सन्दर्भ शिशु मृत्युदरमा सुधार

Font Size
103 Total Views

सिक्किम राज्यले जनसङ्ख्या स्थिरीकरण गर्ने राष्ट्रिय जनसङ्ख्या नीति एनपीपी 2000 को लघु अनि दीर्घावधि दुवै लक्ष्यलाई प्राप्त गर्न सकेको छ। राज्यको स्वास्थ्य विभागअनुसार सिक्किम राज्यले देश तथा विश्‍वमा नै जनसङ्ख्या नियन्त्रण तथा स्थिरीकरण गर्ने सम्बन्धमा एनपीपीद्वारा निर्धारण गरिएको लक्ष्यलाई प्राप्त गरेको छ। यो लक्ष्य प्राप्ति गर्दा सिक्किमले राज्यमा विशेष गरी राष्ट्रिय जनसङ्ख्या नीतिको कार्यक्रम र उद्देश्यअनुसार काम गरेको छ। हालैमा नमूना पञ्जीकरण प्रणाली (एसआरएस) सर्वेक्षणद्वारा जारी गरिएको वर्ष 2017 को सर्वेक्षणअनुसार सिक्किम राज्यले शिशु मृत्युदरमा महत्त्वपूर्ण सुधार गर्न सकेको छ।
सिक्किम राज्यले शिशु मृत्युदरमा प्रतिहजार 4 जनाको मृत्युलाई सुधार गर्दै सिक्किमको टीएफआर दरलाई 16 बाट घटाएर 12 गर्न सकेको छ। यो उपलब्धिका लागि सिक्किमको विशेष गरी स्वास्थ्य विभाग र यससित सम्बन्धित हितधारक अनि राज्य सरकारको इच्छा शक्ति महत्त्वपूर्ण भएको छ। राज्य सरकारले शिशु मृत्युदर नियन्त्रण गर्नका लागि तृणमूलस्तरदेखि लिएर नीति निर्मातासम्मलाई समावेश गरेर कार्य गरेको छ। यसमा पनि आँगनवाडी कार्यकर्ता र एकीकृत शिशु विकास केन्द्रहरूको योगदानलाई अझ महत्त्वपूर्ण मानिएको छ। शिशु मृत्युदरलाई नियन्त्रण गर्नका लागि हरेक ग्रामीण क्षेत्रमा भएका आँगनवाडी र आशा कार्यकर्ताहरूले गर्भवती महिलाहरूलाई निरन्तर मार्गदर्शन गराएका छन्।
यसरी नै शिशु जन्मिएको 45 दिनसम्म पनि उनीहरूको घरमा नै गएर हेर्चाह तथा मार्गदर्शन गर्ने कार्यलाई निरन्तरता दिएका छन्। यसरी नै दुर्गम क्षेत्रमा स्थापित स्वास्थ्य उपकेन्द्र सुविधा र यहाँ सेवारत एमपीएचडब्लु, डाक्टर, एटेण्डेन्टसहित विभिन्न स्थानमा विशेषज्ञहरूले दिएको योगदान पनि महत्त्वपूर्ण छ। यसरी नै स्वास्थ्य उपकेन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालदेखि लिएर एसटीएनएम अस्पतालमा सेवारत डाक्टरहरूको कार्य र योगदान पनि सराहनीय छ। राज्य सरकारले नवजात शिशुहरूको हेर्चाहसितै आमाहरूलाई सुत्केरी भएको समयमा पनि आवश्यक स्यार गर्दै सुरक्षा प्रदान गर्न प्राउड मदर स्कीम पनि शुरू गरेको छ।
यसले पनि शिशु मृत्युदरलाई नियन्त्रण गर्न महत्त्वपूर्ण टेवा पुगेको छ। यसरी नै राज्यमा एक स्थायी सरकारले जनताको कल्याणका निम्ति, विशेष गरी स्वास्थ्य क्षेत्रमा आवश्यक पूर्वाधारहरूको निर्माणसितै आवश्यक मानव संसाधनलाई पनि सुनिश्‍चित गर्दै तथा बढाउँदै आएको छ। यसरी राजनीति इच्छाशक्तिबाट गरिएका महत्त्वपूर्ण पहल र निर्णयहरूको परिणाम आज देख्न थालिएको छ भने यसको लाभांश पनि सिक्किम र सिक्किमे नागरिकहरूले प्राप्त गरिरहेका छन्।
यहाँ महत्त्वपूर्ण कुरा के छ भने, सिक्किम राज्यले बितेको वर्ष एसटीएनएम अस्पताललाई सिच्छेमा निर्माण गरिएको बहुसुविधायुक्त अत्याधुनिक सुपर स्पेसियालिटी अस्पतालमा सारीसकेको छ। सिक्किमलाई रोगमुक्त बनाउने अभियान लिएर निरन्तर स्वास्थ्य क्षेत्रमा प्रगति गर्दै उपलब्धिहरूको खुडकिला पार गर्दै विगत 25 वर्षमा देश तथा विश्‍वलाई नै देखाउन सक्ने स्वास्थ्य पूर्वाधारहरू निर्माण गर्न सिक्किमले सफलता प्राप्त गरेको छ।
यहाँ अर्को महत्त्वपूर्ण कुरा के छ भने, यसपल्ट जनताले सिक्किमको सत्ता परिवर्तन गरेर नयाँ नेतृत्त्वलाई सुम्पिएका छन्। विगत केही महिना अघिसम्म देशमा नै प्रंशसा बटुलिरहेको एसटीएनएम नयाँ अस्पतालले विगत केही दिनदेखि केवल नकारात्मक विषयलाई नै पस्किरहेको अवस्थामा नयाँ सरकारले यसलाई सही ढङ्गमा सम्हाल्न सक्ला भन्ने प्रश्‍न नै उठाएको छ। हुन त सिक्किममा निर्माण भएको यो वृहत स्वास्थ्य पूर्वाधारलाई आवश्यक उपक्रम र मानव संसाधनले भरिपूर्ण बनाउन अझ एक दशक भन्दा अधिक समय लाग्न सक्ने कुरालाई पनि नकार्न सकिन्न।

Related posts

Leave a Comment