आवश्यकता सामाजिक चिन्तनको

आवश्यकता सामाजिक चिन्तनको
Please Like and Share our website Samay Dainik

प्रत्येक संस्कृति वा सभ्यताको विकासमा सामाजिक, आर्थिक, लोककथा, सांस्कृति र बौद्धिक अवस्थाको महत्त्वपूर्ण योगदान हुन्छ तर त्यसको जगेर्ना, संरक्षण र संवर्द्धन भने राजनीतिक अवस्थाले गर्दछ। यस सन्दर्भमा ठूलो वादविवाद, पक्षविपक्षका तर्क होलान्। यसका कारक तत्व पनि प्रशस्त छन्। तर जे-जस्तो, जति कुरा गरे पनि हाम्रो संस्कृति, हाम्रो चिन्हारी हो। यही विशेषता नै चिनारी हो। संस्कृति भनेको जिउने ढङ्ग वा कला(वे अफ लाइफ/आर्ट अफ लाइफ) – हो। के हाल प्रचलित ढङ्ग नै हाम्रो संस्कृतिको चिन्हारी हो त? हामीले गरिरहेका काम ठीक छन्/छैनन्? हामी एक पाइला अगाडि बढिरहेका छौं अथवा पछाडि धकेलिइरहेका छौं? आफ्ना शाश्‍वत सारतत्व बिर्सेर अरूको रङ्गरूप, ढङ्गमा रूपान्तरण गर्ने क्रममा हाम्रो चाल ‘न हाँसको-न कुखुराको‘ भएकोे पुष्टि भइरहेको छ।
हाम्रा पूर्खाले सपनामा पनि चिताएका थिएनन् होला- अङ्ग्रेजी शिक्षा पद्धतिले भविष्यमा सम्पूर्ण आध्यात्मिक शिक्षा प्रणालीलाई नै धर्मभ्रष्ट गर्नेछ। एक प्रकारले भारत राष्ट्र हिन्दू सनातन धर्मका कट्टर अनुयायीको वासस्थानका रूपमा प्रख्यात थियो। हो, हामीमा धेरै अन्धविश्‍वास र कुप्रथाले नचाहिँदो स्थान ओगट्यो तर वर्तमानका शिक्षा-दीक्षाले हामीलाई आफ्नो चाल पनि समाउन गाह्रो बनायो। सन् 1812-मा भारतमा मेकालेले अङ्ग्रेजी शिक्षाको शुरुवात गरेका हुन। म्याक्समुलरले हाम्रा ग्रन्थहरूका गलत ढङ्गले अनुवाद गरी विकृत बनाए, जो विस्तारै एउटा सानो बीउबाट अहिले ठूलो विषवृक्षको रूपमा उभिएको छ। यसले हाम्रो संस्कृतिलाई ध्वस्त बनाइरहेको छ। अबोध किशोरहरूको जीवनलाई अत्यन्त हानिकारक बनाउँदैछ।
पाश्‍चात्य संस्कृतिबाट हाम्रो संस्कृति ज्यादै नराम्रो ढङ्गले प्रभावित छ। हाम्रा भेषभूषा, खानपान, पहिरन सबै पाश्‍चात्यशैलीमा पनि अति आधुनिकतम सीमामा पुगेको देखिन्छ। जिउरक्षा हेतु र लोकलाजका लागि कपडा-लुगाफाटाको आविष्कार भएको थियो होला तर अचेल अति छोटोमा छोटो पहिरन अन्तरङ्ग देखिने किसिमले लगाउने चलन चल्तीमा विकशित भएर गएको देखिन्छ।
‘नर तनु पाई विषयँ मन देही, पलटी सुधाते सठ विष लेही’ (रामचरित मानस)। शिक्षाको अपूर्ण उत्पादन वा अनुत्पादकत्वले बेरोजगारीका समस्या आफ्नो ठाउँमा छँदैछ तर मानिसको आवश्यकताभन्दा बढी विलासिता आवश्यकताको आमोद-प्रमोदले अनैतिक कार्य गर्न बाध्य तुल्याइरहेको छ। झन् आलस्य र प्रमादले काम नगर्ने बानी तर खर्च गर्न प्रशस्त पैसा चाहियो र चाहनाले देहव्यापारमा चेलिबेटी बेचबिखन गर्न समेत बाध्य तुल्याएको प्रष्ठ छ।
हाम्रा परम्परा, रीतिरिवाज, लोकप्रथा, चाडपर्व सबैमा पाश्‍चात्य झलक प्रष्टरूपमा देखापरिरहेको छ। बडादशैं हाम्रोे सबैभन्दा ठूलो चाड हो, पूजा, पाठ र टीकाटालो बाहेक चाड मनाउने तरिका सबै परिवर्तन भइसकेका छन्। समाजमा आ-आफ्ना ढंगका संस्कृति मान्नुपर्ने र मनाइनुपर्ने कतिपय परम्परा र प्रथा लोप हुनलागेका छन् भने लोकगीत, नृत्य, सङ्गीत, लोकभाषाका कथाहरूसमेत लोपोन्मुख छन्।
शिक्षा प्रणाली पनि समाजको उपज हो। अमेरिकी शिक्षाशास्त्री जान डीवीको भनाइ अनुसार- ‘समाजभन्दा बाहिर मानिसको कुनै मूल्य छैन। मानिसले जे-जति सिक्दछ, समाजमा बसेर सिक्दछ र समाजका लागि सिक्दछ। समाजको अभावमा न त ऊ सिक्नसक्छ न उसको केही महत्त्व हुन्छ। शिक्षा एउटा सामाजिक प्रक्रिया हो, जो समाजमा समाजका लागि चलिरहन्छ।’
यसैसँग मिल्दोजुल्दो अर्को भनाइ पनि छ।‘कुनै निश्‍चित भूभागमा बस्ने हरेक व्यक्ति, सामाजिक तथा असामाजिक व्यक्ति जहाँ सबैले एउटै जीवनशैलीमा हिस्सा लिन्छन्, त्यो समुदाय हो। समुदायमा बस्ने सबै मानिसमा आफ्नो सङ्गठन र उद्देश्यप्रति चेतना हुँदैन तर समाज समुदायको एउटा यस्तो अङ्ग हो, जसका सदस्यहरू आफ्नो जीवनको ढङ्ग र पद्धतिप्रति सचेत हुन्छन् र साझा लक्ष्य तथा मूल्यामनद्वारा आबद्ध हुन्छन्।’ अर्थात, हरेक समाजका मूल्य-मान्यता एक अर्कासँग मिल्दाजुल्दा हुन्छन् वा आंशिक फरक हुन्छन् वा पूर्णरूपले फरक हुन्छन्, तर ती सार्वकालीन, चिरकालीन चिरस्थायी र शाश्‍वत हुन्छन्।
समाजको आवश्यकता, साधन-स्रोतको उपलब्धता तथा उपलब्ध जनशक्ति आदिका आधारमा समाजले आफैँ निर्धारण गर्दछ। सामाजिक मूल्य मान्यताको संरक्षण र संवर्द्धन तथा विकास शिक्षाले मात्र सम्भव हुने हुँदा शिक्षाले सांस्कृतिक मूल्य-मान्यता तथा आदर्शको संरक्षण र संवर्द्धन गर्दै अर्को पुस्तामा हस्तान्तरण गर्ने काम गर्दछ। शिक्षाले व्यक्तिलाई सक्षम, सबल र समाजका लागि अनुकूल, दक्ष-निपुण बनाई समाजमा समायोजन गर्न योग्य बनाउने काम गर्दछ।

आवश्यकता सामाजिक चिन्तनको


Please Like and Share our website Samay Dainik

Related posts

Leave a Comment