हामी वेट एण्ड वाचको स्थितिमा छौंः के. टी. ग्याल्छेन

Font Size
37 Total Views

गान्तोक, 13 अगस्त।
एसडीएफ पार्टीका 10 जना विधायक बीजेपीमा सामेल भएपनि उनीहरूले एसडीएफ पार्टीबाट राजीनामा नदिएको अनि बीजेपीमा सामेल भएको विषयमा कुनै प्रकारको आधिकारिक सम्पर्क पार्टीमा नभएको एसडीएफका प्रवक्ता केटी ग्याल्छेनले जानकारी दिएका छन्। यस विषयलाई लिएर एसडीएफ पार्टीले अब के कदम उठाउने भन्ने कुरा तत्काल निर्णयको विषय नरहेकाले पार्टीले पार्टी क्याडर, पञ्चायत, नगर पञ्चायत अनि पार्टीका समर्थकहरूसित सुझाउ लिएर मात्र अघिको कदम चाल्ने ग्याल्छेनले बताए। उनले भने, हामी अहिले नै केही भन्ने स्थितिमा छैनौं। यस विषयलाई लिएर पार्टीमा चर्चा र बहस हुनेछ, त्यो नभइ अघिको कदम के हुन्छ भनेर अहिले नै निर्णय लिनु उचित हुनेछैन।
प्रवक्ता ग्याल्छेनले अघि भने, एसडीएफ पार्टी केन्द्रको एनडीए सरकारको सहयोगी रहेको अनि नेडामा पनि सदस्य भएको कारणले पार्टी अध्यक्ष पवन चामलिङले केही दिनपछि दिल्ली गएर पनि यस विषयमा बहस गर्छन् होला भन्ने हामीलाई लागेको छ। अघिको कदम जे हुन्छ त्यो सिक्किम र सिक्किमे जनताको हितमा काम हुनुुपर्छ भन्ने अडान हो। सिक्किमका जनता सुरक्षित रहुन्, यहाँको शान्तिमय वातावरण सधैंव बनिरहोस्, केन्द्रमा थाँतिमा रहेका सिक्किमका राजनीतिक र विकासीय मुद्दाहरू समाधान होस् भन्ने हामी चाहन्छौं। हामी सरकारमा नभएपनि जनताको के निर्णय हुनेछ त्यो पूर्ण रूपले बुझेरमात्र अघिको कदम उठाउनेछौं। एसडीएफ पार्टीलेे तत्काल कस्तो प्रतिक्रिया दिन्छ भन्ने मानिसहरूका निम्ति हामी यति नै भन्न चाहन्छौं अहिले हामी वेट एण्ड वाचको स्थितिमा छौं।
अर्कोतिर, 10 जना विधायकहरू बीजेपीमा सामेल भएको कुरा मिडियामार्फत मात्र थाहा भएको हो भन्ने जानकारी गराउँदै प्रवक्ता ग्याल्छेनले सिक्किममा एसडीएफ पार्टी आफ्नो नीति, सिद्धान्त र जिम्मेवारीमा अविचल रहेको बताए। आज पार्टीको उच्चस्तरीय सभा भइरहेको समय 10 जना विधायक बीजेपीमा सामेल भएको कुरा थाहा भएको र यसमा केही बहस भएपछि सभामा उपस्थित सबैजना र एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ एसडीएफ पार्टीलाई नै दह्रिलोरूपले अघि बढाउने प्रतिबद्धतमा रहेको पनि जानकारी दिए। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै एसडीएफले के गर्छ त्यो निर्णय पछिबाट जानकारी गराउने बताए। प्रबक्ता ग्याल्छेनले 10 जना विधायकहरू बीजेपीमा सामेल भएपछि केही दिनअघि एसडीएफ बी भनेर अलग्गै बसेका दुई विधायक एसडीएफमा आउनसक्छन् भन्ने कुरामा पार्टी विश्‍वस्त रहेको पनि बताए। पार्टी प्रवक्ता तथा पूर्व सांसद पीडी राईले सिक्किममा राजनीतिक अस्थिरता आएको कारण एसडीएफका 10 विधायकहरू बीजेपीमा गएको हुनसक्ने बताए। उनले पनि पार्टी क्याडरहरूको सल्लाह र सुझाउ लिएरमात्र अघिको कदम उठाउने बताए। उनले भने, 10 जना विधायकहरू सामेल भएको खबर पाएपछि नै हामीले पार्टी क्याडरहरूबाट प्रतिक्रिया लिन शुरु गरेका छौं। हामी जनताको अधिकारको निम्ति आजसम्म पनि लडेर आएका छौं र जनताको लागि नै अघि पनि काम चाल्नेछौं। जानकारी गराइन्छ, पत्रकार सम्मेलन एसडीएफ पार्टीको मुख्यालयमा भएको थियो।

Related posts

Leave a Comment