मन्त्रीमण्डलमा भाजपाको हिस्सादारीको प्रश्‍नै नउठ्ने

Font Size
84 Total Views

गान्तोक, 21 अक्टोबर।
मुख्यमन्त्री तथा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङ (पीएस गोले) -ले उप-चुनाउमा आफ्नो जीतप्रति विश्‍वास व्यक्त गरेका छन्। सोमबार दक्षिण सिक्किमको पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको भ्रमण गर्ने क्रममा पत्रकारहरूसित कुराकानी गर्दै उनले यस्तो विश्‍वास व्यक्त गरेका हुन्। स्मरण रहोस, पोक्लोक-कामराङबाट पीएस गोले एसकेएम उम्मेद्वार रहेका छन्। मुख्यमन्त्री गोलेले पूर्व सरकारमाथि पोक्लोक-कामराङ निर्वाचन क्षेत्रका जनतालाई विगत 25 वर्षभन्दा पनि लामो समयदेखि विकासबाट बञ्चित रहेको आरोप लगाए।
तर, क्षेत्रका जनताले अब परिवर्तनलाई स्वीकार गरिसकेको र यो उप-चुनाउमा जनताले अवश्य परिवर्तनको पक्षमा मतदान गर्ने उनले विश्‍वास व्यक्त गरे। एक प्रश्‍नको जवाफमा उनले यो निर्वाचन क्षेत्र एसडीएफ पार्टीको गढ़ नरहेको, तर एसडीएफ पार्टी आफु सरकारमा छँदा जनतालाई अनेक प्रकारको दबाउ दिएर चुनाउ जित्दै आएको दावी गरे। तर, सिक्किममा अब सरकार परिवर्तन भइसकेको र जनता स्वतन्त्र रहेको उनले बताए।
अर्कोतिर, एसकेएम र भाजपाको गठबन्धनलाई लिएर उठिरहेका विभिन्न प्रश्‍नहरूबारे सोधिएको प्रश्‍नको जवाफमा उनले एसकेएम र भाजपाबीच केवल सीट सेयरिङ भएको स्पष्ट पारे। केन्द्र सरकारसित राम्रो तालमेल राख्न एसकेएमले भाजपालाई दुई सीट छोड़िदिएको उनले दावी गरे। यसैगरी, उनले चुनाउपछि मन्त्रीमण्डलमा भाजपाको हिस्सादारीको प्रश्‍नै नउठ्ने पनि बताए। उनले भाजपाको पनि यस्तो मनसाय छैन भन्दै एसकेएम र भाजपा मिलेर सिक्किमको विकासको निम्ति काम गर्ने बताए। उनले एसकेएम र भाजपाको मिलापमा विपक्षीबाहेक सबै खुशी रहेको बताए।-हिस/बिशाल

Related posts

Leave a Comment