17 हजार 8 सय फिटमाथि ऐतिहासिक गुरुदोङ्मार म्याराथन

Font Size
17 Total Views

गङ्गाहाङ सुब्बा बने प्रथम च्याम्पियन

गान्तोक, 8 जून।
सिक्किम माउण्टनेरिङ एसोसिएसन (एसएएमए)-ले साहसिक खेल साथै साहसिक पर्यटनलाई बडावा दिँदै 17 हजार 8 सय फीटको उचाईमा उत्तर सिक्किमको गुरुदोङ्मार झील परिसरबाट 42.1 किलोमिटरसम्म म्याराथनको आयोजन गरी साहसिक खेलको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। विश्‍वकै सर्वोच्च ठाउँमा हुने म्याराथनमा आफ्नो राज्यको नाम अङ्कित गर्न एसएएमए-ले यो म्याराथनलाई पूरा गर्न सफल बनेको छ। जहाँको हवामा मानिसहरू लामो समयसम्म हिँडडुल गर्न अनि सास फेर्न पनि आफूलाई गाह्रो भएको महसुस गर्छन् त्यस ठाउँबाट म्याराथन गर्नु कुनै मामुली कुरा होइन। स्थानीय युवाहरूलाई साहसिक खेलमा प्रोत्साहन दिन एसएएमए-ले आयोजन गरेको प्रथम गुरुदोङमार म्याराथनमा धेरै धावकहरूले उत्साह पूर्वक सहभागिता जनाएका थिए।
प्रथम गुरुदोङ्मार म्याराथनमा पश्‍चिम सिक्किमका देन्ताम निवासी गङ्गाहाङ सुब्बाले 3 घण्ट 4 मिनटमा 42.1 किलोमिटरको दूरी पार गर्दै प्रथम बनेका छन्। उनले 17 हजार 8 सय फिटको उचाईबाट शुरू गरेको आफ्नो दौडलाई 12 हजार फीटको उचाईमा रहेको साम्दोङ गाउँमा समाप्त गरेका थिए जो धावकहरूका निम्ति अन्तिम पोइण्ट निर्धारित गरिएको थियो।
प्रतियोगितामा दोस्रो अनि तेस्रो स्थानमा दार्जीलिङका दुई धावक आशिष सुब्बा र कर्मा छिरिङ भोटिया रहेका छन्। यसरी नै महिला धावकहरूमा दार्जीलिङकै छिरिङ ह्लामु भोटिया र प्रकृति प्रधान प्रथम र दोस्रो भएका छन्। जम्मा 36 जना धावकहरूले सहभागिता जनाएको प्रथम गुरुदोङ्मार म्याराथन विश्वभरि हुने ग्लोवल रनिङ डे अनि मिलियन किड्स रन-को अवसरमा विश्व मानचित्रमा सिक्किमलाई पनि म्याराथनमा सामेल गराउँदै यस प्रकारको कार्यक्रम आयोजन गरिएको थियो।
गुरुदोङ्मार झील परिसरबाट बिहान 7.30 बजी उत्तर जिल्ला पुलिस अधिक्षक कुङ्जाङ डी. साङ्दार्पाले झण्डा हल्लाएर म्याराथनको शुरुआत गराएका थिए। म्याराथनमा सबैभन्दा वरिष्ठ धावक 61 वर्षीय कार्ल फुर्थमेयर शान्तिनिकेतन निवासी रहेका थिए भने सबैभन्दा कम उमेरका धावक 14 वर्षीय विष्णु कुमार गुरुङ रहेका थिए। एसोसिएसनका सल्लाहकार जिम्पिङ थेण्डुपअनुसार साहसिक खेलमा स्थानीय हरूलाई प्रोत्साहन दिन सातजना स्थानीय धावकहरूलाई सङ्गठनले प्रायोजन गरेको थियो। जसमा लाचेन निवासी महिला धावक मुस्कान लाचेन्पालाई पनि सङ्गठनले प्रायोजन गरेको थियो। यसरी नै सङ्गठनले आयोजन गरेको पहिलो गुरुदोङ्मार म्याराथन सफलतापूर्वक सम्पन्न भएपछि आगामी वर्षको म्याराथनको निम्ति अहिलेबाटै बुकिङको निम्ति जानकारी लिने शुरू भइसकेको अनि आउँदो वर्ष यसपालिभन्दा अझ व्यापक सङ्ख्यामा धावकहरूको सहभागिता जुटाउने लक्ष्य लिएर कार्य गर्ने बताए।
यद्यपि, उक्त हिमाली क्षेत्रमा धेरै धावकहरू लिएर जाँदा आवासीय समस्या हुने भएको हुनाले यसपाली पनि कम्ति धावकहरूलाई मात्र समेट्न सकिएको बताए। साम्दोङ गाउँमा अएर सम्पन्न भएको म्याराथनको समापन समारोहमा मुख्य अतिथि साङ्दार्पाको बहुलीबाट विजयी धावकहरू अनि सहभागिहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरियो। यस अवसरमा लाचेन जुम्साका पिपन विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले तक्निकी सहयोग गरेको थियो भने एनएचपीसी उत्तर जिल्ला प्रसाशन, लाचेन जुम्सा, भारतीय सेना, भारत तिब्बत सीमा पुलिस, सिक्किम पुलिसले पनि विभिन्न क्षेत्रबाट सहयोग र प्रायोजन गरेको थियो। विश्वको विभिन्न ठाउँहरूमा म्याराथन आयोजन भइरहोको भएपनि सडकमा यति उचाईमा हुने पहिलो म्याराथन भने एसएमए-ले गरेको गुरुदोङ्मार म्याराथन नै मानिएको छ। जसको सफल आयोजनले आउँदो दिनहरूमा सहासिक खेलमा थप योगदान सितै पर्यटनको दिशामा पनि प्रचार हुने देखिएको छ।

Related posts

Leave a Comment