16 वटा सामुदायिक शौचालय बनिँदैः पहिलो शौचालयको उद्घाटन

Font Size
67 Total Views

कालेबुङ, 9 अगस्त।
कालेबुङ नगरपालिकाद्वारा शहरका विभिन्न ठाउँहरूमा 16 वटा सामुदायिक शौचालयहरू बनिरहेको छ। स्टेर अर्बन डेभ्लोपमेन्ट एजेन्सीद्वारा निर्माण गरिएको पहिलो सामुदायिक शौचालय चन्द्रलोकमा उद्घाटन गरियो। वार्ड नम्बर 18 अन्तर्गत चन्द्रलोक जागृति परिवारको समाज घर परिसरमा 8 लाख 40 हजार रुपियाँको लागतमा शौचालय निर्माण गरिएको हो। नगरपालिका अध्यक्ष रवि प्रधानको बालुहीबाट शौचालयको उद्घाटन गरिएको थियो भने उद्घाटन कार्यक्रमअवधि नगरपालिका उपाध्यक्ष भीम अग्रवाल, वार्ड पार्षदिका मुन्ना लामा, समाजका अध्यक्ष पीबी छेत्री आदि उपस्थित रहेका थिए।
यसरी नै समाज घर परिसरमा लगभग 6 लाख रुपियाँको लागतमा बनिएको सुरक्षा देवालको पनि नगराध्यक्षले निरीक्षण गरे। स्टेट अर्बन एजेन्सीद्वारा बन्दै गरेको पहिलो चरणको 16 वटा सार्वजनिक शौचालयहरूमा दुर्बिन गुम्बाको अघिल्तिर, कालीमन्दिर छेउ, नयाँ मोटरसट्याण्ड परिसर आदिमा पनि निर्माण गरिने भएको छ। यस योजनाअन्तर्गत नयाँ शौचालयहरू मात्र होइन पुराना सार्वजनिक शौचालयहरू पनि मरमत गरिने भएको छ। पहिलो चरणमा 16 वटा बनेपछि दोस्रो चरणमा थप 24 वटाको निम्ति नगरपालिकाले प्रस्ताव पठाएको छ। नगरपालिकाको पहलमा यसरी सामुदायिक शौचालय बनेपछि स्थानीय तीनवटा गाउँका मानिसहरूलाई सुविधा हुने बताउँदै समाजका अध्यक्ष पीबी छेत्रीले नगरपालिकाप्रति आभार प्रकट गरेका छन्। यसरी नै नगरपालिकाको 19 नम्बर वार्डमा आज हाउस फर अल योजना अन्तर्गत पाँचवटा घरको उद्घाटन गरी परिवारपक्षलाई हस्तान्तरण गरिएको छ। लाभार्थी परिवारहरूमा चन्द्रिका छेत्री, मनबहादुर मुखिया, शंकर मुखिया, राजु छेत्री अनि गणेशबहादुर छेत्रीको रहेका छन्।

Related posts

Leave a Comment