गोर्खाल्याण्डलाई एकीरकरणको बाटो छिराउन एसकेएम-भाजपाको गठबन्धनः के.बी. राई

गोर्खाल्याण्डलाई एकीरकरणको बाटो छिराउन एसकेएम-भाजपाको गठबन्धनः के.बी. राई
Please Like and Share our website Samay Dainik

गान्तोक, 18 अक्टोबर।
भाजपा र एसकेएमको गठबन्धनलाई सिक्किमको विकास र लम्बित मुद्दाहरूसित जोड़ेर भइरहेको चुनावी व्याख्यानमाथि कठोर प्रहार गर्दै सिक्किम रिपब्लिकन पार्टीले भाजपाले एसकेएम र एसडीएफलाई देखाउने दाँत बनाएर सिक्किमको अस्तित्व चबाउने भाजपाको दाँत पल्हाइसकेको गम्भीर आरोप लगाएको छ।
शुक्रबार प्रेस क्लब अव् सिक्किममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसआरपी अध्यक्ष के.बी. राईले अब भ्रष्टाचारविरोधी नारा लिएर सत्तामा पुगेको एसकेएम पार्टीको सरकार भ्रष्टाचारीहरूसितै गठबन्धनमा रहेर काम गरिरहेको आरोप लगाए। उनले भ्रष्टाचारमुक्त भारत र सिक्किमको नारा दिने एसकेएम र भाजपा दुवैले चोर दैलोबाट पछिल्लो सरकारमा भ्रष्टाचार गर्नेहरूलाई नै लिएर गठबन्धन गरेर सरकार चलाइरहेको हुनाले अब भ्रष्टाचारमुक्त सिक्किम बनाउँछु भन्ने नारा सकिएको बताए।
गान्तोक निर्वाचन क्षेत्रको उप-चुनाउका एसआरपी उम्मेद्वार एस.टी. लेप्चासितै कार्यकारी अध्यक्ष चक्रपाणि भट्टराई साथै अन्यको उपस्थितिमा भएको सम्मेलनमा अध्यक्ष राईले भाजपा र एसकेएमको गठबन्धनले सिक्किमका दुइवटा विधानसभा सीट बीजेपीको नाममा छोड़ेर भाजपालाई सिक्किम पस्ने मूल दैलो खोलिदिएको आरोप लगाए। उनले हिजो मात्र भाजका स्टार प्रचारक केन्द्रीय खेलकूद तथा युवा मामिला मन्त्री किरण रिजिजुले गठबन्धनबारे कुनै लिखत-पत्र जारी नगरेपछि एसकेएम पार्टीले दिउँसै जनताको आँखा फूला पारेको आरोप लगाए। सिक्किमको अस्मिताको सुरक्षा केवल विधानसभा आरक्षणले हुनाले बीएल-लाई पनि खतरामा पारेको अनि भाजपालाई दुइ सीट सुम्पिएर राजनीतिक अस्मिता खतरामा हाल्ने काम गरेको अनि अहिले एसकेएम र एसडीएफ भाजपामा विलय भइसकेको दावी गरे। उनले भ्रष्टाचारीहरूलाई राज्य भाजपाले लुक्ने ठाउँ दिएको बताउँदै भाजपा राज्य अध्यक्ष डी.बी. चौहानले 371एफमा खेलवाड़ भए आफूले पार्टी त्याग्ने दिएको मन्तव्य हास्यस्पद रहेको बताउँदै गत समयमा एसडीएफका 10 जना विधायक भाजपामा गएर भाजपाको भ्रष्टाचारमुक्त छविलाई धमिल्याउँदा नै किन राजीनामा दिएनन्, अब उनले 371 एफ उडाउँदा राजीनामा दिन्छु भन्नु सरासर भ्रष्टाचारीहरूलाई साथ दिनु हो।
अर्कोतिर, सिक्किममा सीबीआई भित्र्याउँछु भनेर सत्तामा पुगेको एसकेएम पार्टीले अहिलेसम्म कुनै कार्वाही नगरेको अनि अहिले आफ्नै गठबन्धनमा रहेको भाजपाका विधायकहरूमाथि कसरी सीबीआई लगाउँछन्, त्यो जनताले बुझ्नुपर्ने बताए। यसै गरी, एसकेएम पार्टीले अहिले धम्की, हिंसा र विपक्षीहरूलाई चलमल गर्न नदिने अनि मुख्यमन्त्री पी.एस. गोले स्वयं चुनाउमा उठेको पोकलोक-कामराङ क्षेत्रमा प्रचारमा जाने एसआरपीका उम्मेद्वारलाई समेत रोकिरहेको घटनाले एकसय दिन पुग्दा-नपुग्दै एसकेएम सरकार फेल भएको दावी गरे।
अर्कोतिर, उनले एसकेएम र भाजपाको गठबन्धनलाई लिम्बू-तामाङको आसन कति र कहाँबाट कसरी दिने, नेपालीको हराएको आसन कहिले फर्काउने, 11 जात गोष्ठीलाई कहिले जनजाति बनाउने भन्नेबारेमा कुनै स्पष्टीकरण केन्द्रीय मन्त्री, राज्य भाजपा अध्यक्ष र मुख्यमन्त्री स्वयंले दिन नसकेको अनि त्यसैको नाममा गठबन्धन गरेको हो भनेर केवल जनताको आँखा छल्ने काम गरेको बताए भने 371एफ मास्दैनौं भन्ने भाजपा र एसकेएमले नमासे पनि यो धारालाई काम नलाग्ने र मूर्दा बनाएर छोड्नका लागि तयारी गरिरहेको अनि छिमेकी राज्य बङ्गालको गोर्खाल्याण्ड समस्या समाधान गर्नको निम्ति सही र सरल बाटोको रूपमा सिक्किम दार्जीलिङ एकीकरणको पहल दुइवटा गठबन्धनको प्रतिफल हुनसक्ने आशङ्का स्पष्ट भएको गम्भीर दावी पनि गरे।
उनले एसआरपीका उम्मेद्वारलाई जिताएको खण्डमा राजनीतिक पर्यटक नबनाउने र अल्पसङ्ख्यक र बहुसङ्ख्यकको समान अधिकारको निम्ति सदनमा साँचो वकालत गर्ने अड़ान पेश गरे।

गोर्खाल्याण्डलाई एकीरकरणको बाटो छिराउन एसकेएम-भाजपाको गठबन्धनः के.बी. राई


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment