विलयको मुद्दालाई लिएर एसकेएम-एसडीएफबीच आरोप प्रत्यारोप शुरु

Font Size
13 Total Views

गान्तोक, 13 जनवरी (हिस)।
सिक्किम दार्जीलिङ विलयको मुद्दालाई लिएर सत्तारुढ़ एसकेएम पार्टी र विपक्षी एसडीएफ पार्टीबीच आरोप प्रत्यारोप शुरु भएको छ। एउटा अङ्ग्रेजी दैनिकमा गोर्खा राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष भरत दोङले 2022 भित्र सिक्किम दार्जीलिङ विलय हुने दाबी गर्दै यसमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेको पनि सहमति रहेको बयान दिएका थिए। भरत दोङको उक्त बयानप्रति मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले आशंका व्यक्त गर्दै दोङको बयान सुनियोजित षड़यन्त्र हुन सक्ने तथा यसमा एसडीएफको हात हुन सक्ने बताएका थिए।
उनको यस बयानको खण्डन गर्दै एसडीएफ प्रवक्ता जेबी दर्नालले आज भने, ‘यदि एसकेएम पार्टी तथा सरकार सिक्किम दार्जीलिङ विलयको पक्षमा छैन भने भरत दोङलाई एसकेएम सरकारले किन पक्राउ गर्दैन? मुख्यमन्त्री स्वयं गृहमन्त्री पनि हुन्। मुख्यमन्त्री भरत दोङलाई पक्राउ गर्नु सक्नुपर्छ। यदि एसकेएम सरकारले भरत दोङलाई पक्राउ गर्छ भने यसमा एसडीएफ पार्टीको पनि पूरा सहयोग अनि समर्थन रहने छ।’ सरकारमा भएको पार्टीले अर्कालाई दोष लगाउनुको साटो आफू व्यवहारिक भएर काम गर्नुपर्ने पनि दर्नालले एसकेएमलाई सुझाउ दिए। एसडीएफ प्रवक्ता दर्नालले सिक्किममा विगत आठ महिनामा केही काम नभएको आरोप लगाउँदै वर्तमान सरकारले पूर्व सरकारकै दिनमा भएका योजनाहरूलाई अहिले उद्घाटन गर्ने काम मात्र गरिरहेको आरोप लगाए।
उनले भने, ‘वर्तमान सरकार मुख्य अतिथि हुनुमा मात्र व्यस्त छ। जनताको काम नगरेर कार्यक्रमहरूमा मुख्य अतिथिको रूपमा अल्झिरहेको छ।’ एसकेएम सरकारले जनतालाई दिएको कुनै पनि वाचाहरू सरकारले पूरा नगरेको उनले आरोप लगाए। उनले एक परिवार एक नोकरीअन्तर्गत नोकरी पाएकाहरूलाई सय दिनभित्र स्थायी गर्ने एसकेएमको वाचा के भयो? भनी प्रश्‍न गरे। यसरी नै लिम्बू तामाङको सीट आरक्षणबारे पनि सरकारले केही पहल नगरेको उनले आरोप लगाए। एसकेएम पार्टी विपक्षमा हुँदा आफूहरू सरकारको आएको खण्डमा सर्विस एक्सटेन्शन प्रथालाई बन्द गर्छौ, डेपुटेशनमा पठाउँदैनौं भनेको थियो, तर आज त्यसको ठीक उल्टा काम गरिरहेको उनले आरोप लगाए।

Related posts

Leave a Comment