हाम्रो क्रान्तिलाई अझै सशक्त बनाउनेछौं : एनके सुब्बा

Font Size
90 Total Views

सरोज गुरुङ
गेजिङ, 22 जून।
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको पश्‍चिम जिल्ला कार्यकारिणी समितिको तत्वावधानमा आज जिल्लास्तरीय रूपमा 27औं सम्पूर्ण क्रान्ति दिवस पालन गरियो। गेजिङस्थित सामुदायिक भवनमा आयोजित एसडीएफ पार्टीको यस महत्त्वपूर्ण दिवस पूर्वमन्त्री आरबी सुब्बा(लिबाङ)-को अध्यक्षतामा सम्पन्न भयो। यस अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पश्‍चिम जिल्ला प्रभारी एनके सुब्बा, विधायक केएस लेप्चा, पश्‍चिम जिल्ला कार्यकारिणी समितिका अध्यक्ष शेरहाङ सुब्बा, पूर्वमन्त्री दाउछो लेप्चा, पूर्व विधायकद्वय दिपक गुरुङ र सोनाम डाडुल भोटिया, पूर्व विधायिका चन्द्रमाया सुब्बा, गेजिङ नगर परिषदका अध्यक्ष आइके न्यौपाने, जोरथाङ जेएमसीका अध्यक्ष टीका गुरुङ, जिल्ला पञ्चायत उपाध्यक्ष अशोक गुरुङ, पार्टीले गत चुनाउमा पश्‍चिम जिल्लाबाट प्रत्याशीको रूपमा खडा गरेका सबै उम्मेदवार, जिल्ला स्तरका पार्टी पदाधिकारीवर्ग साथै पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका उपाध्यक्ष पश्‍चिम जिल्ला प्रभारी एवं विधायक एनके सुब्बाले अबउसो एसडीएफ पार्टीले अझै जुझारू भएर आफ्नो क्रान्तिलाई अघि बढाउने बताए। उनले भने, “राजनीति गम्भीर भएर चिन्तन गर्ने विषय हो, चिन्तन गरौं। एसडीएफ पार्टी सकारात्मक अनि निर्माणात्मक राजनीतिमा विश्‍वास गर्ने पार्टी हो। प्रजातान्त्रिक प्रणालीमा विजय र पराजय स्वाभाविक कुरा हो। जनताले यसपल्ट एसडीएफ पार्टीलाई विपक्षको भूमिकामा राखेका छन्। जनताको यो आदेशलाई सम्मान गर्छौं। हामी विपक्षमा रहेर जनताको आवाजलाई सडकदेखि सदनसम्म उठाउनेछ। जनतालाई अन्याय हुनु दिने छैनौं। सिक्किम र सिक्किमे जनताको पक्षमा हाम्रो क्रान्तिलाई अझै सशक्त बनाउनेछौं।” एसडीएफ पार्टीको सरकारले पाँचवटा कार्यकालमा गरीब जनताको जीवनस्तरलाई माथि उठाउने सफलता प्राप्त गरेको एनके सुब्बाले बताए। चुनाउअघि एसकेएम पार्टीले जनतालाई दिएका सबै वचनहरू पूरा गर्दै जानुपर्ने सुझाउ राख्दै उनले अहिले एसकेएम सरकार हंस हराएको अवस्थामा रहेको पनि बताए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभा अध्यक्ष एवं पूर्वमन्त्री आरबी सुब्बाले जनतालाई सम्पूर्ण क्रान्ति दिवसको शुभकामना व्यक्त गर्दै सिक्किमको राजनैतिक इतिहासमा 22 जून एउटा ऐतिहासिक दिन हो भनी बताए। उनले भने “हाम्रो पार्टीका क्रान्तिकारी कार्यकर्ताहरूले तत्कालीन तानाशाही र सामन्ती सरकारलाई उखालेर फ्याँक्न ठूलो संघर्ष गरेका थिए, आज उनीहरूलाई सम्झना गर्नुपर्छ। उनीहरूको त्याग अथवा योगदानको स्मरण गर्नुपर्छ। त्यतिबेलाको सरकारले जनतालाई शोषण र दमन गरेको राखेको थियो। जनताले सत्ता परिवर्तन गरेर एसडीएफ पार्टीलाई सत्तासीन बनाएका थिए। त्यसपछि एसडीएफ सरकारले गरीब जनताको आस्था अनि आकांक्षाअनुरूप काम गर्दै गयो। नेता पवन चामलिङको नेतृत्वमा सञ्चालित एसडीएफ सरकारले 25 वर्षको अवधिमा सिक्किमलाई देशकै सर्वश्रेष्ठ राज्य बनाएको छ।” एसकेएम पार्टीले सरकारमा पुगेको एक सय दिनभित्र गर्छौं भनेको सबै कामहरू पूरा गर्नुपर्छ भन्दै सभा अध्यक्ष सुब्बाले एसकेएम सरकारले आफ्नो वचनहरू पूरा नगरेको खण्डमा एसडीएफ पार्टीले जनताको हितमा जोडतोडले आवाज उठाउने बताए। राज्यमा कमजोर विपक्ष छैन, उनले भने। कार्यक्रमलाई जिल्लाकी उप-संयोजिका बिचित्र थापा र पूर्वमन्त्री दाउछो लेप्चाले पनि सम्बोधन गरे। पश्‍चिम जिल्लाकी चेली संयोजिका जङ्मु शेर्पाले स्वागत सम्बोधन राखेकी थिइन्। यस्तै प्रकारले जिल्लाका युवा संयोजक एनके सिक्देलले पार्टी अध्यक्ष पवन चामलिङद्वारा जनता र पार्टी कार्यकर्ताहरूको निम्ति जारी गरेका सन्देश पाठन गरे। आईके न्यौपानेद्वारा सञ्चालित कार्यक्रममा बीबी राईले धन्यवाद ज्ञापन राखेका थिए।

Related posts

Leave a Comment