73औं स्वाधीनता दिवसः एसडीएफ अध्यक्ष पवन चामलिङको सन्देश

Font Size
12 Total Views

गान्तोक, 14 अगस्त।
सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङले 73औं स्वाधीनता दिवसको पूर्व सन्ध्यामा एक सन्देश जारी गर्दै राज्यवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा एसडीएफ अध्यक्ष पवन चामलिङले हाम्रा पूर्वजहरूको अथक परिश्रम र बलिदानको परिणामस्वरूप देशले स्वाधीनता प्राप्त गरेको बताएका छन्। पूर्वजहरूको अथक परिश्रम र बलिदानद्वारा प्राप्त स्वाधीनताको सुरक्षा गर्न सिक्किमे नागरिकहरूले कडा परिश्रम गर्नुपर्ने पनि उनले आह्वान गरेका छन्। स्वाधीनताको सुरक्षा गर्नु हाम्रो दायित्व हो, सङ्घर्ष गरेर पाएको स्वाधीनताको सुरक्षा गर्न सक्षम भयौं भने मात्र हामी स्वाधीनताअनुसार बाँच्न पाउँछौं, उनले भनेका छन्।
हाम्रो राष्ट्रको स्वाधीनताका लागि आजाद हिन्द फौजले वीरतापूर्वक लडेको अनि देशको स्वाधीनताका लागि धेरैले जीवन बलिदान दिएको पनि पवन चामलिङले सन्देशमा उल्लेख गरेका छन्। उनले स्वाधीनता संग्राममा जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, स्वाधीनताका लागि जीवन नै समर्पण गर्ने तथा जेलमा जीवन बिताउनेहरूलाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यसरी नै हाम्रो देशको सम्प्रभुता, अखण्डता र हाम्रो राष्ट्रको पहिचानलाई संरक्षण गर्न सीमा क्षेत्रहरूमा तैनाथ देशका जवानहरूप्रति पनि पवन चामलिङले सम्मान व्यक्त गरेका छन्। उनले स्वतन्त्रता प्राप्तिसितै गणतान्त्रिक देशको रूपमा स्थापित हुन सफल भएको हाम्रो महान राष्ट्रका निम्ति आफ्नो जीवन बलिदान दिने गोर्खा समुदायका दाजु-भाई, दिदी-बहिनीहरूलाई पनि सलाम गर्दछु भनेका छन्।
आफ्नो सन्देशमा पवन चामलिङले भनेका छन्, यदि प्रत्येक नागरिकले स्वतन्त्रतापूर्वक जीवन जीउने अवसर प्राप्त गरे मात्र स्वाधीनताको मूल्य हुन्छ। यसका लागि समग्र विकास र प्रत्येक नागरिकको विकास हुन आवश्यक छ। उनले भनेका छन्, नागरिकहरू आफ्नो संवैधानिक र मौलिक अधिकारहरूलाई प्रयोग गर्न सक्षम हुनु पर्दछ। नागरिकहरूलाई प्राप्त भएको अधिकारहरूलाई उनीहरूले प्रयोग गर्नु सक्नुपर्छ। यसका लागि प्रत्येक नागरिक ज्ञान, क्षमता र योग्यताले सम्पन्न हुन आवश्यक छ। ज्ञान, क्षमता र योग्यताले सम्पन्न नागरिकहरूले मात्र देश र नागरिकहरूको हितको निम्ति अधिकार प्रयोग गर्न सक्छन्।
समाज नागरिकहरूको दर्पण मात्र हो। नागरिकहरू जस्तो हुन्छन् त्यस्तै समाज हुन्छ। यसरी नै जस्तो समाज हुन्छ सोहीअनुरूप देश हुन्छ। यसरी नै सिक्किमेली नागरिकहरूअनुरूप नै सिक्किमले दिशा लिन्छ। यसर्थ, स्वाधीनता दिवसको अवसरमा सिक्किमे जनताले आर्थिक, सामाजिक, शैक्षिक, बौद्धिक स्वतन्त्रता लिएर हाम्रा असङ्ख्य पुर्वजहरूको सङ्घर्षबाट प्राप्त भएको स्वाधीनतालाई संरक्षण गर्ने सङ्कल्प गर्नु पर्दछ, एसडीएफ अध्यक्षले आफ्नो सन्देशमा भनेका छन्।
एसडीएफ पार्टीका अध्यक्षले भनेका छन्, विकास दुई प्रकारका हुन्छन्- भौतिक (संरचनागत) र मानसिक। यद्यपि, समाज सही अर्थमा विकसित भएर अघि बढ्नका लागि दुवै प्रकारको विकास समानान्तर रूपमा हुन आवश्यक छ। यदि यस्तो भएन भने विकास अर्थहीन बन्दछ। यसका लागि हामीले कुनै पनि समाजको भौतिक र मानसिक विकासलाई उच्च प्राथमिकता दिनु पर्दछ। आज सिक्किम भारत देशमा परिचित छ। सिक्किम राज्यले भौतिक विकासको क्षेत्रमा एउटा मानक नै स्थापित गरेको छ।
एसडीएफ अध्यक्षले भनेका छन्, यदि सिक्किमलाई भौतिक विकासको आधारमा मूल्याङ्कन गरिए सिक्किम देशका पूर्वोत्तर राज्यहरूमध्ये सबैभन्दा विकसित राज्यका रूपमा स्थापित छ। तर बौद्धिक र मानसिक विकास भने भौतिक विकासको उँचाइसम्म पुग्नसकेको छैन। यो सत्यलाई हामीले स्वीकार गर्न पर्दछ। जबसम्म हामीले गम्भीरतापूर्वक सोच्ने र आफ्नो अधिकारका निम्ति लड्ने हुँदैनौं तबसम्म अन्य प्रकारको विकास अर्थहीन बन्दछ। यसर्थ, हामीले अझ धेरै प्रगति गर्नुपर्छ भन्ने कुरालाई स्वीकार्नु पर्दछ। यसो गर्न सकिए मात्र हामी स्वयंलाई सही अर्थमा विकसित समाजका रूपमा गणना गराउन सक्नेछौं।
वर्ष 2019 -को चुनाउमा एसडीएफ पार्टीले सरकार बनाउन सकेन। सिक्किमे जनताले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीलाई सर्वाधिक विश्‍वासमत दिएका छन्। यसका लागि म पुनः सिक्किमे जनताप्रति आभार व्यक्त गर्दछु। जनताले हामीलाई विपक्षको भूमिका निर्वाह गर्ने दायित्व दिएका छन्। यो भूमिकामा रहेर हामी निरन्तर सिक्किमे जनताको सेवा गरिरहनेछौं। यो मेरो वचन हो, एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो सन्देशमा भनेका छन्।

Related posts

Leave a Comment