सिक्किमे जनताको हित र अधिकारहरूको सुरक्षा गर्ने दिशामा एसडीएफ पार्टी सधैं प्रतिबद्ध रहनेछः पवन चामलिङ

Font Size
22 Total Views

गान्तोक, 9 अगस्त।
आज इन्टरनेशनल डे अव् द वर्ल्डस् इण्डिजिनियस पिपल (विश्‍वका स्वदेशीहरूको अन्तर्राष्ट्रिय दिवस) हो। यो अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष एवं पूर्व मुख्यमन्त्री पवन चामलिङले आफ्नो आधिकारिक फेसबुकमार्फत एउटा सन्देश जारी गरेका छन्।
सन्देशमा भनिएको छ,“विश्‍वका स्वदेशीहरूको अन्तर्राष्ट्रिय दिवसमा म सिक्किमका सम्पूर्ण नागरिकहरूलाई सूचित गर्न चाहन्छु कि सिक्किमका स्वदेशी (आदिवासी, रैथाने) नागरिकहरूको हितरक्षाको क्षेत्रमा एसडीएफ सरकारले इमानदार रहेर पूर्ण प्रतिबद्धताको साथमा काम गर्‍यो, यसैको परिणामस्वरूप एसडीएफ सरकारको कार्यकालमा सिक्किमका स्वदेशी नागरिकहरूको अधिकारहरू यथावत रहे। सिक्किमे जनताको हित र अधिकारहरूको सुरक्षा गर्ने दिशामा एसडीएफ पार्टी सधैं प्रतिबद्ध रहनेछ।”
उल्लेखनीय छ, प्रत्येक वर्षको 9 अगस्तलाई इन्टरनेशनल डे अव् द वर्ल्डस् इण्डिजिनियस पिपल अथवा विश्‍वका स्वदेशीहरूको अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। सन् 1994 -को दिसम्बर महीनामा संयुक्त राष्ट्र संघको जेनरल एसेम्ब्लीले 9 अगस्तलाई इन्टरनेशनल डे अव् द वर्ल्डस् इण्डिजिनियस पिपल -को मान्यता प्रदान गर्दै घोषणा गरेको हो। त्यसपछि सन् 1995 देखि 2004 -सम्मको अवधिलाई यसको फस्ट इन्टरनेशनल डिकेड अव् द वर्ल्डस् इण्डिजिनियस पिपल र सन् 2005 देखि 2014 -सम्मको अवधिलाई सेकेन्ड इन्टरनेशनल डिकेड अव् द वर्ल्डस् इण्डिजिनियस पिपल घोषणा गरियो। यसको दोस्रो दशकमा ‘कार्य तथा गौरव दशक’ -को सन्देशलाई अङ्गीकार गरिएको थियो।
इण्डिजिनियसलाई नेपालीमा आदिवासी पनि भनिन्छ भने यसलाई बुझाउन स्वदेशी, देशज, मूलवासी आदि शब्दहरू पनि प्रचलनमा छन्। सिक्किममा पनि आदिवासी तथा मूलवासी शब्द नै अधिक प्रचलनमा रहेको छ। सिक्किमको सन्दर्शमा लेप्चा, नेपाली र भोटियालाई आदिवासी मानिन्छ। विश्‍वभरिका आदिवासीहरूको विशेषता, गरिमा, भूमिका, योगदान आदिको पहिचान गर्ने साथै वैश्‍विक समाजमा उनीहरूले पुर्‍याएको योगदानको सराहना गर्न प्रत्येक वर्षको 9 अगस्तमा यो दिवस पालन गर्ने प्रथा विकसित हुँदै गइरहेको छ। यस वर्षको इन्टरनेशनल डे अव् द वर्ल्डस् इण्डिजिनियस पिपलको थीम ‘आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष’ रहेको थियो। आज बिहानको 10 बजेदेखि साँझको 5 बजेसम्म आदिवासीहरूका भाषालाई समर्पित गर्दै यो दिवस पालन गरिने सूचना संयुक्त राष्ट्र संघले जारी गरेको थियो। आज विश्‍वभरिका आदिवासीहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले 25 वर्षको आफ्नो कार्यकालमा सिक्किमका सम्पूर्ण रैथाने तथा आदिवासीहरूको पक्षमा प्रतिबद्ध साथै इमानदार रहेर काम गरेको स्मरण गराएका छन्।
पवन चामलिङले समावेशी राजनीतिलाई मूल मन्त्र बनाएर सबै जात-जातिलाई समानुपातिक ढङ्गमा सुरक्षा साथै अधिकारहरू दिने इमानदार प्रयास पाँचवटै कार्यकालमा गरिरहे। भोटिया, लेप्चा र नेपालीको भाषा, संस्कृति, पहिचान आदिको संरक्षण तथा सम्वर्द्धन गर्ने दिशामा पवन चामलिङले कहिले पनि कोल्टे नीति अपनाएनन्।
हिजो मात्र राज्यका विभिन्न स्थानमा बढो धुमधामसँग लेप्चा जातिको महान् पर्व ‘टेण्डोङ ल्हो रूम्फात’ पालन गरियो। लेप्चा जातिको यो पर्वलाई सरकारी मान्यता दिने अनि 8 अगस्तलाई टेण्डोङ ल्हो रूम्फातको सरकारी विदा दिने पवन चामलिङ नै हुन्। सन् 1997 -देखि टेण्डोङ ल्हो रूम्फातको नाममा एउटा सरकारी विदा थपिएको हो भने सोही वर्षदेखि यो पर्वलाई भव्यरूपमा मनाउने प्रथा पनि अघि बढेको हो। सिक्किममा सामुहिक रूपमा इन्टरनेशनल डे अव् द वर्ल्डस् इण्डिजिनियस पिपल मनाउने प्रथा नभए तापनि यहाँका सबै आदिवासीहरूले प्रत्येक दिन आफ्ना हक-अधिकारहरू उपभोग गर्न पाएका छन्।
एसडीएफ सरकारको सामाजिक न्याय यात्राले सबै जात-जातिलाई अस्तित्व र पहिचानको शङ्कटदेखि मुक्त गरिदिएको छ। एसडीएफ सरकारको यो महत्वपूर्ण योगदानलाई बिर्सिनु भनेको सिक्किमेली समाजले आफैमाथि अन्याय गर्नुसरह हो। सिक्किमका सबै रैथानेहरूलाई समानरूपमा न्याय र सुरक्षा प्रदान गर्ने पवन चामलिङको प्रतिवद्धतामाथि सहिष्णुताविरोधी तत्त्वहरूले जहिले पनि औंला उठाइरहे, अझै पनि उठाइरहेका छन्। सबैलाई हक-अधिकार दिलाउने एसडीएफ सरकारको नीतिलाई पनि नकारात्मकरूपमा आलोचना गरियो। यहाँसम्म कि सिक्किमे जातिमाझ विभाजन ल्याउने कामहरू गर्‍यो भन्ने आरोप र आक्षेपहरूले एसडीएफ सरकारलाई सधैं घेरिरह्यो। यस्तो साँघुरो मानसिकता अझै पनि रहनु सिक्किमको निम्ति दुर्भाग्यपूर्ण कुरा हो।

Related posts

Leave a Comment