9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्णकप फूटबल प्रतियोगिता शुरू

Font Size
12 Total Views

जोरथाङ, 5 जनवरी।
जोरथाङ खेलमैदानमा आइतबारदेखि 9औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप अन्तरार्र्ष्ट्रिय फूटबल प्रतियोगिता शुरू भएको छ। उक्त फूटबल प्रतियोगिताको आयोजना दक्षिण जिल्ला फूटबल संघ (एसडीएफए) ले गरिरहेको छ। खेलकुद एवं युवा मामिला विभाग मन्त्री कुङ्गा नीमा लेप्चाले आज प्रतियोगिता शुरू भएको आधिकारिक रूपमा घोषणा गरे। प्रतियोगिताको पहिलो म्याच आज सिक्किम युथ क्लब बनाम कालेबुङ एकादशबीच सम्पन्न भयो, जसमा सिक्किम युथ क्लबले प्रतिद्वन्दी दललाई 5:4 गोलले पराजित गर्‍यो। विजयी दलका गोल कीपर नेडुप लेप्चालाई ‘हिरो अफ द म्याच’ चयन गर्दै पुरस्कार स्वरूप नगद दस हजार रूपियाँ प्रदान गरियो। आइपीआर विभागले दिएको जानकारीअनुसार उक्त प्रतियोगितामा 14 फूटबल दलले भाग लिइरहेको छ, जसमा सिक्किम, कालेबुङ, दार्जीलिङ, शिलङ, कोलकाता, पञ्जाब, नेपाल र भूटानका फुटबल दलहरू सामेल छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लेप्चाले यो प्रतियोगिता जोरथाङमा लगभग पाँच सालको लामो अन्तरालपछि आयोजन भइरहेको जानकारी गराए। मन्त्री लेप्चाले राज्य सरकारले खेलकुद र अन्य गतिविधिहरूलाई प्राथमिकता दिएर काम गरिरहेको बताए, जसले युवाहरूलाई शारीरिक अनि मानसिक रूपमा स्वस्थ बनाउने बताए। यस अघि एसडीएफएका महासचिव पवित्र मानवले यस फूटबल प्रतियोगिताको फाइनल 19 जनवरीको दिन सम्पन्न गरिने बताउँदै उक्त दिन जोरथाङ माघे संक्रान्ति मेला, 2020 को समापन पनि रहेको बताए। उद्घाटन कार्यक्रमको अवसरमा एसडीएफएको थीम सङ्ग पनि विमोचन गरियो। आज मन्त्रीहरू एमएन शेर्पा, सञ्जीत खरेल, विधायक श्रीमती सुनीता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, जिल्ला अध्यक्ष श्रीमती छिरिङ डेम भोटिया आदि पनि उपस्थित थिए।-हिस/बिशाल

Related posts

Leave a Comment