सीता पञ्चवटी स्वास्थ्य सेवा केन्द्र’ को उद्घाटन

Font Size
92 Total Views

गान्तोक, 10 जून।
‘स्वास्थ्य नै सर्वोच्च धन हो’ भन्ने तथ्यलाई आत्मसात गर्दै पूर्व सिक्किमको सामा लिङदुमस्थित सीता पञ्चवटी सेवा सङ्गठनद्वारा गत 9 जुन परमपूज्य गुरुदेव टुल्कु नीमा होल्स्यार रिम्पोछेको जन्मोत्सवको शुभ अवसरमा समाजसेवी पद्मश्री किपु छिरिङ लेप्चाको बाहुलीद्वारा ‘सीता पञ्चवटी स्वास्थ्य सेवा केन्द्र’-को उद्घाटन गरियो। यो स्वास्थ्य सेवा केन्द्र यस गाउँमा कुनै स्वास्थ्य केन्द्र नहुनु तथा स्वास्थ्य उपचारको निम्ति गाउँलेहरू तेह्र चौदह किलोमटर टाडो जानु पर्ने अवस्थालाई ध्यानमा राखेर स्थापना गरिएको जानकारी सीता पञ्चवटी सङ्गठनकी अध्यक्षा श्रीमती ठगुमाया बरदेवाले दिएकी छन्। यस स्वास्थ्य केन्द्रमा विशेष गरेर प्रेसर नाप्ने, मधुमेह जाँच गर्ने साथै प्राथिमक उपचार उपलब्ध गराएर मानिसहरूलाई सुविधा पुर्याउनेछ। यस कार्यको निम्ति गाउँमै रहेका नर्स, कम्पाउण्डरहरूले नि:शुल्क सेवा पुर्याउनेछन् भने महिनामा एक चोटी डाक्टर आएर सेवा दिने उनले बताइन्। यसै अवसरमा समाजसेवी तथा सिक्किम विकलाङ्ग सहायता समितिकी अध्यक्षा डा. सावित्री हमालको बाहुलीद्वारा सीता पञ्चवटी सेवा सङ्गठनको ‘मातृ सहयोग शाखा’-को पनि विधिवत उद्घाटन गरियो। यसैगरि, यस अवसरमा समाजसेवी पद्मश्री किपु छिरिङ लेप्चा, डा. सावित्री हमाल र समाजसेवी एसडी खाङसारपालाई उनीहरूद्वारा समाजमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन-पत्र प्रदान गरेर सम्मान जनाइयो। सीता पञ्चवटी सेवा सङ्गठनको सहायताद्वारा कक्षा एघाह्रमा अध्ययनरत खेमराज भट्टराईलाई पनि बधाई-पत्र दिएर सम्मान गरियो। उनको जन्मदेखि नै दुवै हात छैन भने उसले आफ्नो खुट्टाले लेखेर चित्रकलामा धेरै ख्यातीप्राप्त गरिसकेका छन्। यसैगरि, उनले यसै वर्षको कक्षा दसको बोर्ड परिक्षामा 72 प्रतिशत अङ्क प्राप्त गरेर उतीर्ण गरेका छन्। यस अवसरमा सीता पञ्चवटी आश्रमका नानीहरूद्वारा मन्त्र-पाठ, गीत प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे भने केक काटेर परमपूज्य गुरुदेव टुल्कु नीमा होल्स्यार रिम्पोछेज्यूको जन्मोत्सव पालन गरिएको जानकारी सङ्गठनका कार्यालय सचिव अरूण तामाङले प्रेस विज्ञप्तिमा दिएका छन्।-हिस/बिशाल

Related posts

Leave a Comment