एसडीएफको सदस्यता नवीकरणः एक चर्चा

Font Size
10 Total Views

सिक्किमको प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमा हाल प्रतिवर्षझैं सदस्यता नवीकरण अभियान धमाधम चलिरहेको छ। गत वर्षको पार्टी सदस्यता नवीकरण अभियानको तुलनामा यस वर्षको नवीकरण अभियानको धेरै ठूलो महत्व छ। पहिलो कुरा त के भने गत वर्ष यतिखेर एसडीएफ पार्टी सिक्किमको सरकारमा थियो, यस वर्ष अहिलेघरी पार्टी विपक्षमा छ। कुनै पार्टीको राजनैतिक अवस्थान पनि सदस्य सङ्ख्या घटबढ़ हुनुमा धेरै महत्वपूर्ण कारक हुन्छ। यस वर्ष एसडीएफ पार्टीका कतिजना पुराना कार्यकर्ताहरूले पार्टी सदस्यता नवीकरण गर्छन्, त्यसमाथि नै पार्टीको लोकप्रियता निर्भर गर्दछ। यो एउटा पक्ष हो, तर अर्को पक्ष के पनि छ भने सत्तामा नहुँदा विपक्षी पार्टीमा जति सदस्य हुन्छन्, त्यो उसको वास्तविक शक्ति हो। सत्तामा नहुँदा पनि जतिजना पार्टी सदस्यहरू हुन्छन्, उनीहरू नै वास्तवमा पार्टीका मेरूदण्ड हुन्। यसैले गत वर्षको तुलनामा यस वर्ष पार्टी सदस्यहरूको सङ्ख्या कम नै हुनपुगे पनि यसबाट के कुरा स्पष्ट हुनजान्छ भने, त्यो सङ्ख्या नै एसडीएफको वास्तविक शक्ति हो। हाल एसडीएफको सदस्यता नवीकरण अभियान चलिरहेको छ, यो प्रक्रिया पूरा भएपछि नै सबै कुरा स्पष्ट हुनेछ।
गत विधानसभा चुनाउको परिणाम अनि विशेष गरी उप-चुनाउको परिणामपछि एसडीएफका धेरै सदस्यहरू राज्य अनि केन्द्रको सत्तारूढ़ पार्टीमा सामेल भए। धेरै पञ्चायतहरू, पार्टीका ‘खम्बा’ नै कहलिएका कतिपय सदस्यहरू पनि आधा वर्ष पनि विपक्षी पार्टीमा रहन चाहेनन्। संसदीय राजनीतिमा यो नौलो कुरा होइन। जुन पार्टी बलियो हुन्छ, जुन पार्टी सत्तामा हुन्छ – सबैजना त्यतातिरै खुरूरू कुद्नु नयाँ कुरा होइन। तर आधा वर्ष पनि विपक्षमा रहन नचाहनुले मानिसहरू एसडीएफ पार्टीमा ‘राजनीति’ -को कारणले कति थिए र ‘स्वार्थ’ -को लागि कति थिए भन्ने कुरा स्पष्ट हुन्छ। दुःखद पक्षचाहिँ कति मात्र रहेको एसडीएफजस्तो स्पष्ट नीति, कार्यक्रम र सिद्धान्त भएको पार्टीमा यस्ता सदस्यहरू कसरी बसिरहेका थिए? हिजोसम्म मच्ची मच्ची एसडीएफको नीति-सिद्धान्तको कुरा गर्नेहरू कति छिटो विपक्षी पार्टीमा सामेल भए?
सिक्किममा लगातार 25 वर्षसम्म सरकार सञ्चालन गर्नु सजिलो कुरा थिएन। देशमै यस्तो दृष्टान्त पाइन्न। पश्‍चिम बङ्गालमा 34 वर्षसम्म वामपन्थीहरूको लगातार सरकार चल्यो। उनीहरू सबै कम्युनिष्ट थिएनन्, तर बेसीजस्ता प्रगतिशील विचारधारा भएका पार्टीहरू थिए, उनीहरूको सुस्पष्ट नीति, कार्यक्रम, विचारधारा, विश्‍वदृष्टिकोण थिए, उनीहरूसित अनुशासित क्याडरतन्त्र थियो। र नै उनीहरू लगातार 34 वर्ष सत्तामा कायम रहनसके। सिक्किममा एसडीएफले लगातार 25 वर्ष सरकार चलाउनुको पछि पनि यही रहस्य निहित छ, कि एसडीएफसित एउटा सुस्पष्ट नीति, सिद्धान्त, कार्यक्रम र क्याडर तन्त्र थियो र छ। एसडीएफले यी 25 वर्षमा भएका 18 वटा विभिन्न निकायका चुनाउहरूमा लगातार विजय हासिल गर्नुको पछाड़ि एसडीएफले हरेक चुनाउलाई गम्भीरतासँग लिनु, हरेक चुनाउमा आफ्नो एजेण्डा र कार्यक्रम स्पष्टसँग जनता सामु राख्नु, विगत वर्षहरूमा एसडीएफले गरेका कामहरूलाई बेली-बिस्तार जनतालाई जानकारी गराउनु प्रमुख कारण हो। एसडीएफले चुनाउ र राजनीतिलाई कहिल्यै खेलाँचीको रूपमा लिएन।
एसडीएफ पार्टी र सरकारको 25 वर्ष लामो निरन्तरताको एउटा मूल कारण के पनि हो भने यसले आफू अघिल्तिर एउटा ठूलो लक्ष्य राख्यो र त्यसलाई हासिल गर्न युद्धगतिमा कामहरू गरिरह्यो। सिक्किमेली जनताले कहिल्यै कुनै कुराको माग राख्नैपरेन, जनताका आवश्यकताहरूभन्दा अघाड़ि बढ़ेर एसडीएफले सिक्किमलाई आफ्नै डिजाइनअनुसार, नेताको भविष्यदर्शी सपनाअनुसार सिक्किमलाई नवनिर्माण गर्ने कामहरू गर्‍यो। 25 वर्षमा सिक्किमले हासिल गरेको अजङ्गको उपलब्धिलाई यसैले यसपालि जनताले सहजतापूर्वक लिए, स्वाभाविक रूपमा लिए अनि असम्भव सपना बाँड़्नेहरूमाथि सहज विश्‍वास गर्नपुगे, जुन अन्ततः धोका नै प्रमाणित भयो। सिक्किमले यो उँचाइ हासिल गर्नुमा एसडीएफ पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र समर्पण मुख्य कुरा थियो भन्ने कुरा सिक्किमेली जनताको ठूलो हिस्साले महसुस गर्नसकेनन् वा भनौं कार्यकर्ताहरूको एउटा हिस्साले त्यसलाई जनताबीच पुर्‍याउनै सकेन। आज सत्ता परिवर्तनपछि सत्तारूढ़ पार्टीमा कुद्नेहरू नै एसडीएफका ती ‘अकर्मण्य’ सदस्यहरू हुन् भन्दा बित्यास नपर्ला।
एसडीएफको सफलताको एउटा अर्को कारण हो – नेता एवं कार्यकर्ताहरूको अनुशासन। 25 वर्ष लगातार सत्तामा बस्दा पनि एसडीएफका कार्यकर्ताहरू सत्ताले मैमत्त भएर जनतामाथि जाइलागेको एउटै पनि घटना नहुनु एसडीएफको उज्ज्वल पक्ष हो। एसडीएफ अध्यक्षले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई कहिल्यै मनपेट दिएनन्। मुख्यमन्त्री अनि पार्टी अध्यक्ष एउटै व्यक्ति हुँदा पनि प्रशासन र सरकार पार्टीको हस्तक्षेपबाट सधैं मुक्त रह्यो। आज नयाँ सरकारमा के भइरहेको छ, त्यो सबैलाई थाहा भइसकेको कुरा हो।
राजनीतिमा आएपछि हरेक नेता र पार्टीको लक्ष्य सत्ता पाउनु रहेको हुन्छ। एसडीएफ पनि यसको अपवाद छैन। तर राजनीतिमा आउनु भनेको सत्ताखोर हुनु होइन, बरू जनताको साथमा रहनु हो। हरेक सुख-दुःख, आपत्-विपत्मा जनताको साथमा रहनु, उनीहरूको आवाज बन्नु, उनीहरूलाई सही दिशामा नेतृत्व गर्नु हो। यो परिवर्तन बहुसङ्ख्यक जनताले चाहेको परिवर्तन हो, निश्‍चय नै यसका पछाड़ि झुट्टा प्रलोभन, अतिरञ्जना, दिशाहीन आवेग थियो र छ; तर राजनीति यहीं समाप्त हुँदैन। जनता अनि राजनीतिलाई सही नीति, कार्यक्रम र दिशाको सदैव खाँचो पर्दछ। जनताको प्रजातान्त्रिक आवश्यकता वा भोक कहिल्यै समाप्त हुँदैन।
आज एसडीएफ पार्टीको सदस्यता नवीकरण किन उत्साहका साथ भइरहेको देखिन्छ? किनभने एसडीएफको आवश्यकता आज दिनदिनै सिक्किमेली जनताले महसुस गर्नथालेका छन्, जनताको प्रजातान्त्रिक तृष्णा दिनदिनै बढ़्दो छ। एसडीएफले परिवर्तनलाई स्वीकार्‍यो, जनादेशलाई स्वीकार्‍यो। पछिल्तिरबाट सरकारमा जाने तिकड़मी खेललाई उसले अस्वीकार गर्‍यो, र नै जनता र पार्टीका पुराना कार्यकर्ताहरूको पार्टीमाथिको विश्‍वास र आस्था कायम रहनपुग्यो, बरू झनै बढ़्नपुग्यो। जनता र कार्यकर्तामा प्रकाश स्तम्भ र आकर्षणको रूपमा एसडीएफको प्रजातान्त्रिक सिद्धान्त, आदर्श र व्यवहार छ, जसले यो कायम रहेसम्म हरेक उमेर र समूहका जनतालाई, नयाँ प्रजन्म लिने हरेक पुस्तालाई आफूतिर तानिरहनेछ, नेतृत्व दिइरहनेछ।

Related posts

Leave a Comment