दार्जीलिङ खुल्लै रहनेछ आज

दार्जीलिङ खुल्लै रहनेछ आज
Please Like and Share our website Samay Dainik

समय संवाददाता
दार्जीलिङ, 7 जनवरी।
भोलि भारत बन्दावधि दार्जीलिङ पहाड़ भने खुल्लै रहनेछ। देशका कैयौं केन्द्रीय श्रमिक सङ्गठनहरूले 8 जनवरीको दिन श्रमिकहरूका विविध समस्या विषय लिएर आह्वान गरेको भारत बन्दमा जोइण्ट फोरमले दार्जीलिङ पहाड़लाई खुल्लै राख्ने घोषणा गरेको छ। यसबारे जोइण्ट फोरम नेता समन पाठकले भने, देशका राष्ट्रिय श्रमिक सङ्गठनहरूद्वारा डाकिएको भारत बन्दलाई जोइण्ट फोरमले नैतिक समर्थन जनाएको छ। तर पहाड़मा यो बन्द गरिनेछैन। किनभने दार्जीलिङ पहाड़ले अघिबाटै 105 दिनको कठोर बन्दको पीड़ा झेलिसकेको छ। यसैले पहाड़लाई फेरि बन्दतिर धकेलेर यहाँका जनतालाई दुःख दिनु उचित छैन। यसैकारण 8 जनवरी, 2020 -को भारत बन्दलाई जोइण्ट फोरम हिल सब्-कमिटीले नैतिक समर्थन जनाए पनि पहाड़ बन्द नगर्ने निर्णय लिएको उनले बताए।
विशेष केन्द्रको मोदी सरकार-2 -ले श्रमिकविरोधी, जनताविरोधी साथै राष्ट्रविरोधी नीति अप्नाएको विरोधमा नै देशका केन्द्रीय श्रमिक सङ्गठनहरूले 8 जनवरीको दिन भारत बन्दको आह्वान गरेका छन्। यी केन्द्रीय श्रमिक सङ्गठनहरूले श्रमिकहरूको न्यूनतम रोजी मासिक नभनेको पनि 21 हजार रुपियाँ हुनपर्ने, आवश्यक सामानहरूको मूल्य वृद्धिमाथि नियन्त्रण गर्नुपर्ने, नयाँ रोजगारको अवसर प्रशस्त गर्नुपर्ने साथै अन्य कैयौं मागहरूको लागि नै 8 जनवरी 2020 -को दिन भारत बन्दको आह्वान गरेका हुन्। यद्यपि, दार्जीलिङ पहाड़मा यो बन्द नहुने स्पष्ट भएको छ। तरै पनि आज दार्जीलिङको चौकबजारमा 8
जनवरीको भारत बन्द विषय लिएर केही पोस्टर पनि टाँसिएको छ। केन्द्र सरकारको नीतिको विरोधमा भोलि भारत बन्द भए पनि गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियनले यसबारे अहिलेसम्म कुनै सूचना नआएको बताउँदै यसमा समर्थन वा विरोध केही नरहेको बताएको छ।
सङ्गठनका मूलसचिव भरत ठकुरीले भने, प्रथमतः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा बन्द वा हड़तालको पक्षमा नै छैन। दार्जीलिङ पहाड़लाई बन्दमुक्त राख्ने पार्टी अध्यक्षको अड़ान छ, यसैले दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियनले पनि बन्द गर्ने कुनै निर्णय लिएको छैन।

दार्जीलिङ खुल्लै रहनेछ आज


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment