हाम्रो छहारीको भेटघाट कार्यक्रम गान्तोकमा

Font Size
96 Total Views

अर्जुन राई
गान्तोक, 15 मई।
सिक्किम कलाकार संघको आयोजनामा नेपाली साहित्य परिषद भवनमा आज ‘हाम्रो छहारी’को भेटघाट कार्यक्रम सम्पन्न भयो। नेपाली साहित्य परिषदका अध्यक्ष रूद्र पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुम्बईबाट हाम्रो छहारीका सल्लाहकार कमल सिंह, संयोजिका सकुनसिंह राई र उपसंयोजिका स्वास्तिका छेत्रीको साथमा पूर्व मन्त्रीद्वय सीबी कार्की र टी लाचुङपाको विशेष उपस्थिति रहेको थियो। सिक्किम कलाकार संघका अध्यक्ष चुनिलाल घिमिरेको स्वागत सम्बोधनबाट कार्यक्रम शुरू गरिएको थियो। स्वागत सम्बोधनको क्रममा अध्यक्ष घिमिरेले भेटघाट कार्यक्रम आयोजना गरिनुको औचित्यबारे सामान्य जानकारी गराउँदै एकापसमा परिचय पनि गराएका थिए।
दार्जीलिङ, कालेबुङ, सिलगढी, मिरिक, खरसाङलगायत सिक्किम तथा अन्य भेगबाट विशेष उपचारका निम्ति मुम्बईमा जाने नेपाली भाषीहरूको सहयोगार्थ पहाडी अञ्चलहरूको भ्रमणमा निस्किएका हाम्रो छहारीका सदस्यहरूसित भेटघाट गर्ने मुख्य उद्देश्यमा यो कार्यक्रम आयोजना गरिएको थियो। मुम्बईमा जाने नेपाली भाषीहरूलाई त्यहाँको भाषा, भौगोलिक ज्ञानको अभाव, बसोबासो गर्ने होटल, खानपान आदिमा समस्या हुने गरेकाले हाम्रा मानिसहरूले दुःख नपाओस् भन्ने उद्देश्यमा गठित हाम्रो छहारीलाई आर्थिक रूपमा दह्रिलो बनाउने उद्देश्य लिएर तीन सदस्य टोली सहयोगको निम्ति अहिले विभिन्न क्षेत्रको भेटघाट एवं भ्रमणमा छ।
कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो छहारीका सल्लाहकार कमल सिंहले संस्थाको पहिलो प्राथमिकता उपचारका निम्ति मुम्बई पुग्ने बिमारीहरूलाई दिइने बताउँदै कसैलाई पाँच-दश हजार रूपियाँ सहयोग गरेर मात्र ठूलो सहयोग नहुने बताए। उनीहरूलाई त्यहाँको वातावरण, स्थिति, भाषा आदिको बारेमा पनि सहयोग गर्नु अनि साथ दिनु महत्त्वपूर्ण रहने बताए। संस्थाले कुनै पनि जात धर्म नहेरी टाडाबाट आउनेहरूलाई सहयोग गर्ने बताउँदै यसमा सबै भेगबाट सबै जनाले साथ दिए सफल बन्न सक्ने विश्‍वास व्यक्त गरे। यसका लागि कसैले पनि हाम्रो छहारीको सदस्य बन्न सक्ने बताउँदै विभिन्न प्रकारका सदस्यता ग्रहणका लागि शुल्क विवरण पनि उनले राखेका थिए। यसका साथै गोपाल सिंह नेपाली जस्ता वरिष्ठ कलाकारको मुम्बईमा सालिग बनाउने संस्थाको योजना पनि रहेको जानकारी गराएका छन् भने यो संस्थाको आफ्नो छुट्टै भवन निर्माण गर्ने योजना रहेको पनि उनले बताएका छन्।
यसरी नै कार्यक्रमलाई संयोजिका सकुनसिंह राईले पनि सम्बोधन गरेकी थिइन्। उनले मुम्बईमा उपचारका निम्ति पहाडी भेगबाट आउने जो कोही पनि संस्थाले बस्ने, खाने, यातायात समस्या, डाक्टरसित भेट गर्ने व्यवस्था जस्ता कुराहरूमा सहयोग पुर्याउँदै आइरहेको बताइन्। मुम्बईको महँगाई, भाषा आदि मुख्य समस्या रहेको बताउँदै बरू आमा-बाबु पाइएला तर बस्ने कोठा पाउन गाह्रो रहेको जानकारी गराइन्। यस्तो अवस्थामा हाम्रा मानिसहरूले दुःख नपाउन् भन्ने ध्येयले हाम्रो छहारीको गठन अथवा स्थापना भएको उनले बताइन्। संस्थालाई विभिन्न व्यक्तित्वहरूबाट सहयोग राशी प्राप्त भइरहेको बताउँदै यसमा पूर्ण पारदर्शिता कायम राखिएको पनि उनले बताइन्। यद्यपि, संस्था पञ्जीकरण, पान कार्ड आदिको समस्याका कारण अहिले समितिको ब्याङ्क खाता नरहेको तर अब चाँडै यो काम पनि गरिने उनले विश्‍वास दिलाइन्।
हाम्रो छहारीकी उपसंयोजिका स्वास्तिका छेत्रीले पनि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाको मुख्य उद्देश्य के हो अनि कहिले र कसरी गठन गरियो भन्ने बारे स्पष्ट पारेकी थिइन्। उनले भनिन्, मुम्बईमा प्रत्येक महिना हामी बसीबियाँलो कार्यक्रम आयोजना गर्ने गर्छौं, जो सिक्किमबाटै शुरू गरिएको थियो। हामीले बसीबियाँलोमा पनि चर्चा गर्ने गरेका थियौं, उपचारका निम्ति मुम्बई आउनेहरूलाई हामीले सहयोग पनि गरिरहेका थियौं। त्यसैलाई पछिबाट ठूलो रूपमा लिँदै सहयोगको निम्ति कुनै एउटा संस्था नै खोल्न सकिए राम्रो हुने थियो भन्ने हाम्रो चर्चा हुन्थ्यो। हामीलाई विभिन्न क्षेत्रबाट आउने हाम्रा मानिसहरूले सहयोग मागिरहेका हुन्थे। पछिबाट बसीबियाँलो कार्यक्रममा नै छलफल गरेर हाम्रो छहारी गठन गरेका हौं, स्वास्तिका छेत्रीले बताइन्। उनले यो संस्थालाई दह्रो बनाउन सिक्किम, दार्जीलिङ, कालेबुङलगायत सबै क्षेत्रबाट आर्थिक सहयोग तथा अन्य कुनै पनि प्रकारका सहयोगहरू प्राप्त हुने आशा व्यक्त गरिन्।
कार्यक्रमलाई सभाध्यक्ष रूद्र पौड्यालले सम्बोधन गर्दै यो अति नै राम्रो अनि प्रशंसनीय कार्य भइरहेको बताए। यसलाई सफल पार्न कार्यक्रममा उपस्थित सम्पूर्णले एक-एक जनालाई बताउँदै सबैले सहयोग गरे असल हुने मनसाय राखे। यसरी नै पूर्व मन्त्री सीबी कार्कीले भने, मुम्बईमा हाम्रा मानिसहरू बस्ने घर हुन सके राम्रो हो भन्ने हाम्रो पनि सोंच छ।
पूर्व विधायक दोर्जी नामग्यालले पनि यो कुरालाई अघिबाटै सिक्किम विधानसभामा उठान गरिसकेका भए पनि कतिपय कारणवश यसलाई सकारात्मक परिणामसम्म पुर्याउन नसकेको पूर्व मन्त्री कार्कीले बताए। उनले आफ्नोतर्फबाट हुने आर्थिक सहयोगसितै संस्थागतरूपमा पनि सहयोगको लागि आफू तयार रहेको बताए। यसरी नै पूर्व मन्त्री टी लाचुङपाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए। उनले हामी बिमार भएर उपचारका निम्ति गइरहनु भन्दा आफैलाई स्वास्थ्य राख्न सक्नुपर्ने सुझाउ राखे। हाम्रो छहारीको जुन प्रयास छ यो अति नै सराहनीय रहेको लाचुङपाले बताए।

Related posts

Leave a Comment