बालकृष्ण समका ‘अमरसिंह’ नाटकः एक मन्थन

Admin 1 Report

–जे.के.बराईली तृषित,

नयाँ दिल्ली, भारत

 

साहित्यमा ऐतिहासिक नाटकको छुट्टै महत्व र विशेषता हुन्छ। नेपाली साहित्यमा महान नाटककार बालकृष्ण समका नाट्य कृतिहरूलाई विषय, आधार र स्वरूपको दृष्टिकोणले हेर्दा विभिन्न प्रकार र पङ्तिमा छुट्याउन सकिन्छ, जसमध्ये ऐतिहासिक नाट्य पङ्तिमा पर्ने समका नाटकहरूको छुट्टै विशेषता र स्थान छ। समका ऐतिहासिक नाटकहरू थुप्रै छन् तर यहाँ केवल ‘अमरसिंह’ नाटकबारे चर्चा गरिनेछ।

विक्रम संवत २०१० अर्थात सन् १९५३-५४-मा लेखिएको ‘अमरसिंह’ बालकृष्ण समको नवौं नाट्य कोसेली हो- नेपाली साहित्यमा। यसमा नायकको रूपमा समले यस्तो वीर योद्धालाई लिएका छन्, जो नेपाली शौर्य, साहस र वीरताको क्षेत्रमा अद्वितिय उदाहरण हुन्। जसले संख्या र साधनको दृष्टिले तुलनात्मक रूपमा आफ्नो पक्ष कमजोड रहेको अवस्थामा पनि अंग्रेज जस्तो अस्त्र-शस्त्र, शक्ति र साधन सम्पन्न साम्राज्यवादीहरूको सशक्त आक्रमणको सामु पनि बिचलित् नभइ चट्टान जस्तो छात्ती लिएर अघि बढ़्दै शत्रु पक्षलाई कम्पायमान् पारेका थिए। त्यसताक लुटेरा र साम्राज्यवादी प्रवृत्ति लिएर नेपाललाई पनि लुट्न तम्तयार शक्तिशाली अंग्रेजहरूको हातदेखि देशलाई बचाउनलाई जसले अनेकौं अड्चनहरूको काँड़ेघारीमा पनि अदम्य साहस र वीरताका साथ अघि बढ़दै शौर्य र देशभक्तिको एउटा ज्वलन्त उदाहरण कायम गरेका थिए। जसले वीरताको क्षेत्रमा नेपालीहरूको पाखुरीको ताकत र छात्तीको साहसको परिचय विश्वलाई दिएका थिए। यस्ता वीर विभूतिको यथार्थ जीवन इतिहासलाई लिएर लेखेको समको यो ऐतिहासिक नाटक ‘अमरसिंह’ को नेपाली साहित्यमा अद्वितिय स्थान छ।

ऐतिहासिक नाटक लेखनमा समको हाराहारी नेपाली साहित्यमा अरू देखिँदैन। यस्ता नाटकहरूमध्ये ‘भक्त भानुभक्त’ लेख्नमा समले मोतीरामको किटानलाई प्रमाणको श्रोत मानेका छन् भने ‘अमरसिंह’ लेख्नमा समले श्री सूर्यविक्रम ज्ञवालीको ‘अमरसिंह थापा’-को जीवनीबाट प्रेरणा लिएका छन् अनि यसै पुस्तकलाई आधार मानी ‘अमरसिंह’ नाटक लेखेका छन्, जसको भुमिका श्री ज्ञवालीजी कै कलमबाट लेखिएको छ।

इतिहास र साहित्य एकार्कामा गहिरो रूपले सम्बन्धित हुँन्छ। साहित्य सृजनाको निम्ति दुवैको अध्ययन अनिवार्य ठहर्दछ। इतिहासको ज्ञानबिना साहित्यले आधार पाउँदैन।

कुनै पनि महान व्यक्तिलाई नायकको रूपमा लिएर नाटक लेख्नपरे इतिहासको अध्ययन तथा ज्ञान आफूमा हुन आवश्यक पर्दछ। उसैगरि इतिहासको सत्य तथ्याङ्कद्वारा गठित भएको कङ्कालमा पुष्ट मांसपेशी र रगत थपी जीवन्त पार्नलाई साहित्यिक प्रतिभाको आवश्यकता पर्दछ।

यसै प्रसङ्गमा पुस्तकको भुमिकामा ज्ञवालीजी लेख्छन्- “इतिहासकार ता प्राय: तथ्यका कङ्काल मात्र उभ्याउन समर्थ हुन्छन्। ती कङ्कालमा ठाउँ-ठाउँमा पुष्ट मांसपेशी थपी तथा नसा नसामा तातो रगत दगुऱ्याई तिनलाई हेर्न सक्यो भने ती कङ्काल राम्रा, बलिया तथा जीउँदा मानिस भएर उभिन्छन्।” यसैले शत्रुको सामुने झुक्नु र करमा परेर सम्झौता गरि आफ्नो मातृभूमिलाई धोका दिने काम मृत्युभन्दा घृणित ठान्ने आदर्श, इमान्दार, वीर, लड़ाकु र देशभक्त योद्धा, जसले आफ्नो रगतले विश्वमा नेपाली वीरताको परिचय दिए, उनै ‘अमरसिंह’ मरेपछि सायद इतिहासमा भने- कङ्काल मात्र नभएर नेपाली माँटोमा लड़ेका थिए तर समले त्यही कङ्कालमा रगत र मांसपेशी थपि फेरि नाटकमा अमरसिंह जिउँदा पारे। फेरि नेपाल-अंग्रेजको युद्धलाई दोहोऱ्याई त्यो संकटापन्न अवस्थामा अमरसिंह र उनका पथगामीहरूबाट मातृभूमिको रक्षार्थ प्रदर्शन गरिएका त्याग, वलिदान, साहसीपन, इमान्दारीपन, वीरता, देशभक्ति जस्ता गुणहरूलाई हरेक नेपालीको दृष्टिमा ल्याए।

विलियम शेक्सपियरले आफ्ना ऐतिहासिक व्यक्तित्वहरूको नाटकीय चित्रणद्वारा राष्ट्रिय गौरवको परम्परालाई जनसमक्ष ल्याएकाले उनका समयकालका अंग्रेजी जनता उनीप्रति औधी खिचिए र उनका नाटकहरूले औधी प्रशंसाको पुष्पवृष्टि थाप्न सक्यो। उसै गरि नाटककार समको प्रसङ्गमा पनि यही कुरा चरितार्थ हुन आएको पाईन्छ।

समको ‘अमरसिंह’ नाटक ऐतिहासिक मात्र नभएर उतिकै वियोगान्त नाटक पनि हो। प्रस्तावना समेत गधकवितामा भएको चार अङ्क र चौध दृश्यसहितको यो एउटा पद्यात्मक नाटक हो। आफ्नो विस्तारवादी र लुटेरा मनोवृत्ति तृप्त गर्न भारतभूमिलाई लुट्दै अघि बढ़िरहेको अंग्रेज साम्राज्यवादीहरूसित कसरी अमरसिंहको कुशल नेतृत्वमा नेपाल लड़ेको थियो, त्यसको साह्रै राम्रो चित्रण नाटक ‘अमरसिंह’-मा हामी पाउँछौं।

विश्वमा कतिले ‘गोर्खा’ संज्ञालाई अरूको हातमा बेचिएर लड्ने मूँढ़े योद्धा मात्र ठान्ने गरेको सोंचलाई विघण्डित पार्दै सुगौली सन्धिपूर्व अंग्रेजहरूसितको युद्धमा अमरसिंह, बलभद्र र भक्ति थापा आदिले आफ्नो स्वदेशप्रतिको माँया, त्याग, बलिदान, साहस, बल, देशभक्ति, दूरदर्शीता, स्वतन्त्रताप्रेम र आत्म सम्मानको ज्वलन्त उदाहरण दर्शाएर फिरन्तेहरूका अभिमानलाई टुक्रा-टुक्रा पारिदिए। तर अन्य कौशल लगायत युद्ध कौशल र साधनमा पनि विश्वमा सर्वसम्पन्न अंग्रेज साम्राज्यवादीहरूसित कति थर्कमान प्रकारले अमरसिंहको नेतृत्वमा नेपालीहरू लड़ेका थिए, त्यो भुल्नै नसकिने इतिहासलाई आज अरूले त के आफ्नै जातिले समेत भुलेको देख्दा, लत्याएको देख्दा, समको दृश्यमा पैह्रो गयो अनि त्यहि पैह्रोबाट ‘अमरसिंह’ नाटकले जन्म लिएको देखिन्छ।

यसैले, एकातिर समको यो नाटक महामानवप्रतिको पूजा हो भने- अर्कोतिर त्यो अतितको देशभक्ति, आत्म सम्मान, साहस, राष्ट्रियता र वीरताको ऐतिहासिक सत्य तथ्यहरूको हुरीले सुतेको भुस्याहा स्वजातिलाई ब्युझाउँने सचेष्ट प्रयोग पनि हो। “यो यस्तो अगुल्टो हो- जसले राष्ट्रिय गरिमालाई मेट्न खोज्नेहरूलाई डड़ाएर खरानी पार्नेछ भने अचेत र सुतुवाहरूलाई पोल्दै र डाम्दै, हावाकावा खेलाउँदै आफ्नो अतिततर्फ सजग पार्नेछ।” (ताना शर्मा) अझ, यसो पनि भन्न सकिन्छ कि, ‘अमरसिंह’ नाटक साम्राज्यवादीहरूप्रतिको नितान्त घृणा र भर्त्सना पनि हो।

अब ‘अमरसिंह’ नाटकलाई खोतल्दा हात परेका बिशेषताहरूलाई पनि यहाँ राख्न आवश्यक ठान्दछु।

‘अमरसिंह’ नाटक राष्ट्रीय प्रेमको एउटा यस्तो ‘गीता’ हो, जसले अनुशासन र आज्ञाकारिताको सबक सिकाँउदछ। राजभक्ति र देशभक्तिमा अगाध श्रद्धा राख्न, स्वदेश भूमिको निम्ति आफ्नो प्रेमको बलिदान हाँस्दै- हाँस्दै त्याग गर्न अनि त्यतिकै साहस, वीरता, आत्म-सम्मान र इमान्दारीपूर्वक राष्ट्रिय सुरक्षा र गरिमालाई सुदृढ़ राख्ने मूल मन्त्र सिकाउँदछ अनि भविष्यको सन्ततिलाई यसै दिशामा अघि बढ़ने मार्ग निर्देशन गर्दछ।

पूर्वीय परम्परा र पाश्चात्य शैलीवद्ध ढंगमा सुत्रधारले गद्यकवितामा प्रस्तावना सुनाएको यो नाटकभित्रको अनुपम वैशिष्ट्य प्रयोग हो।

‘अमरसिंह’ नाटकमा राजा, मन्त्री लगायत ठूला-ठूला व्यक्तिहरू पनि भेटिन्छन् तर नाटकको अन्तसम्म अमरसिंहकै चरित्रले नै पाठकलाई प्रभाव पार्दछ, यसो हुँदा नाटकको सम्पूर्ण केन्द्रविन्दु अमरसिंह नै रहेको देखिन्छ।

लँड़ाईमा होमिन पुगेका सिपाहीहरू पनि रूखो हुँदैनन्। उनीहरूमा पनि स्नेह र प्रेम हुन्छ भन्ने कुरा रामदास (अमरसिंहका छोरा) र हृदयसिंह (भक्ति थापाका छोरा) बीचको वार्तालापबाट प्रष्ट हुँदछ। यस्तै प्रेम-विवाहको कुरा र तत्कालीन जातिय कुरीतिहरूको स्पष्ट चित्रण पनि यी दुइको वार्तालाभबाट थाहा लाग्छ। हेरौं-

हृदयसिंह- के विवाह नहुने भयो?
रामदास – “जात मिल्दैन रे।”
हृदय – “ल्याई विवाह नगरीकनै घरमा किन राख्दैनस्?”
रामदास – “तेरा बाबुहरू त्यसो गर्न दिन्छन् र? भन्छन् – ‘खै चलेको कर्म?’ ती त्यसै
मान्छेको मसिनो शुद्ध भावनालाई क्रूर भै
छिनाल्न खोज्छन् झुटो अस्वाभाविक नीतिले !
बिहे गरेर घिटलो निर्दयी नभइकन
पवित्र चुनरीलाई धर्मले लिनु हुन्न रे!”

उपर्युक्त वार्तालापबाट तत्कालीन कुरीतिहरूलाई निर्मूल पार्ने संकेत पनि प्राप्त हुन्छ। नाटकमा रामदास र हृदयसिंहको वार्तालापमा अझ डुब्दा नाटकीय विश्रान्ति (Dramatic Relief) को दृष्टिकोणले मात्र यो महत्वपूर्ण नभएर यसले आउँदा वेदनामय घटनाको समेत आशंका हाम्रो मनमा उब्जाउन पुग्दछ। नेपाली सेनाको दयनीय स्थितिको उल्लेख यी दुइका बीच हुनु भक्ति थापाको मृत्युको सूचकको रूपमा हामी देख्छौं।

अंग्रेजहरूसितको युद्धमा वीरतासाथ लड्दा लड्दै भक्ति थापाले वीरगति प्राप्त गर्छन्। शत्रुनै भएपनि वीर र वीरताको कदर गर्न जान्ने अंग्रेज सेनापति जर्नेल अकटर्लोनीले शव ढाक्नलाई दोसल्ला पठाउँछन्। वीरताको कदर मात्र नभएर नेपालीको अदम्य साहस र वीरताको परिचय समेत अंग्रेजले पाएको यसबाट प्रष्ट हुन्छ।

समको यो कृति ‘अमरसिंह’-ले त्यसबेलाको सामाजिक स्थितिलाई पनि दर्शाउन सफल भएको छ। समरभूमिमा भक्ति थापाको शरीर ढलेपछि उनका दुइ मुखिनीहरू सती गएको दृश्यले पनि तत्कालीन सामाजिक कुप्रथाहरूलाई टिपेर हाम्रो आँखा अघि राख्दछ।

अझै हेरौं- लँड़ाईमा विजयी होस् भनी नेपाली सैनिकहरूलाई आशिष् र शत्रु पक्षलाई सतीसराप दिने अनुरोध एउटा सिपाहीले सती जान तम्तयार मुखेनीहरू समक्ष राखेपछि कान्छी मुखिनी – ‘जय होस्।’ भन्छिन्, त्यसपछि शत्रु पक्षलाई जेठी मुखिनी चाँही सतीसराप दिनपर्ने ठाउँमा यसो भन्छिन्—

“अर्को त- कसरी शाप दिँउ अंग्रेजलाई म
जो आफ्नो देशको निम्ति मर्न कम्मर कस्दछन्
जो गर्छन् यसरी वीर शत्रुको पनि आदर
जो अछुती भनी हेला गर्दैनन् अरूलाई, जो
स्वास्नीमान्छेहरूलाई दाहिने अंग गन्दछन्
जो भेदभाव छोड़ेर सबैलाई पढ़ाउँछन् !
विश्वासघात गर्दैन एक गोरा पनि यता
आउँदैन, उता जान्छन् मिल्न हाम्राहरू भने
कुन आधारमा मैले सराप्ने? अझ आश छ…”

जेठी मुखिनीको मुखबाट निस्केको उपरोक्त पद्यांशबाट शत्रुहरूको पनि गुणको कदर गर्नुपर्छ अथवा राम्रो पक्षको प्रशंसा गर्नुपर्छ भन्ने बुझिन्छ। अझ, यसमा शत्रुहरू आफ्नो पक्षप्रति इमान्दार रहेको कुराको प्रशंसा गर्दै जेठी मुखिनी नेपालीहरूसित पनि आफ्नो पक्षलाई धोका नदिने अप्रत्यक्ष अनुरोध गर्छिन्।

नाटकभित्र दुइ गाइनेहरूलाई पनि समले यस्तो रूपमा प्रस्तुत गरेका छन् जसले संकटापन्न अवस्थामा देश रक्षाको निम्ति जागृतिको गीत यसरी गाउँदै-गाउँदै सबैलाई प्रोत्साहित पार्दै अघि बढ़दछन्—

“हामीले माया मारे पहाड़मा पहिरो जानेछ
सुकेर खोला बालुवाभित्र लुकेर बस्नेछन्;
रूखका सबै पात पहेंला बन्दै सुकेर झर्नेछन्
डढ़ेलो लागि जङ्गल सारा अङ्गार बन्नेछन्,
पृथ्वी बाँझी भएर खुम्ची पटपटी फुट्नेछन्,
बादल तान्दै मुख छोपी हिमाल धरधरी रूनेछन्।
बैगुनी बन्दै कसरी हामी देशलाई बिगारौं?
मरेर पनि दुधको भारा कसरी नतिरौं?
नेपाली दाज्यु, नेपाली भाई, लौं हात समाऔं।
नेपाललाई स्वतन्त्र राखौं, तरवार उठाऔं।”

समका यी दुइ गाइनेहरूले निकै ठूलो भूमिका निर्वहन गरेका छन्। यिनीहरूका गीतले जागृति र प्रोत्साहन मात्र नदिएर हाम्रो पुरानो संस्कृति र लोक सङ्गीतको महत्वतर्फ सबैको ध्यान खिच्ने काम पनि गरेको छ।

फेरि, नाटकमा देवी-देवताको मूर्ती, पुजा-आजा, तीर्थस्थान आदिको प्रसङ्गबाट नेपाली संस्कृति र परम्परालाई दर्शाउने काम समेत हुन पुगेको छ।

नाटकमा अंग्रेजहरूको मुखबाट नेपाली बोलिनु र नेपालीहरूले भने अंग्रेजी नबोल्नुबाट नेपालीहरूको राष्ट्रभाषाप्रतिको श्रद्धा र प्रेम छर्लक्क हुन पुगेको छ।

नाटककार स्वयं फौजी अफिसर, दरवारिया व्यक्ति, कवि कलाकार, नाटककार भएका हुनाले ‘अमरसिंह’ नाटकमा रणकौशल सम्बन्धित घटनाको वर्णन गर्नु, तत्कालीन दरवार र समाजको चित्र उतार्नु, भाषालाई साहित्यिक शैलीमा कलात्मक ढंगले अभिव्यक्ति दिनु जस्ता जटिल कार्यमा नाटककार सबै कोणबाट सफल देखा परेका छन्।

यो नाटकको अर्को महत्वपूर्ण विशेषतालाई हेरौं अब। नाटकमा पैंसठी वर्षे काजी अमरसिंह थापालाई उन्चालिस वर्षे प्रधानमन्त्री भीमसेन थापाभन्दा कता हो कता जोशिला, ऊर्जाशील र प्रभावकारी देखाइएको छ। सुरूमा भीमसेन थापामा जुन उत्साह देखिन्छ बीच र पुच्छरतिर पुगेर त्यो कायम रहेको देखिन्न। बरू अमरसिंह थापा सुरूमा केही धीर देखिन्छन्, उनको जोशमा होस पनि देखिन्छ। भक्ती थापामा होस भन्दा ज्यादा जोश देखाइएको छ। यसबाट नाटककारले के देखाउन खोजेका छन् भने, उत्साह र जोश भन्ने कुरा उमेरसित गाँसिएको हुँदैन, वीरता भन्ने कुराको सम्बन्ध व्यक्तित्वसित हुन्छ र राष्ट्रप्रेमको नशाले पैंसठी वर्षे वृद्धलाई पनि सोह्र वर्षे ठिटो बनाएर मताउँछ। अझ, जोशको पाइलालाई ठीक आँखा दिने हाम्रोमा होस पनि हुनुपर्छ भन्ने कुरा पनि नाटकको प्रमुख पात्र अमरसिंहको व्यक्तित्वबाट हामी बुझ्न सक्छौं।

समको यो ‘अमरसिंह’ नाटक विशेष सुगौली सन्धिले समाप्त गरेको ‘आंग्ल-नेपाल युद्ध’ को आधारमा निर्मित छ। ‘अमरसिंह’ जस्ता वीरहरूको नेतृत्वमा असाधारण वीरता र साहसका साथ लड़ेर पनि नेपालीहरूले सस्ता लालमोहर लागेको सन्धि पत्रमा सहीछाप गर्न कर लाग्छ। यद्यपि अंग्रेजहरूले बल र बुताले पेलेर यसो भएको चाहिँ होइन। बरू धेरै नेपालीहरूमाझमा नै देखा परेका आत्मविश्वास र आत्माभिमानको अभाव, शत्रुको जूठो भातमा बिक्री हुने प्रवृति साथै राजधानीबाट उचित सहयोगको कमि र शासकवर्गको तर्फबाट प्रदर्शित अदूरदर्शिता जस्ता विसङ्गतिहरूबाट फिरङ्गीहरूले फायदा उठाएको नाटकमा देखाइएको छ। आफ्ना तर्फकाहरूका यस्तै चालाले गर्दा अन्तमा अमरसिंह विरक्तिएर तीर्थ गर्न गोसाईकुण्डमा पुग्छन्। आफ्नो मातृभूमिको रक्षार्थ सर्वस्थ त्यागेर, हिमाल जस्तो आत्माभिमान लिएर वीरतापूर्वक लड्ने यस्ता वीर गोसाईकुण्डमा पुगेपछि त्यहाँ भेला भएका अपरिचित यात्रुहरूका वार्तालाप उनको कानमा पर्छ। त्यो उनीहरूको वार्तालापमा आफ्नो प्रशंसा नभएर बरू अपजस् मात्र सुन्न पर्दा, त्यसभन्दा अझ ठूलो आरोप ‘अमरसिंहले डुबाए देशलाई’ भनेको सुन्नपर्दा…त्यो अपमान र अपजस् खप्न नसकी रगत छाद्दै त्यहीं अमरसिंह घुर्लुप्प भएर ढलेको देखाइएको छ नाटकमा।

अन्तमा बालकृष्ण समको नेपाली साहित्यको सर्वोत्कृष्ट नाटक यो ‘अमरसिंह’। नेपाली आत्मालाई राम्ररी छाम्न सक्ने कलात्मक अभिव्यक्ति हो। यो यस्तो अभियव्यक्ति हो, जसले नेपाली राष्ट्रियतालाई युग-युग सम्म बचाइ राख्नेछ।

सन्दर्भ ग्रन्थ:-
(१) ‘अमरसिंह’- बालकृष्ण सम
(२) ‘सम र समका कृति’- ताना शर्मा
(३) ‘साहित्य प्रकाश’- केशवप्रसाद उपाध्याय
(४) बालकृष्ण समका नाटकमा राष्ट्रिय चेतना (शोधप्रबन्ध) नेपाल, हेमचन्द्र

<>

 

Next Post

दृष्टिको प्रयोगशाला

कथा […]

You May Like

👉