चामलिङका महाभूल?!

चामलिङका महाभूल?!
Please Like and Share our website Samay Dainik

चामलिङका महाभूल?!हामी, अर्थात् म र क्याप्टेन बडा शितालु डाँडाको वरिपरि लगाइएका लामा बेञ्चहरूमध्ये एउटामा बसेका थियौं अझै। तर हामी दुवै मौन थियौं अहिले। धेरै कुराहरू बडाले सुनाएपछि ऐले उनी अलिकति सुस्ताएका थिए। खासमा बडा ज्यादै दुःखी थिए। दिग्दारी र उदासीको लहर उनको अनुहारमा सजिलै देखिन्थ्यो।
हामीबीच निकैबेर संवाद भएन। अघिसम्म संवादै भन्न नमिले पनि बडाको एकालापजस्तो बोली एकनासले आइरहेको थियो। तर उनी चूप भएपछि उपत्यकालाई ढाकेर बसेको बादल जस्तो मौनता छाएको थियो हामी बसिरहेको डाँडामा। मैले बडाको अनुहार नियाली बसें धेरैबेर। उनलाई अरू बोल्ने चाह नभएको लाग्यो। त्यो गम्भीर उदासीलाई तोड्नु जरूरी थियो। तर मैले त्यो साहस आफैमा जुटाउन सकिनँ। किंकर्त्तव्यविमूढ जस्तो भइरहें म आफै। बडा भित्रैबाट खिन्न थिए। चित्त अड्याउने कुनै ठाउँ नपाएइरहेको लाग्थ्यो उनले।
मैले विषयान्तरको बाटो समातें र सोधें, ‘बडा फौजमा कति वर्ष रहनुभयो?’
सहसा मेरो प्रश्‍नले उनी किञ्चित झस्किए। गहिरो सोचको माझ लहरबाट विस्तारै किनारा लागेजस्तो उनले मलाई पुलुक्क हेरिपठाए। तर उत्तर दिएनन्। मौनतालाई तोड्ने मेरो प्रयास सफल भएन। बडा त्यतिकै केही नबोलेर बसिरहे। तर अघिको चिन्तनको लहर केही खज्मजिएको भने अवश्यै थियो। बडाले कोटको भित्री गोजीबाट सिगरेट निकालेर सल्काए र फुस्फुस् धुवाँ फ्याँक्न थाले। मलाई एक किसिमको सकस भयो। उठेर पल्लो बेञ्चमा चढें र पर पर पहाड अलि तल बगिरहेको खोला खोल्सीहरूलाई हेर्न थालें। अनि गोजीबाट मोबाइल निकालेर फेसबुक पल्टाएँ। एक दुईवटा फोटो पनि हिर्काएँ।
बडा अझै पनि उदास आँखाले हरियो वन पाखालाई नियालिरहेका थिए। तर उनको मनको पाखा पखेरूमा त्यो हरियाली आज छैन। रूगरूगे पाखाजस्तो पट्यारलाग्दो छ उनको मन। मैले जहाँसम्म बुझ्दा त्यो मनस्थिति खतरनाक हुनसक्ने लाग्यो। ‘बडा एता हेरूम् त, एउटा फोटो खिच्छु’ मैले स्थितिलाई सहज बनाउने मनशायले भनें। बडाले टाउको मतिर फर्काए र फिस्स हाँसेको अनुहार बनाए। मैले ढिलो नगरी 2 चोटि क्लिक मारें। अनि फोटो देेखाउने बहानामा बडाको नजिक गएँ।
बडाको आँखामा ऐले अलिक रौनक आयो। फोटो राम्रै खिँचेछु।
त्यै मौकामा फेरि सेल्फीको निवेदन गरें। बडा तयार भएपछि केही सेल्फी शट चल्यो। मैले लगत्तै बडाको एक्लो पोर्ट्रेट र हामी दुईको सेल्फी अपलोड गरिदिएँ! अहिले उनको मन अलिक बहकिएको थियो एकोहोरोपनबाट। ‘निकै लामो सोचमा पर्नुभयो, के सोच्दै हुनुहुन्छ? मैले सोधें।
‘अगिकै कुराहरू…’ बडाले त्यति नै भने। ‘अन्त के सप्पै कुराको दोषी चै जनता हो त?’ मैले टोकें।
‘मैले त्यसो काँ भनें?… अँ अलिक-अलिक चैं जनताको पनि दोष त छ… तर सप्पै हैन’ बडाले स्पष्टीकरणमा भने।
‘प्रजातन्त्र बेवास्थामा जनता जागरूक हुनुपर्छ, हल्ला र होहोरीमा लाग्ने-कुद्ने मात्र भएर हुँदैन। कुन ठीक हो, कुन बेठीक हो, त्यसको फैसला जनताले गर्नुपर्छ, त्यो चिन्नुपर्छ, जान्नुपर्छ अनि आफ्नो विरोध वा समर्थन जनाउनुपर्छ। अनि हुन्छ डेमोक्रेसी। तर ऐलेजस्तो खानु पाउँदा खुसी, नपाउँदा दुःखी हुने, चोर्न पाउँदा र पेट भर्न पाउँदा खुसी अनि काम गर्नुपर्दा दुःखी हुने जनता जनार्दन भयो भने त्यो समाज काम लाग्दैन।’ बडाले फेरि आफ्नो कुरा सुनाए।
‘सत्य तथ्य बुझ्नु छैन, नीति-सिद्धान्त बुझ्नु छैन, खालि करायो, कुदयो। काँ सप्रिन्छ समाज? प्रश्‍न पनि लगत्तै थप्नु भयो।
‘अन्त नेताहरू नै त्यस्तो भएपछि जनता त त्यस्तै हुन्छ नि!’ मैले पनि प्याच्चै भनिदिएँ। समाजमा थुप्रै कुराहरू छन्। उनीहरू आपस्तमा जोल्ठिएका हुन्छन्। ढुंगाको भर माटोलाई, माटोको भर ढुंगालाई भनेजस्तो हुन्छ। नेताहरू ठीक भएन भने पनि जनता बेठीक हुनसक्छ, जनता ठीक नभएर पनि नेता गलत भएको हुनसक्छ। यो कुरो गहिरो छ…’ बोल्दा बोल्दै बडा अडिए।
‘जनतालाई हाँक्ने नेतै ठीक हुनुपर्‍यो नि पैले त…’ मैले फेरि त्यही कुरालाई उठाएँ। ‘कुरा ठीकै हो। तर नेतालाई नेता बनाउने जनता हो। नेता त कोई मान्छेको व्यक्तिगत सम्पति हुँदैन, उ त सारा समाजको पूँजी हो। त्यो कुरोको भेउ भएन भने कुरा गडबडिन्छै गडबडिन्छ। समाजको लागि राम्रो गर्ने नेता पो नेता त! तर हाम्रो त समाजको लागि जसले जे सुकै गरोस् तर… ठूलो र महान् ठान्ने परिपाटी छ…’ बडाले आफ्नो अनुभव सुनाए।
‘त्यस्तो भएपछि नेता पनि जनताको नभएर व्यक्तिको हुन्छ, समाजको नभएर गुटको हुन्छ… त्यही हो हाम्रो रोग!’ उनैले थपे। उनको कुराले मलाई पनि कतै कतै पोल्यो। तैपनि मैले आफ्नो जिद्दी छोडिनँ, भनें ‘नेतालाई जनतासँग तुलना गर्नु त मिल्दैन होला नि बडा?’ बडा एकछिन गम्भीर भए। चूप लागेर बसिरहे। मैले पहिलोचोटि बडालाई चूप गराएँ भन्ने खुशी मलाई भयो। तर धेरै बेर उनी चूप बसेनन्। उल्टै सोधे मलाई ‘लू भन त नेतै चोर हो भन्छन्। भ्रष्ट हो भन्छन्। समाजमा यदि जनता सद्दे र साधू छ भने कुन चोर र भ्रष्ट चै त्यो समाजमा नेता हुन्छ? कोई हुनसक्दैन। तर जनता नै लाजशरम पचेको छ भने, धरम करम बिर्सेको लबस्तरा छ भने एउटा राम्रो नेतालाई पनि बिगार्नु चै सक्छ…’ अथवा राम्रोलाई अफालेर भ्रष्ट पतितलाई नेता बनाउनसक्छ…’ त्यति भनेर बडा जुरूक्क उठे। अनि मलाई कानमा केही कुरा फुस्फुस् सुनाए। तर उनको कुरा अरू कसैलाई नभन्नु भनेर कसम पनि खुवाए। हामी त्यतिकै त्यहाँबाट ओर्ल्यौं। क्रमशः

चामलिङका महाभूल?!


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment