जीआरडी दार्जीलिङबाट सर्नसक्ने आशङ्का

Font Size
13 Total Views

समय संवाददाता
दार्जीलिङ, 8 जनवरी।
दार्जीलिङको जलपहाड़स्थित जीआरडी (गोर्खा रिक्रुटमेण्ट डिपो) यहाँबाट कुनै पनि समय अन्य स्थानमा सर्नसक्ने आशङ्का प्रबल बनेर गएको छ। यदि जीआरडी दार्जीलिङबाट सरेर अन्यत्र गए, देश सेवाको लागि सेनामा भर्ना हुने यहाँका युवाहरू लखनऊ, गोरखपुर तथा अन्य स्थानमा गएर सेनाको भर्ना प्रक्रियामा भाग लिनपर्ने बाध्यता आउनेछ।
यसको एउटा मुख्य कारण दार्जीलिङ पहाड़बाट सेनामा अति नै कम्ति भर्ना हो। यसैले दार्जीलिङको जीआरडीलाई यहाँ नै रोकेर राख्नु हो भने यस डिपोबाट अधिकाधिक सेनामा भर्ना हुन आवश्यक रहेको गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले बताएको छ। यस सङ्गठनलाई यसै विषय लिएर जलपहाड़ सेना छाउनीमा सर-सल्लाहको लागि बोलाएको थियो, जसमा छाउनीका शीर्ष अधिकारीवर्गले जीआरडीबाट भारतीय सेनामा अधिकाधिक भर्ना हुनको लागि युवावर्गलाई जानकारी गराउने साथै उत्साहित तुल्याउने सङ्गठनलाई अपील गरेको शाखा समिति अध्यक्ष रिङ्गा तामाङले जनाए।
ज्ञात रहोस्, सन् 1886 -मा स्थापना भएको जीआरडी (गोर्खा रिक्रुटमेण्ट डिपो) कुनै पनि समय दार्जीलिङबाट अन्य स्थानमा सर्नसक्ने हल्ला निकै अघिदेखि चलिरहेको थियो। यद्यपि, यसबारे अझैसम्म आधिकारिक कुनै जानकारी प्राप्त भएको छैन। तर गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले आज यसबारे जलपहाड़ सेना छाउनीकै शीर्ष अधिकारीवर्गबाट जानकारी पाएको बताएपछि भारतीय सेनामा भर्ना हुनचाहने युवावर्गका साथै स्थानीय मानिसहरूको लागि चिन्ताको विषय बनेको छ। दार्जीलिङबाट यो सेना भर्ना केन्द्र सार्नसक्ने आशङ्काको मूल कारण के हुनसक्छ? भन्ने प्रश्‍नको उत्तरमा उनले भने, सेनाले चाहेअनुसार दार्जीलिङबाट सेनामा भर्ना भएको छैन। दार्जीलिङबाट वार्षिक 1,000 जनाको भर्ना हुनपर्ने हो, तर यहाँबाट वर्षमा बलैले 200 देखि 300 जना सेनामा भर्ना भएर गइरहेका छन्। यसैकारण यो डिपो राख्नुको औचित्य नदेखेपछि नै भारतीय सेनाले जीआरडीलाई यहाँबाट हटाउनचाहेको हो। यद्यपि, उनले आउँदो 12 र 13 जनवरीको दिन जीआरडीबाट गोर्खा सैनिकको भर्ना हुनेभएको जानकारी गराउँदै यसमा पहाड़का अधिकाधिक युवाहरूलाई भाग लिने अपील गरे। उनले भने, जीआरडीलाई दार्जीलिङबाट सर्न नदिनु हो भने यहाँका युवाहरू अधिकाधिक जीआरडीबाट भर्ना भएर सेनामा जानपर्छ। यसका साथै गोर्खा भूतपूर्व सैनिक कल्याण सङ्गठन तामसाङ-पेम्बोङ शाखाले आउँदो जून महीनामा पनि जीआरडीबाट सेनाको भर्ना हुनेभएको जानकारी गराएको छ।
सङ्गठनले दिएको जानकारीअनुसार जलपहाड़को रेकर्ड कार्यालय यहाँबाट गत वर्षको अक्टोबर महीनामा नै सरिसकेको छ, जसको कारण यहाँका भूतपूर्व सैनिक साथै उनीहरूका परिवारहरूले आफ्ना कतिपय कामको लागि धेरै कष्टको सामना गर्न परिरहेको छ। रेकर्ड कार्यालय जलपहाड़मा नै हुँदा यहाँका भूतपूर्व सैनिक तथा उनीहरूले कुनै काम गर्नपरे एक हप्तामा काम पूर्ण हुन्थ्यो, तर अहिले 2 महीना बित्दा पनि काम पूरा भएको हुँदैन। यदि जीआरडी यहाँबाट हटे सेनामा भर्ना हुनचाहने यहाँका युवाहरू यस्तै समस्याको सम्मुखीन हुनपर्नेछ। यसैले यस विषयमा सम्पूर्ण राजनैतिक पार्टी, सङ्घ-संस्था, भूतपूर्व सैनिक सङ्गठनका प्रतिनिधिहरूले युवावर्गलाई सचेत गराउनुपर्ने अवस्था आएको छ।
यसैबीच, उनले 12 र 13 जनवरीको भर्ना र जूनको भर्नापछि जीआरडी दार्जीलिङबाट हट्नसक्ने सम्भावना रहेको पनि बताए।

Related posts

Leave a Comment