एसकेएम सरकार स्थापनाको सात महिनामा पनि लिम्बू-तामाङको आसन आरक्षणको मुद्दा उठाइएनः एलटीभीसी

Font Size
37 Total Views

गान्तोक, 10 जनवरी।
लिम्बू तामाङ भोलेण्टियरी कमिटिले वर्तमान एसकेएम सरकारको घोषणा-पत्रको वाचा स्मरण गराउँने उद्देश्यले पत्रकार सम्मेलनको आयोजन गरेको थियो। सम्मेलनमार्फत कमिटीले सरकारले जनजातिको मान्यता प्राप्त सिक्किमे लिम्बू तामाङलाई सिक्किम विधानसभामा आसन आरक्षणको कुरा नउठाएकोमा झक्झक्याउने काम शुरु गरेको छ। आज प्रेस क्लब अफ सिक्किमको सम्मेलन कक्षमा पत्रकारहरूसँग बोल्दै कमिटीका अध्यक्ष याहाङ चोङले एसकेएम पार्टीले सरकार बनाउन अघि सरकार गठन भएको तीन महिनाभित्रमा सिक्किमे लिम्बू तामाङलाई आसन आरक्षण दिलाउने भनेको स्मरण गराउँदै सात महिना बित्दा पनि कुनै आवाज नउठेकोमा आपत्ति जनाएका छन्। उनले भनेका छन्, सिक्किम सरकारका प्रतिनिधिहरूले दिल्लीमा गएर लिम्बू तामाङको निम्ति बोल्यो तर आसन आरक्षणको कुनै फर्मुला बिनै केन्द्रिय मन्त्रीहरूसँग भेटेको अध्यक्ष चोङले बताएका छन् भने उनले वर्तमान सिक्किम लोकसभा सांसद इन्द्रहाङ सुब्बाले पनि यस विषयमा कुनै आवाज नउठाएको कुरा राखेका छन्।
सिक्किमका पूर्व लोकसभा सांसद पीडी राईको जिक्र गर्दै उनले भनेका छन्, पूर्व सरकारमा रहेका लोकसभा सांसद पीडी राईले बर्मन कमिसनको आधारमा सिक्किम विधानसभालाई 40 सीट बनाउने र लिम्बू तामाङलाई 5-वटा सीट दिने जुन फर्मुला राखेका थिए त्यसको एसकेएम पार्टीले सोझो विरोध गरेको छ अनि बर्मन कमिसनलाई पनि जलाएको छ भन्दै अब वर्तमान सरकारले लिम्बू तामाङको सीटमाथि आफ्नो अड़ान प्रष्ट राख्नुपर्छ पनि भनेका छन्।
लिम्बू तामाङको सीटको मुख्य मुद्दा बनाएर सिक्किममा एसकेएम पार्टीको सरकार आएको हो भन्दै अध्यक्ष चोङले जसरी एसकेएम पार्टी विपक्षमा हुँदा सिक्किम विधानसभामा लिम्बू तामाङलाई 32 बाट आसन आरक्षण दिलाउनु पर्छ भन्ने बील ल्याएका थिए त्यस्तै आब सरकार आएपछि उनीहरूले गर्नुपर्छ भनेका छन्। एसकेएम पार्टीको मुख्य एजेण्डा नै सिक्किमे लिम्बू तामाङलाई 32 बाट आसन आरक्षण दिलाउनु हो भन्दै चोङले विधायक कुङ्गा नीमा लेप्चाले ल्याएको बीललाई सङ्घ विधायक तथा वर्तमान सरकारका मन्त्री सोनाम लामाले समर्थन गरी सही गरेको पनि बताएका छन्। उनले एसकेएम पार्टीले लिम्बू तामाङको आसन आरक्षण विषयलाई लिएर वर्ष 2018-को 22 दिसम्बरको दिन 10 सदस्यी समिति गठन गरेको तर समिति गठन गरिएको एक वर्ष बित्दा पनि कुनै काम नभएको जानकारी दिएका छन्।
लिम्बू तामाङले आसन आरक्षण नपाउनु एसडीएफ सरकारको गल्ति हो भन्दै वर्तमान लोकसभा सांसद इन्द्रहाङ सुब्बाले दिएको वक्तव्यको खण्डन गर्दै अध्यक्ष चोङले भने, सांसद सुब्बाले सिक्किममा होइन संसदमा कराउनुपर्छ। एसडीएफले गल्ति गर्‍यो भनेरै हामीले एसकेएम ल्याएको हो। हामीले विकासको निम्ति होइन लिम्बू तामाङको सीट आरक्षणको निम्ति एसकेएम सरकार ल्याएको हो। उनले सिक्किम क्रान्तिकारी मोर्चाको अडान सिक्किम विधानसभामा 32 सीटबाटै लिम्बू तामाङलाई आसन आरक्षण गर्ने रहेको हुँदा यो सहज उपाय रहेको र यसकै आधारमा लिम्बू तामाङलाई सीट दिइनुपर्ने बताए भने उनले अब आसन आरक्षणको निम्ति पाँच वर्षसम्म कुर्न नसक्ने पनि जानकारी दिए। उनले सिक्किम लोकसभा सांसदलाई अब पार्लिमेण्टमा बोल्नुपर्छ भन्दै साइत खोज्दै बस्ने समय छैन पनि भने।

Related posts

Leave a Comment