28औं नेपाली भाषा मान्यता दिवस

Font Size
39 Total Views

एसडीएफ अध्यक्ष पवन चामलिङको सन्देश

गान्तोक, 19 अगस्त।
28औं नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले सम्पूर्ण सिक्किमेली जनगण अनि विश्‍वभरि नै छरिएर रहेका सम्पूर्ण नेपाली भाषी जनगणप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। नेपाली भाषा मान्यता दिवसको पूर्वसन्ध्यामा एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले एक सन्देश जारी गरेर शुभकामना एवं बधाई दिएका छन्। सन्देशमा भनिएको छ, 28औं नेपाली भाषा मान्यता दिवसको सुखद उपलक्ष्यमा सम्पूर्ण सिक्किमेली जनगण अनि विश्‍वभरि नै छरिएर रहनुभएका सम्पूर्ण नेपाली भाषी जनगणप्रति हार्दिक बधाई एवं शुभकामना टक्राउन चाहन्छु। नेपाली भाषा मान्यताको इतिहास 1956-मा आनन्दसिंह थापाबाट शुरु भएर 1992 -मा भाषाले संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्ति पाएसम्म रहेको छ, जुन अवधिमा भाषा, साहित्यप्रेमीहरूले धेरै ठूलो सङ्घर्ष गरेका छन्, त्याग र मेहनत गरेका छन्। आज हामी उहाँहरूको सबैको स्मरण गरिरहेका छौं। उहाँहरूले बलिदानपूर्ण सङ्घर्ष गरिदिनुभएको कारणले नै आज हाम्रो मातृभाषाले संवैधानिक मान्यता र सम्मान प्राप्त गरेको छ, र हामी गौरवान्वित बनेका छौं।
सन्देशमा अघि भनिएको छ, यद्यपि नेपाली भाषाको उत्पत्तिको इतिहास धेरै लामो छ। आरम्भदेखि यस भाषाको विकास, सम्वर्द्धन र संरक्षणको प्रक्रियामा हाम्रा धेरै पूर्वजहरूले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यस भाषालाई मौखिक रूपमा सम्पर्कको माध्यम बनाएर युग-युगसम्म बचाएर ल्याउने ती अज्ञात पूर्वजहरूका कारणले नै हामीले आफ्नो मातृभाषा पाउनसकेका हौं भन्ने कुरो आजको दिनमा स्मरणीय छ। युगको कुनै मोडमा हाम्रा पूर्खाहरूले यस भाषाको प्रयोग नगरिदिएका थिए भने आज यो भाषा लोप भएर गइसकेको हुनेथियो र हामी अर्कै भाषा बोलिरहेका हुनेथियौं। त्यस अर्थमा हामीले आफ्नो अस्तित्व गुमाइसकेका हुनेथियौं। त्यसैले हाम्रा अज्ञात पुस्ताका पूर्वजहरूदेखि लिएर आजसम्म यस भाषालाई प्रयोग गरिरहनुहुने र बचाएर, जोगाएर ल्याउनुहुने सम्पूर्ण नेपाली भाषी जनगणलाई पनि हार्दिक बधाई र कृतज्ञता ज्ञापन गर्न चाहन्छु।
नेपाली भाषालाई संरक्षण सम्वर्द्धन र विकास गर्नुसँगै यसको वर्णमालादेखि लिएर व्याकरण, शब्दकोश आदिको रचना गर्नुहुने तमाम विद्वान, विदुषी, व्याकरणवेत्ता, भाषाविद्, कोशकार, भाषाशास्त्रीहरूको योगदानबिना हाम्रो भाषाको वैज्ञानिकीकरण र मानकीकरण सम्भव हुने थिएन। उहाँहरूको निष्ठा, कर्त्तव्यपरायणता र प्रतिबद्धताको कारण हाम्रो भाषाले राष्ट्रिय र विश्‍व तहमा मान्यता र स्वीकृति पाउनसकेको हो। त्यसैले हाम्रो भाषाको विकासको श्रेय आज म विनम्रतापूर्वक उहाँहरूलाई दिन चाहन्छु। उहाँहरूप्रति कृतज्ञता जनाउन चाहन्छु, सन्देशमा भनिएको छ।
सन्देशमा अझै भनिएको छ, यसको साथमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन प्रत्यक्ष, परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण साहित्यकार, कवि, लेखक, कलाकार, सम्पादक, भाषाप्रेमी, भाषा संग्रामी, बुद्धिजीवी तथा विभिन्न सामाजिक, सांस्कृतिक एवं राजनीतिक सङ्गठनका नेता, कार्यकर्ता, समर्थकहरूप्रति पनि हार्दिक बधाई र शुभकामना व्यक्त गर्नु चाहन्छु।
भाषा मान्यता दिवसको यस अवसरमा हामीले आफ्नो मातृभाषालाई के गरी विश्‍वस्तरीय भाषाको रूपमा समृद्ध बनाउन सकिन्छ भन्ने कुराप्रति पनि हाम्रो ध्यान जानु जरूरी छ। यसको निम्ति हामी सबैले आ-आफ्नो तहबाट योगदान दिने सङ्कल्प आज लिनु जरुरी छ। भाषा मान्यतापछि यस भाषाको माध्यमबाट हामीले पाएका अवसर र लाभहरूलाई हामीले कतिसम्म लिन सक्यौं वा उपयोग गर्नसक्यौं, त्यसको पनि मूल्याङ्कन हामीले गर्नुपर्नेछ। आउँदा दिनहरूमा भाषालाई अझ विकास गर्दै, यस भाषालाई सदुपयोग गर्दै थप अधिकारहरू उपयोग गर्नसक्ने अवस्थामा हामी पुग्नुपर्नेछ। किनभने हामीले नै आफ्नो भाषालाई उपयोग गरेनौं, मान्यता दिएनौं, प्रेम गरेनौं र कदर गरेनौं भने अरू कसैले त्यो गरिदिने छैनन्। यस कुरालाई गम्भीर रूपमा सोचेर भाषाले संविधानमा अन्तर्भुक्ति पाएर मात्र हुन्न, त्यसले हाम्रो आफ्नो आत्मा र मनमा पनि अन्तर्भुक्ति र मान्यता पाउनुपर्छ भन्ने सङ्कल्प पनि आज लिऔं भन्ने अपील गर्नचाहन्छु, एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले आफ्नो सन्देशमा भनेका छन्।

Related posts

Leave a Comment