सन्दर्भ- शनिबार छुट्टी र विद्यार्थीहरूको भविष्य

Font Size
20 Total Views

एसकेएम सरकारले प्रत्येक शनिबारको दिन छुट्टी घोषणा गरेपछि यो घोषणाले अहिले शिक्षाको अधिकार ऐन (आरटीई)-को प्रावधानलाई उल्लङ्घन गरेको तथा यसले विद्यार्थीहरूको भविष्यसित खेलवाड भइरहेको आरोप छ। राज्यको विपक्षी पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै शनिबार सरकारी विदा घोषणा गरेर विद्यार्थीहरूको भविष्यसित खेलवाड गरेको आरोप लगाइसकेको छ। विपक्षी पार्टीअनुसार आरटीई अधिनियमअनुसार विद्यार्थीहरूका लागि वर्षमा न्यूनतम् 2 सय दिन अनि हप्तामा 48 घण्टाको कक्षा सञ्चालन हुनुपर्दछ। सरकारले शनिबारको दिन छुट्टी घोषणा गरेपछि कक्षा सञ्चालनका लागि केवल 170 दिन र हप्तामा 35 घण्टामात्र अध्ययन गर्ने अवसर प्राप्त गर्छन्। यसले गर्दा यो आरटीईको प्रावधानअनुसार छैन। विपक्षी पार्टीले एसकेएम सरकार गठन हुनसाथ गरेको घोषणाले विद्यार्थीहरूलाई ठूलो नोक्सानी हुने ठहर गरेको छ। यद्यपि, एसकेएम सरकारले भने यो छुट्टीलाई आफ्नो 11 वटा उपलब्धीमध्ये एउटा बताइरहेको छ।
यहाँ महत्वपूर्ण कुरा के छ भने, वर्षमा 365 दिनमध्ये शनिबार र आइतभारसितै अन्य सरकारी विदालाई जोड्दा लगभग 2 सय दिन मात्र स्कूल लाग्छ। यो कुरा सरकारी कार्यालयहरूमा पनि लागू हुन्छ। 203 दिनमा पनि अर्धवार्षिक र वार्षिक परीक्षाका कारण न्यूनतम् 12 दिन स्कूलमा पढाई हुँदैन। यस्तै 15 अगस्तको कार्यक्रम, अन्य कार्यक्रम र स्कूलको वार्षिक उत्सवका कारण पनि लगभग 15 दिन अधिक अध्ययन-अध्यापनमा बाधा पुग्ने गर्दछ। विगतका दिनमा पनि स्कूलहरूमा पाठ्यक्रम पूरा नहुँदा ‘एक्स्ट्रा क्लास’ लिने गरिएको थियो भने एसडीएफ पार्टीको विद्यार्थी प्रकोष्ठले शीतकालीन विदाको अवसरमा पनि बोर्ड परीक्षाको तयारी गर्ने विद्यार्थीहरूलाई निशुल्क कोचिङको व्यवस्थासमेत गरेर शीतकालीन विदाको समयलाई पनि विद्यार्थीहरूका निम्ति सदुपयोग गर्दै आएको छ।
अर्को महत्वपूर्ण कुरा के छ भने, सरकारी स्कूलहरू हिउँदे र वर्खा दुवै मिलाएर अढाई महिना अधिक छुट्टी हुनेगर्छ। यसरी विद्यार्थीहरूको हातमा वर्षमा लगभग 150 देखि 170 दिनमात्र अध्ययन-अध्यापनको समय बाँच्ने गर्दछ। यसैले एसडीएफ पार्टीको तर्क विद्यार्थीहरूको हितमा भएको स्वीकार गर्न सकिन्छ। एसकेएम सरकारले शनिबार विदा घोषणा गर्दा केही समूहलाई लाभ भए तापनि समग्रमा आम नागरिकलाई भने ठूलो नोक्सानी छ। राजधानी गान्तोक वरिपरि त्यसै पनि ट्राफिकको समस्याका कारण बिहान कार्यालयमा समयमा पुग्न नसकिरहेको अवस्था हुन्छ। कार्यालयमा काम शुरू हुँदा-नहुँदा खाजा खाने समय भइहाल्छ। त्यसरी नै विभागीय सभा, ‘फिल्ड भिजिट’ जस्ता समस्याहरूले आम जनताको काम अड्किने गर्छ।
अहिले हप्तामा दुई दिन छुट्टी भएपछि शुक्रबार वा सोमबार छुट्टीमा बस्ने परम्परा शुरू हुने कुरालाई पनि ध्यान पुर्याउन आवश्यक छ। सबैका निम्ति र विशेष गरी जनहितमा तयार गरिएको नियमअनुसार कार्यालयबाट विदा लिने सबैको अधिकार हो। यद्यपि, कुनै पनि नियमले आम जनतालाई नोक्सान नपुर्याओस् भन्ने कुरालाई सुनिश्‍चित गर्नुपर्ने कुरा महत्वपूर्ण हुन्छ। यसरी विभिन्न विदाका कारण हातम थोरै कार्यालय कार्यदिवस बाँच्ने हुँदा विकास गतिमा पनि अवरोध पुग्नसक्छ भन्ने कुरालाई नकार्न सकिँदैन। यसर्थ राज्यको विपक्षी पार्टीले शनिबार छुट्टी गर्ने विषयमा संशोधन गर्ने जुन सुझाउ दिएको छ यसले अवश्य नै सत्ता पक्षलाई सोच्न बाध्य गराएको छ।

Related posts

Leave a Comment