सिक्किम विश्‍वविद्यालयका यौन दुर्व्यवहारी शिक्षक सिलाजित गुहालाई विभागबाट हटाइयो

Font Size
123 Total Views

गान्तोक, 14 मई।
गत पाँच मईको दिनदेखि सिक्किम केन्द्रिय विश्‍वविद्यालयभित्र मात्र चलेको शिक्षक यौन दुर्व्यवहार काण्डबाट पीडित विद्यार्थीहरूलाई न्याय दिन विश्‍वविद्यालयले ठोस कदम उठाएको छ। आफ्नो शिक्षकको चरित्रलाई विश्‍वविद्यालयका पीडित विद्यार्थीहरूले विश्‍वविद्यालयको आन्तरिक गुनासो समितिमा गुनासो राखेका थिए। गुनासो समितिमा विद्यार्थीहरूबाट पुगेको गुनासोलाई ध्यानमा राख्दै सिक्किम विश्‍वविद्यालयको मास कम्यूनिकेशन विभागका प्रमुख सिलाजित गुहामाथि समितिले आफ्नो विभागको पद निलामी साथै विश्‍वविद्यालयसँग सम्बन्धित उनको कार्यहरूमा प्रतिबन्ध लगाएको छ। आरोपी गुहाले गत पाँच मईको दिन रानीपूलस्थित एउटा होटलमा आयोजित विवाहको भोजमा आमन्त्रित विभागका विद्यार्थीहरूलाई जबरजस्ति हातपात गर्नका साथै फोनमार्फत पनि आफ्नो घरमा बोलाउने तथा अन्य यौन दुरव्यवहार गर्ने गरेपछि असह्य विद्यार्थीहरूले विश्‍वविद्यालयको आन्तरिक गुनासो समितिमा आफ्नो गुनासो राखेका थिए। पीडितहरूको गुनासो पछि समितिले आरोपी शिक्षकमाथि कार्वाही गर्दै 13 मईको दिनदेखि आरोपी गुहालाई विभागीय प्रमुख पदबाट हटाएको छ भने जाँच पूरा नभएसम्म विभागमा जान पनि प्रतिबन्ध लगाएको छ।
विश्‍वविद्यालयमा घटेको यस्तो अप्रिय घटनाबारे पत्रकारहरूसित बोल्दै विश्‍वविद्यालयका कुलसचिव (रेजिष्टार) टीके कौलले विश्‍वविद्यालयको तर्फबाट आरोपी शिक्षकमाथि कार्वाही गरिएको अनि विभागमा पीडित विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था पनि बढाइएको र आरोपी शिक्षकले परीक्षा र विश्‍वविद्यालयका अन्य क्रियाकलापमाथि प्रभाव नपारोस् भनेर उनको सबै अधिकारबाट अलग गरिएको बताए। यस प्रकारको घटना अहिलेसम्म नभएको बताउँदै आन्तरिक गुनासो समितिले निष्पक्ष रूपमा विश्‍वविद्यालय अनुदान आयोगको निर्देशअनुसार तयार पारिएको नियमभित्र रहेर निष्पक्ष जाँच गर्ने पनि बताएका छन्।
यस घटनालाई सिक्किम विश्‍वविद्यालयको विद्यार्थी संगठनले पनि गम्भीरतासित लिएको छ। आरोपी शिक्षकविरुद्ध आन्तरिक गुनासो समितिले सहजै छोड्नु नहुने अनि पुलिस प्रशासनमा जान पनि पीडित विद्यार्थीहरूलाई रोक तथा उनीहरूलाई हतोत्साहित गर्ने काम नगरिदिने माग गरेको छ। पीडित विद्यार्थीहरूको पक्षमा न्यायको माग गर्दै विद्यार्थी संगठनका अध्यक्ष पाल्साङ तामाङले आरोपी शिक्षक आधिकारिक जानकारी नदिई राज्य बाहिर गएको पनि बताएका छन्। उनले आरोपी शिक्षक बिना जानकारी राज्य बाहिर गएको कुरा विश्‍विद्यालयका कुलपतिले समेत स्वीकार गरिसकेको कारण आरोपी शिक्षक पूर्णरूपमा दोषी रहेकोले नै भागेको हुनसक्ने बताए। जानकारी गराइन्छ, आरोपी शिक्षक यसअघि आसाम विश्‍वविद्यालय सिल्चरमा प्राध्यापक हुँदा पनि यस्तै प्रकारको यौन दुर्व्यवहारमा संलग्न रहेको र उनीविरुद्ध कार्वाही भएको घटना प्रकाशमा आएको हुनाले यसबारे सिक्किम विश्‍वविद्यालयले आफ्नो विभागमा नियुक्त दिन अघि उनको चारित्रिक जाँच सही ढङ्गमा किन गरेन भन्ने प्रश्‍न उठाएका छन्। विद्यार्थी संगठनले अब उसो उक्त शिक्षकलाई सिक्किम विश्‍वविद्यालयबाट निस्कासित गर्नुपर्ने र अन्य विश्‍वविद्यालयमा पनि जानबाट पूर्णरूपमा प्रतिबन्धित गरिनुपर्ने माग गरेका छन्। यदि पीडिताले न्याय नपाएको खण्डमा विद्यार्थी संगठनको नेतृत्वमा सडकमा उत्रिएर पनि आफ्नो चेली र राज्यको ईज्जत बचाउन साथै विद्यार्थीहरूको सुरक्षा सुनिश्‍चित गराउन सडकमा उत्रिएर विरोध जनाउन पछि नपर्ने पनि विश्‍वविद्यालय प्रसाशनलाई चेतावनी पनि दिएका छन्। यस अघि सिक्किम विश्‍वविद्यालयका पुस्तकालयका एक कर्मचारीलाई मुख चलाएको आरोपमा एक सालको निम्ति निलम्बन गरेको थियो, अब विद्यार्थीहरूको नजर यौन दुर्व्यवहारी शिक्षकको कार्वाही माथि रहेको छ।

Related posts

Leave a Comment