पीएस गोले मुख्यमन्त्री भए भन्ने सत्य नै अन्तिम सत्य होइनः एसडीएफ

Font Size
202 Total Views

गान्तोक, 29 मई।
एसकेएम पार्टीका अध्यक्ष पीएस गोले मुख्यमन्त्री बन्नु पाउँदैन भन्ने आफ्नो अडानमा एसडीएफ पार्टी अझै पनि अडिग रहेको छ। सत्य, नियम र वैज्ञानिक कुरा तत्काल लागू भएन भन्दैमा सत्य, नियम र कानुन छैन भन्नु नमिल्ने एसडीएफ पार्टीले बताएको छ। पीएस गोले चुनाउमा खडा हुनु नपाउने कुरा पनि तथ्यपूर्ण र वैज्ञानिक विषय रहेको एसडीएफले दाबी गरेको छ। एसडीएफ प्रचार शाखाकी महासचिव कविता सुब्बाले आज एउटा प्रेस विज्ञप्ति जारी गरी यस आसयको जानकारी दिएकी छन्। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एसडीएफ पार्टीको प्रचार शाखाले अहिलेसम्म जारी गरेका प्रेस विज्ञप्तिहरू र प्रेसवार्तामा दिएका बयान र वक्तव्यहरू सधैं नियम कानुनसंगत, वैज्ञानिक साथै सत्य तथा राजनैतिकनिष्ठामा आधारित छन्। एसकेएम अध्यक्ष तथा वर्तमान मुख्यमन्त्री पीएस गोले जनप्रतिनिधित्व ऐनको अनुच्छेद 8-को प्रावधानअनुसार कुनै पनि चुनाउमा खडा हुनु नपाउने कुरा त्यस्तै तथ्यपूर्ण र वैज्ञानिक विषय थियो। उनी भ्रष्टाचारको मुद्दामा अदालतमा दोषी ठहरिएर सजाय पाइसकेको हुनाले उक्त कानुनअन्तर्गत हालसालैको चुनाउमा खडा हुन पाएनन् र खडा भएनन् पनि। यस कुरालाई अहिले सामाजिक सञ्जालमा अन्यप्रकारले सत्तारूढ एसकेएम पार्टीका समर्थकहरू ‘एसडीएफ पार्टीले डाँटेको थियो’ भन्ने प्रचार सिक्किमभरि गरिरहेको छ र यसको एसडीएफ पार्टी खण्डन गर्दछ।’ एसडीएफले सत्य, नियम र वैज्ञानिक कुरा तत्काल रूपमा लागू भएन भन्दैमा सत्य, वैज्ञानिकता र नियम कानुन छैन भन्नु नमिल्ने बताएको छ। ‘केही ढिलो किन नहोस, तर कानुन, सत्यको शक्ति र यथार्थ प्रमाणित हुन्छ तथा वैज्ञानिक तर्क पनि खुदैमा प्रमाणित भएर छोड्छ। त्यसकारण पीएस गोलेले मुख्यमन्त्रीको रूपमा शपथ लिएर उनी राज्यका छैटौं मुख्यमन्त्री भए भन्ने सत्य नै अन्तिम सत्य होइन।’- एसडीएफले भनेको छ।-हिस/बिशाल

Related posts

Leave a Comment