लगभग 12 सय जनाको जीवन अघि बढ़ाउने पानीघट्टा चियाबगान अहिले औंसीको रात जस्तो निष्पट अँध्यारो बनिसकेको छ।
यसैले गत पूर्णिमाको अवसर पारेर यस चियाबगानको सफाई गर्ने अभियान चलाइएको छ। जीटीए अध्यक्ष अनित थापा, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङसित पनि यो चियाबगान खोल्नको लागि उचित पहल गरिदिने अपील गरिएको छ र उनीहरूकै सुझाउ र सल्लाहमा नै हाल यो चियाबगानलाई सफा गर्ने कार्य गरिन्दैछ। यदि यो चियाबगान किन्न वा सञ्चालन गर्नको लागि कुनै मालिक आए बाहिरबाट हेरेर नै फर्किनेछन्, किनभने यो चियाबगान जङ्गलमा परिणत भइसकेको छ। यसैले अहिले सबै मिलेर यो चियाबगानलाई सफा गर्ने कार्य शुरु गरिएको छ।
स्मरण गराइन्छ, 5 वर्षअघि दार्जीलिङ पहाड़का सम्पूर्ण चियाबगानका श्रमिकहरूको बोनस सम्झौता भएको थियो। श्रमिक सङ्गठनहरूको चापको कारण पहाड़का चियाबगान मालिकहरू सबै चियाबगानका श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिन राजी भएका थिए। तर त्यो बोनस दरअनुसार, चियाश्रमिकहरूलाई बोनस दिनअघि नै पानीघट्टा चियाबगानका मालिक बगानबाट बेपत्ता बनेका थिए। जो अहिलेसम्म पनि फर्किएर आएका छैनन् अनि यहाँका श्रमिकहरू अझैसम्म पनि बिचल्नीमा बाँच्न बाध्य बनिरहेका छन्। यसै अब यस चियाबगानलाई पुनः खोल्न लगाउन विनय तामाङपन्थी गोजमुमोको पक्षबाट उचित पहल भइरहेको छ भने यसमा गोजमुमो तराईले पनि सहयोग प्रदान गरिरहेको छ। यसैले हाल यो चियाबगान कसैले लिने वा सञ्चालन गर्ने कुनै ठोस पहल नभए तापनि यहाँका चियाश्रमिकहरूको आशा एकपल्ट फेरि बुलन्द बनेको छ। यसैले जङ्गली हात्ती वा अन्य जानवरहरूको डरलाई पर राखेर भए पनि यो चियाबगान खोलियोस् भन्ने दिशामा सबै लागिपरेका छन्।

पानीघट्टा चियाबगानः झोड़ी फाँड्नअघि पटेका पड्काउनुपर्ने अवस्था


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment