सिक्किमे जनतालाई कसैले पनि हेप्न पाउनेछैनः पवन चामलिङ

Font Size
36 Total Views

जगन दाहाल
गान्तोक, 22 जून।
राज्यको तीनवटा निर्वाचन क्षेत्रमा हुने उपचुनाउ नै 2019-को फाइनल चुनाउ रहने एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले बताएका छन्। आज इन्दिरा बाइपासस्थित एसडीएफ पार्टीको मुख्यालयमा उत्तर अनि पूर्व जिल्लाका निम्ति आयोजित 27औं सम्पूर्ण क्रान्ति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। पार्टीका कार्यकर्ताहरूलाई मार्गदर्शन प्रदान गर्दै पार्टी अध्यक्ष चामलिङले एसडीएफ पार्टीको सरकार आएन भनेर कोही पनि कार्यकर्ता हतास हुननहुने बताए। उनले भने, “प्रजातन्त्रमा सरकारमा हुने बाहिर जान्छ अनि बाहिर हुने सरकारमा आउँछ। आजको सम्पूर्ण क्रान्ति दिवसमा हामी सबैले आउँदो उपचुनाउमा एसडीएफ पार्टीलाई जिताउने प्रण गर्नुपर्छ। पुनः सरकारमा फर्किने बाटो बनाउनुपर्छ।”
एसकेएम पार्टी एसडीएफ पार्टीभन्दा राम्रो भएर चुनाउ जितेको होइन तर हाम्रै कतिपय कमी-कमजोरीको कारणले हामी हारेका हौं भन्दै एसडीएफ अध्यक्ष चामलिङले अब तीनवटा सीटमा एसडीएफको विजय सुनिश्‍चित गर्नेतर्फ सबै कार्यकर्ता अग्रसर बन्नुपर्ने आह्वान गरे। मेरो निम्ति मृत्युलाई जित्नु मात्र असम्भव हो भन्दै उनले उपचुनाउ हुने तीनवटा सीटमा पार्टीको जीत सम्भव बनाउने क्रान्तिलाई आजदेखि अघि बढाउनुपर्ने आह्वान गरे। सिक्किममा शान्तिको राज कायम राख्ने एउटा मौका हातमा रहेको छ भन्दै एसडीएफ अध्यक्ष चामलिङले भने, “सिक्किम हिजोसम्म पूर्वोत्तर राज्यहरूकै एक नम्बर राज्य थियो। सिक्किम सबैभन्दा नराम्रो राज्य भयो भने युवा पिढीहरूलाई सबैभन्दा बेसी नोक्सान हुनेछ। पहिले पावर प्रोजेक्ट अनि फार्मास्यूटिकल कम्पनीहरूलाई देखाउँदै एसडीएफ सरकारले सिक्किमको जमीन बेचेर खायो भन्नेहरूले आज त्यसैबाट आएको पैसाले हामी युवाहरूलाई नोकरी दिन्छौं भन्दैछन्। भनेपछि हामीले कतिसम्म राम्रो काम गरेका छौं, यहाँबाट बुझ्नुपर्छ। सिक्किमले लिएको इक्यूटी सिक्किमको पावर प्रोजेक्टमा सेयर हालिएको छ, खाएको छैन।” देशका अन्य राज्यहरूको भन्दा सिक्किमको ऋण कम्ति रहेको बताउँदै एसडीएफ अध्यक्ष चामलिङले सिक्किमको टाउकोमा 6 हजार करोड मात्र ऋण रहेको जानकारी दिए। एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले एसडीएफ पार्टीको सरकार फेरि फर्केर आएपछि 60 हजार युवाहरूलाई सरकारी नोकरी दिने, प्रत्येक घरलाई प्रतिमहिना पाँच हजार रुपियाँ दिइने, प्रत्येक घरका आमाहरूलाई प्रतिवर्ष एक लाख रुपियाँ दिइने, एक परिवार एक नोकरीअन्तर्गत काममा लागेका युवाहरूको काम स्थायी गरिदिने, सिक्किम विधानसभाको सीट 32-बाट 40 बनाएर सिक्किमे लिम्बू तामाङलाई सीट आरक्षण दिने घोषणा गरे।
एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले सिक्किम विधानसभामा लिम्बू-तामाङलाई 32 बाटै सीट आरक्षण दिने एसकेएमको कार्यक्रमको विरोध गर्दै आफ्नो सरकार आएपछि सिक्किमे बहुसंख्यक नेपालीहरूको हितमा 32-बाट 40 सीट बनाएर लिम्बू तामाङलाई पनि न्याय दिने एसडीएफ पार्टीको कार्यक्रम रहेको बताए। यदि सिक्किमे लिम्बू-तामाङलाई 32 बाट आसन आरक्षण दिए बहुसंख्यक सिक्किमेमाथि घात हुनेछ भन्दै उनले एसकेएम पार्टीको कार्यक्रमले 60 प्रतिशत जनताको राजनीतिक अधिकार खतरामा पर्ने बताए। उनीहरूले सिक्किमका 60 प्रतिशत नेपालीहरूलाई डुबाउने काम गर्दै गरेको बताउँदै डुब्न लागेको बहुसंख्यकको राजनीतिक अधिकार एसडीएफले मात्र बचाउन सक्ने बताए। उनले भने, “जुन पार्टीमा सिक्किमे जनतालाई सुरक्षा, शान्ति, दिने कार्यक्रम, सिद्धान्त छैन त्यस्तो पार्टीलाई सरकारमा ल्याइएको छ। सिक्किममा बहुसंख्यक गैर जनजातिको सुरक्षा छैन भने यहाँ कसैको सुरक्षा हुँदैन। सिक्किममा एसडीएफ पार्टी सरकारबाट जानेबित्तिकै अशान्तिको माहोल सिर्जना हुन थालेको छ। जनताले चाहेको परिवर्तन यस्तो भएर जाँदैछ। जङ्गल, नालीहरूमा मान्छेहरू मरिरहेका भेटिँदैछन्। यस्तो परिवर्तन चाहिँदैन।” एसडीएफ पार्टी अन्याय-अत्याचार मास्ने पार्टी हो, अन्याय-अत्याचारअघि झुक्ने पार्टी होइन भन्दै पार्टी अध्यक्ष चामलिङले एसडीएफ पार्टी एकपल्ट मात्र सत्तामा होइन भविष्यमा फेरि चारपल्टसम्म सत्तामा पुग्ने पार्टी रहेको बताए। एसडीएफ पाटीर्र् चाँडै फेरि सत्तामा आउने सम्भावना प्रबल रहेको बताउँदै वर्तमानको एसकेएम सरकार एडहक र असंवैधानिक सरकार रहेको बताए। उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई हतास नहुने सल्लाह दिँदै भने, “एसडीएफ पार्टी सिक्किममा निरन्तर पाँचपल्ट सरकार बनाएर जनताको सेवा गरेर इतिहास बनाउने पार्टी हो। फेरि सरकारमा फर्किआएर अर्को इतिहास बनाउनेछौं।” उनले पार्टी कार्यकर्ताहरूलाई उत्साह दिँदै भने, “तपाईंहरू सिक्किम र सिक्किमे जनताको सेवाका निम्ति अझ प्रतिबद्ध बन्नुहोस्, म अझै 15 वर्ष राजनीतिमा सक्रिय रहनेछु। हामीले सिक्किम र सिक्किमे जनताका दुश्मनहरूसँग सम्झौता गरेका छैनौं, गर्दैनौं पनि। सिक्किममा जुन दिन एसडीएफ पार्टीको झण्डा उठेको थियो त्यो दिनदेखि सिक्किमे जनताको शिर उठेको हो।” सिक्किम दार्जीलिङ विलय एसकेएम पार्टीको हिडन एजेण्डा रहेको बताउँदै एसडीएफ अध्यक्षले एसकेएमको यो हिडन एजेण्डा पूरा हुन नदिने बताए। सिक्किम र सिक्किमे जनताका अधिकारमा कसैले खेल्न पाउने छैन भन्दै उनले प्रजातन्त्रमा जनता नै सर्वशक्तिमान रहेको बताए। एसडीएफ सरकारले बनाएका नियम अनि कानूनहरूले सिक्किमका आमा-चेलीहरूलाई सधैं सुरक्षा दिइरहनेछ भन्दै उनले जबसम्म सिक्किममा पञ्चायतीराज रहन्छ तबसम्म सिक्किमे चेलीहरूले पञ्चायतमा पाएको 50 प्रतिशत आरक्षण रहिरहने बताए। यसरी नै एसडीएफ सरकारले बनाएका विभिन्न नियम अनि कानूनहरूले सिक्किमे जनतालाई दीर्घकालसम्म लाभ र सुरक्षा प्रदान गरिरहने उनले बताए। उनले भने, “ 25 वर्षसम्म मैले मिन्तोगाङलाई सिक्किमे जनताको आशा र भरोषाको केन्द्र बनाएर राखें। अहिले मिन्तोगाङ अँध्यारो भएको छ। जब सिक्किमे जनताको पावरहाउस मानिने मिन्तोकगाङनै अँध्यारो छ भने सिक्किम उज्यालो हुन सम्भव छैन।”
एसडीएफ अध्यक्ष पवन चामलिङले 27 वर्षअघि एसडीएफ पार्टीको निम्ति जेलमा जाने आफ्ना सहोदरहरूको पनि सम्झना गरे। “27 वर्षअघि धेरैजना जेल गएका थिए। धेरैले कुटाइ खाएका थिए। जनताले आफ्नो निम्ति आफू स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ, जन्मसिद्ध अधिकार लिएर बाँच्न पाउनुपर्छ, जात-जाति, धर्म, वर्णको कारणले कसैमाथि अन्याय अत्याचार हुनुहुँदैन भन्दै सम्पूर्ण सिक्किमेले आफ्नो अधिकारसँग बाँच्न पाउनुपर्छ भनेर क्रान्ति गरेका थिए र आजको क्रान्ति दिवसलाई पनि हामीले प्रेरणाको रूपमा लिनुपर्छ”एसडीएफ पार्टीका अध्यक्षले बताए।
यस अवसरमा पूर्वमन्त्री तथा पूर्व जिल्ला उपाध्यक्ष प्रभारी डीबी थापाले स्वागत सम्बोधन राखेका थिए भने कार्यक्रमलाई महासचिव आमोस आर लेप्चाले सञ्चालन गरेका थिए। यस अवसरमा पार्टीका युवा कार्यकर्ताहरूले पनि आ-आफ्नो विचार राखेका थिए।

Related posts

Leave a Comment